सुन तस्करी काण्डले नयाँ मोड लिँदै, अनुसन्धानको सुई केही माओवादी नेतातर्फ



–दावाको कनेक्सनमा रहेका सबै नेपालीलाई बयानमा बोलाउने तयारी
–सीआईबीमाथि उच्च दबाब
–दबाबमा नपर्ने सीआईबीको दाबी

काठमाडौं । विमानस्थल बाहिरबाट बरामद भएको ६० किलो सुनको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छानबिनको दायरालाई फराकिलो बनाउँदै लगेको छ ।

उक्त सुनकाण्डका मुख्य योजनाकार दावा छिरिङ रहेको र उसको सम्बन्ध खास गरी नेकपा माओवादी केन्द्रका नेताहरूसँग देखिएकाले उक्त सुनकाण्डले नयाँ मोड लिने देखिएको छ । सोअनुसार सीआईबीले आफ्नो अनुसन्धान पनि केही माओवादी नेतातर्फ केन्द्रित गरेको स्रोतले जनाएको छ ।

सीआईबीको हिरासतमा रहेका दावाले छानबिनमा सहयोग नगरेपछि सीआईबीले दावाको कलडिटेल सीडीआर मगाएर अनुसन्धान शुरू गरेको छ ।

सीआईबी स्रोतका अनुसार बरामद भएको ६० किलो सुन र त्यसअघि इलेक्ट्रिक सिगरेट (भेप) बाट बरामद भएको ९ किलो सुनमा माओवादीका नेताहरूको कनेक्सन देखिएपछि दबाब र प्रभावमा काम भएकाले अनुसन्धानमा कठिनाइ आइरहेको सीआईबी स्रोतले नेपाल समाचारपत्रलाई जानकारी दिएको छ ।

स्रोतका अनुसार पछिल्लो समय नेपालको बाटो भई भारततर्फ तस्करी हुँदै आएको सुन तस्करीमा माओवादी केन्द्रका नेताहरू कुनै न कुनै रूपमा जोडिँदै आएको अनुसन्धानको क्रममा फेला परेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन काण्डको छानबिन सीआईबीले मात्रै नसक्ने भएकाले उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै संसद् अवरुद्ध गर्दै आएको छ भने नागरिकस्तरमा जाँचबुझ आयोग ऐन २०२६ अनुुसार उच्चस्तरीय न्यायिक आयोगको माग हुँदै आइरहेको छ ।

तर, माओवादीलगायतका सत्तारुढ दलले छानबिन तथा न्यायिक समिति बनाउन अनिच्छा व्यक्त गर्दै आइरहेका छन् ।

जस्तोसुकै परिस्थिति आए पनि सुनकाण्डलाई टुंगोमा पु¥याउने मनस्थितिमा सीआईबी पुगेको छ । अहिले चौतर्फी दबाबमा रहेको सीआईबीले दावाको कनेक्सनमा रहेका सबै नेपालीलाई बयानमा बोलाउने तयारी गरेको छ । खास गरी दावाको सम्बन्ध माओवादीका नेता वर्षमान पुनलगायतका अन्य नेताहरूसँग रहेको पनि फेला परेको सीआईबी स्रोतले जानकारी दिएको छ ।

यता, उक्त सुनकाण्डमा संलग्न रहेको अभियोगमा सीआईबीले अहिलेसम्म ८ जना चिनियाँ नागरिकलाई पक्राउ गरिसकेको छ । मंगलबार राति र बुधबार मात्रै सीआईबीले राजधानीका विभिन्न स्थानबाट ती चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । बिजनेस भिसामा नेपाल बस्दै आएका ती चिनियाँ नागरिकहरू नेपालमा बसेर अवैध काममा संलग्न रहँदै आएको दाबी सीआईबीले गरेको छ ।

सीआईबीले चिनियाँ नागरिक ली नेङकाई, तियान मी, वीन तङ, डिङ सेग्फा र पक्राउ गरेको छ । उनीहरूको सुन तस्करीमा संलग्न रहेको फेला पारेपछि पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कठायतले जानकारी दिनुभयो ।

राजस्व अनुसन्धान विभागले सुन तस्करीमा नेपालमा बसेका चिनियाँ नागरिकहरूको संलग्नता रहेको भन्दै उनीहरूलाई कारबाहीको दायरामा ल्याउन सीआईबीलाई आग्रह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्