भारतीय दूतावासले मनायो ७७औं स्वतन्त्रता दिवस



काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासले मंगलबार भारतको ७७ औं स्वतन्त्रता दिवस मनायो । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै शुरू भएको समारोहमा राजदूत श्रीवास्तवले नेपालमा रहेका भारतीय डायस्पोराका सदस्यलाई स्वतन्त्रता दिवसको शुभकामना पनि दिनुभयो ।

कार्यक्रममा भारतका राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रका नाममा गरेको भिडियोमा सन्देशमा भारतको स्वतन्त्रता प्राप्तिका लागि स्वतन्त्रता सेनानीहरूले गरेका बलिदानको स्मरण गर्दै देशले विभिन्न क्षेत्रमा हासिल गरेका उपलब्धिहरूबारे चर्चा गर्नुभएको थियो । उहाँले भारतको गाथाप्रति भारतीय डायस्पोरामा आफूले नयाँ विश्वास देखेको जिकिर गर्दै विकास एवम् मानवीय लक्ष्यलाई विश्वभर प्रवद्र्धन गर्न भारतले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय मञ्चमा भारतले निर्वाह गरेको नेतृत्वदायी भूमिका विशेष गरी जी–२० को अध्यक्षताबारे पनि उल्लेख गर्नुभयो ।

समारोहमा दूतावासले भारतीय सशस्त्र बलका मृतक गोर्खा सैनिकका श्रीमती र निकटतम नातेदारलाई ५ करोड ३३ लाख रुपियाँ वितरण गरी सम्मान गरिएको थियो ।

यो उत्सव भारतको स्वतन्त्रताको ७५ वर्षको ऐतिहासिक क्षणलाई स्मरण गर्न भारत सरकारले सन् २०२१ मार्चमा शुभारम्भ गरेको ‘आजादीका अमृत महोत्सव’कै एक हिस्साको रूपमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्