आर्सेनलले जित्यो एफए कम्युनिटी शिल्ड



लन्दन, एजेन्सी । आर्सेनलले एफए कम्युनिटी शिल्ड जितेको छ ।

टाइब्रेकरमा म्यानचेस्टर सिटीलाई ४–१ गोलअन्तरले पराजित गर्दै एफए कम्युनिटी शिल्ड जितेको हो । खेलको इन्ज्युरी समयको ११औं मिनेटमा बराबरी गोल फर्काएको आर्सेनलले सिटीलाई स्तब्ध पारेको हो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । जितसँगै आर्सेनलले सिजनको सुखद सुरुवात गर्न सफल रह्यो भने सिटीले भने लगातार तेस्रो सिजन कम्युनिटी शिल्ड जित्न सकेन ।

युवा खेलाडी कोल पाल्मरले खेलको दोस्रो हाफमा गरेको सुन्दर गोलको सहयोगमा सिटी जित नजिक पुगेको थियो । तर, इन्ज्युरी समयको अन्तिम मिनेटमा लिआन्द्रो ट्रोसर्डले गोल गर्दै खेललाई टाइब्रेकरतर्फ धकेले । टाइब्रेकरमा पहिलो प्रहारमा आर्सेनल कप्तान मार्टिन ओडेगार्डले गोल गर्दा सिटीका केभिन डे ब्रुएनको प्रहार क्रसबारमा लागेर फर्कियो ।

त्यसपछि आर्सेनलका ट्रोसार्ड र सिटीका बर्नार्डो सिल्भाले लगातार गोल गरे । बुकायो साकाले तेस्रो प्रहार गोलमा परिणत गर्दा सिटीका मिडफिल्डर रोड्रीको प्रहार आर्सेनलका गोलरक्षक आरोन राम्सडेलले बचाए । आर्सेनलका फाबियो भिएराले चौथो प्रहारमा गोल गर्दै आर्सेनललाई शिल्ड दिलाए ।

पहिलो हाफमा सिटीले बिर्सनलायक प्रदर्शन गर्दा आर्सेनलका लागि काइ हाभट्र्जले अग्रता दिलाउने अवसर गुमाए । सिटीका जर्मन गोलरक्षक स्टेफान ओर्टेगा तुलनात्मक रुपमा बढी व्यस्त देखिएका थिए । नर्वेली फरवार्ड एर्लिङ हालान्डका लागि खेल बिर्सनलायक बन्यो । प्रशिक्षक गुआर्डीओलाले उनको स्थानमा ६४औं मिनेटमा पाल्मरलाई मैदान पठाएका थिए ।

खेलको ७७औं मिनेटमा पाल्मरको दर्शनीय गोलमा सिटीले अग्रता लिएको थियो । केभिन डे ब्रुएनले हेडरमार्फत् दिएको पासलाई पाल्मरले पेनाल्टी क्षेत्र भित्र नियन्त्रणमा लिँदै सेकेन्ड बारमा सुन्दर गोल गरे । खेलमा आठ मिनेटको इन्ज्युरी समय थप गरिएपनि उक्त समयमा खेलाडी घाइते हुँदा खेल लम्बिएको थियो ।

आर्सेनलले इन्ज्युरी समयको ११औं मिनेटमा बराबरी गोल फर्कायो । लिआन्द्रो ट्रोसर्डले गरेको प्रहार डिफेन्डर म्यानुएल अकान्जीलाई लाग्दै गोलमा परिणत भएको थियो । उक्त गोलसँगै खेल टाइब्रेकरमा धकेलिएको थियो ।

प्रतिक्रिया दिनुहोस्