नेपाल प्रहरीका ९ सय ५८ इन्सपेक्टरकाे सरुवा



काठमाडौं । नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा गरेको छ । पहिलो पटक मापदण्ड अनुसार नै इन्सपेक्टरको सरुवा भएको भन्दै तालुक मन्त्रालय, प्रहरी नेतृत्व र मानवस्रोत विकास विभागका प्रमुखको प्रशंसा भइरहेको छ ।

प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले इन्सपेक्टर सरुवाको निर्णय गरेका थिए । जसअनुसार प्रहरीले आज प्रहरीका ९ सय ५८ इन्सपेक्टरको देशका विभिन्न स्थानमा कार्यालय प्रमुख र सहायकको जिम्मेवारीसहित सरुवा गरेको हो ।

‘प्रहरी कर्मचारीको सरुवासम्बन्धी मापदण्ड, २०७९ पहिलो शंशोधन’ स्वीकृत भइ लागू भएपश्चात् पहिलोपटक मापदण्ड अनुसार इन्स्पेक्टरको सरुवा भएको हो ।

तालिम पश्चात पासआउट भएका नयाँ र पुराना प्रहरी निरीक्षकहरुलाई कार्यालय प्रमुख एवम् सहायक दरबन्दीतर्फ सरुवा गरिएको प्रहरी प्रहरी प्रधान कार्यालयले जनाएको छ । जस अनुसार जनघनत्व, यातायातको पहुँचता, आपराधिक घटनाहरुको संख्या, भौगोलिक अवस्थिति लगायतको अवस्थाको विश्वलेषण गरी सरुवा मापदण्डमा उल्लेख भएअनुसार कार्यालयहरुलाई ‘क’, ‘ख’ र ‘ग’ श्रेणीमा वर्गीकरण गरिएको छ ।

जेष्ठता र कार्यसम्पादन स्तरका आधारमा तीन वटै श्रणीका कार्यालयहरुमा नदोहोरिने गरी आलोपालो कार्यालय प्रमुख हुने अवसर प्रदान गरिएकोले कार्यसम्पादनमा दबाब र प्रभाव नपर्ने प्रधान कार्यालयले विश्वास व्यक्त गरेको छ । यद्दपि पहिलोपटक कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्न लागेका प्रहरी निरीक्षकलाई भने ‘ख’ र ‘ग’ श्रेणीको कार्यालयको प्रमुख बनाइएको छ । यस्तै प्रधान कार्यालयले यसपटक काज सरुवामा मापदण्ड प्रतिकूल हुनेगरी कार्यालय प्रमुखको रुपमा रहेकाहरु प्रहरी निरीक्षकलाई फिर्ता बोलाउँदै मापदण्ड अनुसार कार्यालय प्रमुख वा सहायकका रुपमा सरुवा गरेको छ ।

यसअघि प्रहरीका सरुवा बढुवामा प्रश्न उठ्ने गरेका थिए । कतिपय प्रहरीले आफूलाई कुनै निश्चित ठाउँमा जान वा नजानका लागि विभिन्न किसिमका दबाब र प्रभाव दिएको समाचार सार्वजनिक हुन्थे । तर, प्रहरी महानिरीक्षकमा कुँवर र मानव मानवस्रोत विकास विभाग प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सन्दीप भण्डारी आएपछि प्रहरीका सबै सरुवा बढुवा पारदर्शी र मापदण्ड अनुसार भइरहेको भन्दै उनीहरुको प्रशंसा हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्