प्रधानमन्त्री प्रचण्डको सम्पादकसँग गुनासो- तस्करीको सुन समाउँदा किन समाइस् भनेर प्रश्न गर्न मिल्छ ?

पूर्वप्रधानमन्त्रीलाई छानबिन गर्ने फैसलाले शंका जन्मायो’



–भ्रष्टाचारका विरुद्ध सम्झौता गर्दिनँ
–देशभरका भूमाफियाको जालोलाई ध्वस्त पार्छांै
–दोषी देखिए आफ्नैलाई पनि छोड्दैनौं
–राम्रो काम गर्दा किन स्याबासी पाउन सक्दैनौं ?
–गिरिबन्धु जग्गा प्रकरणमा पनि बद्मासी छ
–देश बनाउन कस्सिएको छु, सबैको साथ चाहियो
–संसद् चलाउन नदिनु मुलुकलाई भाँडमा लैजानु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतामा आशा र भरोषा दिलाउन भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ । उहाँले आशातीत रूपमा भ्रष्टाचार रोक्न नसके पनि त्यसका लागि सुधारका थुप्रै पहलहरू थालिएको बताउनुभयो ।

बालुवाटारमा मंगलबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरसंवाद गर्दे प्रधानमन्त्री प्रचण्डले सुशासन कायम गर्नकै लागि नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवास प्रकरणका फाइलहरू खोलिएको र सुन तस्करी नियन्त्रणमा लिने गरी पहलकदमी अघि बढाइएको बताउनुभयो । उहाँले आफूले सुन तस्करहरू समाउँदा स्याबासी पाउनुपर्नेमा उल्टै सुन किन समाइस् भनेर प्रश्न गर्ने गरिएको भन्दै यसले आफूलाई अचम्मित पारेको बताउनुभयो ।

उहाँले सुन तस्करी गर्ने गिरोहको फर्दाफास गरी सुन तस्करको सञ्जाल ध्वस्त पारिएको दाबी गर्नुभयो । प्रधानमन्त्री प्रचण्डका अनुसार त्रिभुवन विमानस्थलमा क्विन्टलका क्विन्टल सुन तस्करी भएको खबर आउन थालेपछि राजस्व अनुसन्धान विभागमा उहाँकै निजी सचिवका रूपमा रहनुभएका सहसचिव नवराज ढुंगानालाई महानिर्देशक बनाएर पठाउनुभएको थियो । उहाँले भन्नुभयो– ‘मैले मेरै निजी सचिवलाई राजस्व अनुसन्धान विभागमा पठाएर तस्करीको सुन पक्राउ गर्न लगाएको हुँ । तस्करहरूको जालो पत्ता लगाएर सुन बरामद गर्दा त सबैले धन्यवाद दिनुपर्ने हो तर त्यस्तो भएन, उल्टो अपजस लगाउने काम भयो, प्रतिपक्षीले उल्टो यसैलाई बहाना बनाएर संसद् अवरोध गर्ने काम गरिरहेको छ, यसले मलाई अचम्मित पारेको छ र शंका गर्ने ठाउँ दिएको छ ।’

उहाँले सुन तस्करीको जालो भत्काउँदा र तस्करहरूलाई पक्राउ गर्दा प्रतिपक्षी दलको टाउको दुख्नु शंकास्पद भएको जिकिर गर्दै भन्नुभयो– ‘अहिले त कहिलेकाँही किन सुन समाएर उल्टो अपजस लिने काम गरँेछु जस्तो पो लाग्न थालेको छ, त्यसैले यसमा सम्पादकज्यूहरूले स्वतन्त्र किसिमले अध्ययन गरिदिनुप¥यो, तस्करीको सुन समाउँदा किन समाइस् भनेर प्रश्न गर्न मिल्छ ?’

