अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ



काठमाडौं । मोरङ, रंगेली नगरपालिका-४ चोप्राहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ७ सय ९० मिलिग्रामसहित भारत अररिया मज्ररक पञ्चायत-१ बौकामज्रक बस्ने ७० वर्षीय भल्लु पासवानलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

दाङ, घोराही उपमहानगरपालिका-१४ तिनकुने चोक सिर्जनशील टोल डेरा गरी बस्ने सोही उपमहानगरपालिका-१४ घर भएका अर्जुन पुन समेत ३ जनालाई अवैध लागूऔषध गाँजा ५ किलो १ सय ग्रामसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले पुनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

कञ्चनपुर, भिमदत्त नगरपालिका-११ होल्डिङ सेन्टरबाट अवैध लागूऔषध खैरो हेरोइन २ ग्राम ९३ मिलिग्राम र चरेश २८ मिलिग्रामसहित ४ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बेदकोट नगरपालिका-७ बस्ने २१ वर्षीय भरत बम, सोही ठाउँ बस्ने ३३ वर्षीय बिशाल गुरुङ, भिमदत्त नगरपालिका-१२ बस्ने १८ वर्षीया किशोरी र डडेलधुरा पर्शुराम नगरपालिका-१२ जोगबुढा बस्ने ३१ वर्षीय लक्ष्मण कामी रहेका छन् । ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङबाट अवैध लागूऔषध गाँजा ३ किलो ५ सय ग्रामसहित बारा निजगढ नगरपालिका-१ पटिहारी बस्ने १८ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट थानाभर्‍याङको प्रहरीले बा.प्र०३-००१ ख २७६२ नम्बरको बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित कोहलपुर नगरपालिका-१४ हवल्दारपुर बस्ने २७ वर्षीय शैलेन्द्र कुमार गुभाजुलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सुनसरी, धरान उपमहानगरपालिका-८ सभागृह मार्गबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय साजन बिश्वकर्मा समेत ५ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट
खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

कैलाली, गोदावरी नगरपालिका-८ स्याउले बजारमा चम्फा ट्याक्टरको पार्टपुर्जाको पसल गरी बस्ने धनगढी उपमहानगरपालिका-५ हसनपुर घर भएका ३२ वर्षीय शरद चौधरी र सोही बजारमा फेन्सी स्टोर पसल गरी बस्ने ३२ वर्षीय मधुसुदन पन्तलाई अवैध लागूऔषध खैरो हेरोइनसहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले चौधरीलाई ६ ग्राम ७ सय ९० मिलिग्राम र पन्तलाई २ सय ४० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-५ सत्कार चोकबाट सोही उपमहानगरपालिका-४ बस्ने ३५ वर्षीय भरत चौधरीलाई अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ८ सय ९० मिलिग्रामसहित बिहीबार राति जिल्ला प्रहरी कार्यालय कैलाली र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

सिरहा, औरही गाउँपालिका-५ दश गजाबाट अवैध लागूऔषध गाँजा करिब १२ किलो बिहीबार राति प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी औरहीबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेको एक जना अपरिचित व्यक्तिले झोला फाली फरार भएपश्चात प्रहरीले झोला तलासी गर्दा उक्त गाँजा फेला पारेको हो ।

सवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्