लगातारको वर्षापछि सिन्धुपाल्चोकका विभिन्न सडकखण्ड अवरुद्ध, लामो तथा छोटो दूरीका यातायात सेवा प्रभावित



सिन्धुपाल्चोक । जिल्लाको हेलम्बु–मेलम्ची र पाँचपोखरी सडकखण्ड अवरुद्ध भएको छ ।

लगातारको वर्षापछि आएको बाढीका कारण ग्यालथुम, चनौटे, तालामाराङ, सिमखेतलगायत ठाउँमा बाढीसँगै पहिरो जाँदा मेलम्ची–हेलम्बु सडकखण्ड अवरुद्ध भएको हो ।

त्यस्तै मेलम्ची–तिपेनी र जलवीरे–बलेफी सडकखण्डका विभिन्न स्थानमा पहिरो गएको छ । जसका कारण सिन्धुपाल्चोकदेखि काठमाडौंसम्मको सिधा यातायात सेवा प्रभावित बनेको छ भने यात्रुहरूले सास्ती भोग्नु परेको छ ।

त्यस्तै बाढीकै कारण जिल्लाभित्र (छोटो) र बाहिर (लामो दूरी) चल्ने सडक यातायात प्रभावित भएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताउनुभयो ।

अवरुद्ध सडकखण्ड तत्काल मर्मत तथा सञ्चालनमा ल्याउनका लागि सडक डिभिजन कार्यालय र स्थानीय सरकारसँग पहल गर्ने न्यौपानेले बताउनुभएको छ ।

सडक अवरुद्ध हुँदा हेलम्बु गाउँपालिका र मेलम्चीका स्थानीय प्रभावित भएका छन् । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले पानीको बहाव आकलन पश्चात् सडक सञ्चालन गरिने बताउनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले आइतबार साँझदेखि नदीले सडक कटान गरेकाले बिहानैदेखि जिल्लाका विभिन्न सडकखण्डमा यातायातका सेवा सञ्चालनमा समस्या आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्