मिटरब्याजपीडितद्वारा गृहमन्त्रीको राजीनामा माग



काठमाडौं । मिटरब्याज पीडितहरूले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन् ।

मंगलबार मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले काठमाडौंको शान्तिवाटिकादेखि बानेश्वरसम्म प्रदर्शन गरेको हो ।

सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्ने भन्दै मुलुकी ऐन संशोधन गरे पनि संघर्ष समितिले उक्त कानुनले समेत मिटरब्याज पीडितको समस्या समाधान नहुने भन्दै प्रदर्शन जारी रहेको छ ।

समितिका प्रवक्ता नीर्ग नवीनले मिटरब्याजसम्बन्धी संसद्ले पारित गरेको कानुनका केही विषय पीडितको पक्षमा नभएको र यसमा गृहमन्त्रीको भूमिका रहेकाले राजीनामा माग गरेको बताउनुभयो ।

‘पहिलेको अध्यादेशमा धेरै कुरा ठीक थिए, तर राजनीतिक दलहरूको सेटिङमा अध्यादेश निष्क्रिय पारियो, पछि ४ बुँदामा संशोधन गर्दा कानुन साहु महाजनको पक्षमा गयो’, उहाँले भन्नुभयो ।

आइतबार प्रतिनिधिसभाबाट पारित मिटरब्याजसम्बन्धी कानुनमा लिखतहरू ऋणी र महाजन दुवै पक्ष गई स्थानीय तहमा दर्ता गर्नुपर्ने भन्ने उल्लेख थियो । ‘तर संशोधन गरेर महाजन एक्लै गएर पनि दर्ता गर्न सक्ने व्यवस्था गरियो, महाजनले त २–३ वटा कागज बनाएको हुन्छ, ती कागज दर्ता गरेर मिटरब्याज पीडितविरुद्ध उल्टै अदालत जान सक्ने भयो’, प्रवक्ता नवीनले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्