उहाँले चारैतिर कुशासन व्याप्त रहेकाले जनतामा चरम निराशा छाएको र जनतामा आशा जगाउन पनि भ्रष्टाचारविरुद्ध अभियान थालिएको दाबी गर्दै सोही अभियानअन्तर्गत नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई पक्राउ गरी मुद्दा चलाइएको बताउनुभयो । भ्रष्टाचार र अनियमितता भएका कुनै पनि ठाउँमा कारवाही चलाउन आफ्नो सरकार पछि नपर्ने उद्घोष गर्दै उहाँले भन्नुभयो– ‘त्यसैले पछिल्लोपटक ललितानिवास र सुन तस्करी प्रकरणमा हात हालेका हौं, यसलाई पनि टुंगोमा पु¥याएर आम जनतालाई सुशासनको अनुभूति दिलाएरै छोड्छौं ।’

सुन तस्करी प्रकरणमा जतिसुकै ठुला व्यक्तिहरू परे पनि कारबाही अघि बढाउन प्रहरीलाई निर्देशन दिइएको उहाँले बताउनुभयो । ललितानिवास प्रकरणमा तथ्य र प्रमाणका आधारमा कारबाही गर्न प्रहरीलाई भनिएको र पूरै निजी क्षेत्रलाई आतंकित पार्ने गरी कारबाही नगर्न प्रहरीलाई निर्देशन दिइएको प्रधानमन्त्री प्रचण्डले स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले भूमाफियाहरूले वर्षांैदेखि जरा गाड्दै आइरहेको र उनीहरूको जालोमा यहाँका विभिन्न दलका नेता, प्रशासक र व्यापारीहरूसमेत परेको बताउँदै अब भूमाफियाहरूको सातो जाने गरी आफ्नो सरकारले काम गर्ने बताउनुभयो । ‘ललितानिवासको सरकारी जग्गा भूमाफियाकै डिजाइनमा व्यक्तिको नाममा गएको भन्ने त्रिताल आयोगको रिपोर्ट आएको र सोही रिपोर्टका आधारमा तत्कालीन नेकपाको सरकारले आवश्यक कारबाही अगाडि बढाएकाले हामी अब त्यसलाई टुंगोमा पु¥याउने गरी काम गरिरहेका छौं ।’प्रधानमन्त्री प्रचण्डले भन्नुभयो– ‘अब हामी देशभरमा भूमाफियाको सम्पूर्ण जालो ध्वस्त बनाउछौं । ’

प्रधानमन्त्री प्रचण्डले सिंहदबार र बालुवाटारमा रहँदा कहिलेकाही बिचौलिया र माफियाहरू हाबी हुन सक्ने भन्दै आफूहरू त्यसतर्फ सचेत रहेको स्पष्ट पार्दै भन्नुभयो– ‘कुनै कुनै निर्णय हुँदा कहाबाट कसरी हुन्छ भन्ने कुरा आफूले पनि बुझ्न नसक्ने अवस्था कहिलेकाँही आउँदा बिचौलिया र माफिया हाबी भएकी जस्तो लाग्छ तर अब त्यसरी उनीहरूलाई हाबी हुन नदिने गरी अगाडि बढेको छु ।’ उहाँले आफूले सकेसम्म विवादरहित किसिमले विभिन्न खाले नियुक्तिहरू गरेको भए पनि पछिल्लो समय लुम्बिनी विकास कोषमा ल्यारक्याल लामाको नियुक्ति गर्दा धेरैतिरबाट विरोध आएको र उक्त निर्णय विवादस्पद भएको स्वीकार्नुभयो । उहाँले त्यस्ता खाले विवादास्पद नियुक्तिहरूका बारेमा सरकारले पुनर्विचार गर्न सक्ने जिकिर गर्नुभए तापनि ल्यारक्याललाई अदालतले समेत सफाई दिइसकेको व्यक्ति भन्दै बचाउको प्रयास पनि गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले पुराना दलप्रति जनताको वितृष्णा पैदा भएको भन्ने भनाइमा सत्यता नभएको र पुराना दलहरू वर्षौंदेखिको दुःख कष्ट गर्दै यहाँसम्म आएकाले उनीहरूको जनतासँगको सामीप्यतामा कमी नआउने दाबी गर्नुभयो । तर, पुराना दलहरू सच्चिनुको विकल्प नरहेको स्वीकार्दै उहाँले नयाँ रूपमा उदय भएका दल र तिनका नेतालाई हावा हुण्डरीको संज्ञा दिँदै त्यो क्षणिक हुने बताउनुभयो ।

