सह–आयोजक अस्ट्रेलिया र इंग्ल्यान्ड क्वार्टरफाइनलमा



लन्डन, (एजेन्सी) । सह–आयोजक अस्ट्रेलिया र इंग्ल्यान्ड फिफा महिला विश्वकप फुटबल २०२३ को क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

सोमबार भएको प्रि–क्वाटरफाइनलमा डेनमार्कलाई २–० गोलअन्तरले पराजित गर्दै अष्ट्रेलियाले अन्तिम आठको यात्रा तय गरेको हो । अष्ट्रेलियाको जितमा केटलिन फुर्ड र हेले रासोले गोल गरेका थिए । पहिलो र दोस्रो हाफमा समान एक गोल भएको थियो । स्टेडियम अष्ट्रेलिया सिड्नीमा प्रतिस्पर्धात्मक बनेको खेलको २९औं मिनेटमा केटलिन फुर्डले गोल गर्दै अष्ट्रेलियालाई पहिलो हाफमा १–० को अग्रता दिलाएकी थिईन् । उनले मारी फोलेरको पासमा गोल गर्न सफल भइन् ।

खेलको ७१औं मिनेटमा हेले रासोले गोल गर्दै अष्ट्रेलियाको सहज जित पक्का गरिन् । इमिली भान इगमन्डको ब्याक पासलाई उनले सुन्दर गोलमा परिणत गर्न सफल भएका थिए । अष्ट्रेलिया आठ वर्षपछि विश्वकपको क्वाटरफाइनलमा पुग्न सफल भएको हो । अब अष्ट्रेलियाले क्वाटरफाइनलमा फ्रान्स र मोरोक्कोबीचको विजेतासँग १२ अगस्टमा खेल्नेछ । यि दुई टोली फ्रान्स र मोरोक्कोले मंगलबार प्रतिस्पर्धा गर्दैछन् ।

त्यसैगरी टाइब्रेकरमा नाइजेरियालाई पराजित गर्दै इंग्ल्यान्ड पनि यस प्रतियोगिताको अन्तिम ८ मा प्रवेश गरेको छ । प्रि–क्वाटरफाइनलमा नाइजेरियालाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै इंग्ल्यान्डले अन्तिम आठमा स्थान पक्का गरेको हो । निर्धारित र थप गरिएको समयमा कुनै गोल निस्कन नसकेपछि खेलको निर्णय टाइब्रेकरमा लिइंदा इंग्ल्यान्डले बाजी मारेको हो । टाइब्रेकरमा इंग्ल्यान्डकी बेथानी इंग्ल्यान्ड, रचेल डाली, एलेक्स ग्रीनवुड र चोलोई केलीले गोल गरिन् । जर्जिया स्टानवे भने गोल गर्नबाट चुके । नाइजेरियाकी क्रिष्टि युचेइवी र रसहिडाट एजिबाडेले मात्रै गोल गर्न सफल हुँदा डिसाएर ओपारानोजी र मिचेली एलोजीले गोल गर्न सकिनन् ।

त्यसअघि ब्रिसवन स्टेडियम अष्ट्रेलियमा सोमबार भएको खेलमा १० खेलाडीमा समेटिएको इंग्ल्यान्डले बल पोसेसन राख्दै लगातार दवाब सिर्जना गरेपनि नाइजेरियाको बलियो रक्षापंक्ति तोड्न नसक्दा खेल अतिरिक्त समय हुँदै टाइब्रेकरमा लम्बिएको थियो । ३२औं मिनेटमा इंग्ल्यान्डले पेनाल्टी पाएपनि भिएआरले उक्त पेनाल्टीलाई खारेज गरिदिएको थियो ।

८७औं मिनेटमा इंग्ल्यान्ड १० खेलाडीमा समेटिन पुग्यो । लौरेन जेम्स सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिंदा इंग्ल्यान्ड १० खेलाडीमा समेटिएको थियो । सुरुवातमा पहेंलो कार्ड देखाइएपनि पछि भिएआरको सहायतामा उनलाई रातो कार्ड देखाएर मैदान बाहिर पठाएको थियो ।

अब इंग्ल्यान्डले क्वाटरफाइनलमा कोलम्विया र जमैकाबीचको विजेतासँग १२ अगस्टमा खेल्नेछ । यी दुई टोलीले ८ अगस्टमा खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस्