वित्तीय अपराध : बैकबाटै रकम गायब, सेवाग्राही चिन्तित

0
Shares

रौतहट । सुरक्षा र व्याजको लागि बैकमा जम्मा गरेको रकम नै गायब भएपछि सेवाग्रही मर्कामा परेका छन् ।

वृन्दावन नगरपालिका–३ निवासी रामेश्वर राय यादवले स्थानीय चन्दपुर नगरपालिकास्थित माछापुछ्रे बैकमा जम्मा गरेको १२ लाख २० हजार रकममध्ये ९ लाख अपरिचित ब्यक्तिले निकालेको पाइएपछि उनी मर्कामा परेका हुन् ।

आइतबार दिनभर बैकमा जम्मा गरेको रकम गायब भएको विषयमा उक्त नगरपालिकाका बासिन्दाले बैकमा धर्ना दिएपनि बैक प्रबन्धक रामजी दासले काुननी प्रक्रिया अवलम्बन गर्न सुझाब दिएर आफू पन्छिन खोजेका छन् ।

माछापुछ्रे बैकमा बिहिबार बिहान यादवले विभिन्न बैकको १२ लाख २० हजार रकम जम्मा गर्न (क्लिरियन्स) गरेका थिए ।

नेपाल बैंक लिमिटेडको चेकमा ९ लाख, सोही बैंकको अर्को चेकमा २ लाख २० हजार र ग्लोबल आईएमई बैंकको चेकबाट १ लाखको भौचर भरेर माछापुछ्रे बैंकमा जम्मा गर्न (क्लिरियन्समा) दिएपछि शुक्रबार दिउसो ३ बजे उनको खातामा पैसा जम्मा भएको थियो ।

यादवले आइतबार ८ लाखको चेक लिएर साट्न गएपछि खाताबाट ९ लाख निकालिएको बैक कर्मचारीले जानकारी दिएपछि उनी चकित भए । उनको खाताबाट रकम कसरी गायब भयो भन्ने विषय थप अनुसन्धानको घेरामा रहेको छ ।
यादवकोे खाताबाट ९८६०१०१०२२, ९८०१५३३५४२, ९८२५०७४४०० र ९८२४२५५६३१ नम्बरको मोबाइल प्रयोग गरि रकम निकालेको पाईएको बैकले जनाएको छ ।

उल्लिखित मोबाइल नम्बर प्रयोग गरी यादवको खाताबाट निकालेको रकम सिटिजन बैक, सानीमा बैंक, कुमारी बैकमा ट्रान्सफर भएको बैक प्रमुख रामजी दासले जानकारी दिनुभयो ।

पीडित रामेश्वर राय यादवले भने बैंक स्टेटमेन्ट माग्दासमेत बैंकले आनाकारी गरेपछि बैक कर्मचारीमाथि शंका रहेको बताउनुभयो । बैक प्रबन्धक दासले भने ह्याकरले पैसा लगेको हुनसक्ने हल्का जवाफ दिएका छन् ।

ईलाका प्रहरी चन्द्रनिगाहपुरका प्रहरी उपरीक्षक एकनारायण कोईरालाले यादबको खातबाट रकम गायब भएको बारे अनुसन्धान थालिएको बताउनुभयो ।

वृन्दावन नगरपालिकाका पूर्व प्रमुख रामस्नेही राय यादव एमाले नेता प्रेम शंकर यादवसहितका स्थानीय बासिन्दाले सुरक्षाको लागि बैकमा जम्मा गरेको रकम गायब भएपछि बैक कर्मचारीले तिर्नुपर्ने माग राखेका छन् ।