सम्पादकहरूसँग भावानात्मक रूपमा प्रस्तुत भएका प्रधानमन्त्री प्रचण्डले अन्तमा मुलुकका समस्या धेरै भएकाले आफू सम्पादकहरूसहित सबैसँग मिलेर मुलुकका तमामखाले समस्या समाधान गर्न इच्छुक रहेको भन्दै सहयोग गर्न आग्रह गर्नुभयो । आफू देशमा बलियो राष्ट्रिय एकता कायम गर्ने किसिमले अघि बढिरहेको दाबी गर्दै उहाँले भन्नुभयो– ‘अहिले सम्पूर्ण रूपमा मुलुकलाई समृद्ध, विकसित र भ्रष्टाचारमुक्त बनाउने अभियानमा छु, त्यसैले मुलुकको हित नचाहने स्वार्थी, अवसरवादी तत्वहरू मलाई रोक्ने खेलमा छन् ।’ प्रधानमन्त्री प्रचण्डले संकटग्रसत बन्दै गइरहेको देशको अवस्था सुधार्न आफूबाहेक अन्य कसैले पनि नसक्ने दाबी गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले विगतका सरकारले गरेका अनियमितताका फाइलहरू पनि खोल्नुपर्ने जिकिर गर्दै भन्नुभयो– ‘गिरिबन्धु जग्गा फाइलमा ठुलो बद्मासी भएको छ । यस्ता बद्मासी धेरै छन्, सबैजनाका बारेमा छानबिन हुँदै जाँदा के होला ?’

पूर्वप्रधानमन्त्रीलाई छानबिन गर्ने फैसलाले शंका जन्मायो’

सम्पादकहरूको एक प्रश्नमा प्रधानमन्त्री प्रचण्डले ललितानिवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरूलाई पनि छानबिन गर्ने विषयले भने थप शंका पैदा गराएको बताउनुभयो ।

सर्वोच्च अदालले पछिल्लो समय ललितानिवास प्रकरणमा गरेको फैसलाका बारेमा आफूहरूले सोच्न बाध्य भएको र त्यो फैसलाले वर्तमान राजनीतिक प्रक्रियालाई नै समस्यामा पार्न सक्ने टिप्पणी गर्दै उहाँले भन्नुभयो– ‘ललितानिवास प्रकरणमा अदालतको फैसलालाई राजनीतिक रूपमा हेर्दा गम्भीर प्रकृतिको देखिन्छ, यसले भोलि राजनीतिक प्रणालीलाई नै समस्यामा पार्ने होकी भन्ने चिन्ता छ । ’

अदालतको उक्त फैसलापछि सीआईबीले पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि समेत छानबिन गर्नुपर्ने देखिएको भन्दै यसप्रति प्रधानमन्त्री प्रचण्डले असहमति जनाउनुभयो । यद्यपि, अदालतको फैसलाको सम्मान गर्ने बताउँदै उहाँले भन्नुभयो– ‘तर त्यो फैसला कुन उद्देश्यका साथ आयो भन्नेबारेमा गम्भीर भएर सोच्नुपर्छ । विभिन्न खाले षड्यन्त्र व्याप्त भएको र पूर्वप्रधानमन्त्रीहरू मात्रै होइन वर्तमान प्रधानमन्त्रीलाई समेत थप समस्यामा पार्ने षड्यन्त्रहरू भइरहेको छ । एकतिर पूर्व प्रधानमन्त्रीहरूलाई नै समस्यामा पारेर र अर्कोतिर लगातार संसद् अवरुद्ध गराएर राजनीतिक प्रणालीलाई ‘डिरेल’ गराउन खोजिँदै छ तर यो षड्यन्त्र सफल हुँदैन, हामी त्यसलाई असफल बनाउने छौं ।’

प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दल एमालेले संसद् चल्न नदिएर राजनीतिलाई ‘गोलमाल’ बनाउने प्रयास गरेको आरोप पनि लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्