डेंगी सार्ने लामखुट्टेको वासस्थान नष्ट गर्न प्रमुख शाहको आग्रह



काठमाडौँ । 

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले डेंगी रोग सार्ने लामखुट्टेको वासस्थान नष्ट गर्न अपिल गर्नुभएको छ । यो सङ्क्रमण फैलाउने लामखुट्टे सफा पानीमा बस्ने जनाउँदै उहाँले, पानी जम्ने सडक, सडक पेटीका खाल्टाखुल्टी, करेसाबारीमा रहने गमला, पानी जम्मा गरी राखिएका भाँडा, टायर, कौसी र बरण्डामा जम्ने पानी लामखुट्टेको संख्या वृद्धि हुने ठाउँ भएकोले यस्ता ठाउँमा पानी जम्न नदिन, एउटै भाँडामा पानी थापेर धेरै समय राखी नरहन आग्रह गर्नुभएको हो ।

महामारी रोग नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाको एक्लो प्रयासले मात्र रोकथाम हुन नसक्ने भएकाले रोग लाग्नै नदिनतर्फ प्रयत्न गर्न, महामारी रोगप्रति सचेत रहन, महानगरपालिकाले सञ्चालन गरेका कार्यक्रममा सहयोग गर्न प्रमुख शाहको अपिल छ ।

महानगरवासीलाई डेङ्गी रोग लाग्नबाट बचाउन महानगरपालिकाले योजनाबद्ध कार्यक्रम सञ्चालन गरिरहेको छ । यस क्रममा वडा स्तरमा २६९ वटा सचेतनामूलक ¥याली निकालिएको छ । हरेक बुधवार बिहान ८ बजेदेखि ९ बजेसम्म वडामा लार्भा खोज र नष्ट गर्ने अभियान चलाइएको छ । त्यस्ता ठाउँमा औषधि छर्कने गरिएको छ । यसका लागि सहरी स्वास्थ्य प्रवर्धन केन्द्रका स्वास्थ्यकर्मीहरु, वडा जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय संघ संस्था र क्लबका प्रतिनिधि, नगर प्रहरी, कर्मचारी यस अभियानमा खटिने गर्नुभएको छ ।

सरकारी तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थी बिचमा डेंगी रोग सम्बन्धी चित्रकला प्रदर्शनी गरी अभिभावकसम्म सङ्क्रमणका बारेमा चेतना पु¥याउने र रोगको बारेमा उत्कृष्ट कला देखाउने, विद्यार्थी र विद्यालयलाई पुरस्कृत गर्ने कार्यक्रम छन् ।

बर्षायाममा साउन, भाद्र, असोज र कार्त्तिक महिनासम्म यस रोगको सङ्क्रमण दर तीव्र हुने गरेको विगत अभ्यासले देखाउँछ । यस अवधिमा महानगरले, डेङ्गी रोगको बारेमा टेलिफोनमार्फत परामर्श दिन (रोगका लक्षण, उपचार, सावधानी) हटलाइन ११८० २४ सै घण्टा सञ्चालनमा ल्याइएको छ । अस्पताल जानु परे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सकिनेछ ।

डेंगी रोगको उपचारका लागि चाहिने सिटामोल, जीवन जल लगायत आवश्यक औषधिको स्वास्थ्य प्रवर्धन केन्द्रमा पर्याप्त उपलब्ध गराइएको छ।

एडिस जातको सङ्क्रमित लामखुट्टेले पारेको अण्डाबाट लार्भा हुँदै निस्कने लामखुट्टे वयस्क भएपछि यसले मानिसलाई टोकेमा डेङ्गी रोग लाग्छ । सामान्यतया सङ्क्रमित लामखुट्टेले टोकेको ४ देखि ७ दिन भित्र कडा ज्वरो आउने, वाक–वाकी लाग्ने, निकै कमजोर महसुस हुने, खान मन नलाग्ने, जिउ दुख्ने जस्ता लक्षण देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्