जनकविकेशरी धर्मराज थापाको जन्म-शताब्दी शुभारम्भ

लोकसंस्कृति–साहित्य तथा लोकगीत–संगीत पुरस्कार ग्वङ्ग तथा कार्की र आलेलाई



काठमाडौं । नेपाली लोकगीत संगीतको श्रीवृद्धि, लोकगीत गायन, लोकसाहित्यको खोज अनुसन्धान र प्रकाशनमा अतुलनीय योगदान पुर्याउनुभएका जनकविकेशरी धर्मराज थापाको जन्म–शताब्दीको शुभारम्भ भएको छ ।

इतिहासविद् चित्तरञ्जन नेपालीको प्रमुख आतिथ्यमा आगामी एक वर्षभित्र विविध साहित्य गतिविधि तथा उनका सिर्जनाको प्रचार–प्रसार र खोज गर्ने उद्देश्यले साउन १ गते सोमबार पहिलो कार्यक्रममको शुभारम्म भएको हो ।

कास्की पोखराको बाटुलेचौरमा विस १९८० साउन १ गते जन्मेका थापाको २०७१ असोज २८ गते निधन भएको थियो । २०८० साउन १ गते उनी जन्मेको १०० वर्ष पुगेको उपलक्ष्यमा देश तथा विदेशमा काव्य गोष्ठी आयोजना गर्ने, थापाका लोकगीतको प्रचार–प्रसार र उनका अनुसन्धानमूलक कृतिको संरक्षण गर्ने अन्य लोक–स्रष्टाहरूलाई सम्मान गर्ने लगायत कार्यक्रम गरिने घोषणा गरिएको छ ।

जन्म–शताब्दी शुभारम्भको अवसरमा विगत लामो समयदेखि प्रदान गरिँदै आएको थापा र उनकी जीवनसाथीको नाममा स्थापित धर्मराज–सावित्री लोकसंस्कृति–साहित्य तर्फको २०७९ सालको पुरस्कार इतिहासविद् संस्कृतिविद् तेजेश्वरबाबु ग्वङ्गलाई प्रदान गरियो ।

शारीरिक अस्वस्थताका कारण कार्यक्रममा उपस्थित हुन असमर्थ ग्वङ्गलाई आजै उहाँको भक्तपुरस्थित निवासमा पुगी प्रतिष्ठानका पदाधिकारीले सम्मान तथा पुरस्कार समर्पण गरेका थिए ।

यसैगरी, धर्मराज–सावित्री लोकगीत संगीततर्फको पुरस्कार वरिष्ठ लोकगायकद्वय बमबहादुर कार्की र शिवा आले कार्कीलाई प्रदान गरिएको छ । सम्मान ग्रहण गर्दै कार्की आफूले पहिलोपटक रेडियो नेपालमा रेकर्ड गराएको तथा क्यासेटमा निकालेको दोहोरी गीत खोला पारि निरिमाया वारी म रुनी गाएका थिए ।

कार्यक्रममा जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानका अध्यक्ष मदनराज थापाले अबको एक वर्षसम्म स्व. थापाको व्यक्तित्व, कृतित्व र जीवनीसँग सम्बन्धित कार्यक्रम गरी मनाउने तय भएको बताए ।

धर्मराज थापाको खोज अनुसन्धानको पाटोलाई खोजी गर्नुपर्ने सन्दर्भ जोड्दै उनले भने, ‘समयक्रममा उहाँले लोकगीत संगीत र संस्कृतिमा गरेको खोज अनुसन्धानका पक्षहरूलाई अझ खोजी गर्नुपर्ने कार्यमा प्रतिष्ठानले विशेष ध्यान दिनेछ ।’

यसैगरी, सोही अवसरमा आगामी एक वर्षभित्र गरिने कार्यक्रमको विषयमा चर्चा गर्दै प्रतिष्ठानका सचिव लक्ष्मण वियोगीले देशका ७ वटै प्रदेशमा एक–एकवटा सहित्यिक तथा लोकसंस्कृति सम्बन्धी कार्यक्रम गरिने जानकारी दिए । यस्तै, देश तथा विदेशमा जनकविकेशरी थापाको योगदानको परिचर्चा, प्रचार–प्रसार र प्रवद्र्धनमा समन्व गर्ने पनि उनले बताए ।

विगत कोरोना कालमा विविध कारणले पुरस्कार प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिन नसकिएको र यसलाई पुनः सुचारु गरिएको पनि कार्यक्रममा जनाइएको थियो । पुरस्कृत व्यक्तित्व संस्कृतिविद् ग्वङ्गको परिचय तथा योगदानका विषयमा साहित्यकार जितेन्द्र रसिकले प्रकाश पारेका थिए भने गायनतर्फ पुरस्कृत कलाकारद्वय कार्की र आलेको योगदानका विषयमा वरिष्ठ लोकगायक प्रेमराजा महतले चर्चा गरेका थिए ।

सोही क्रममा थापाकी सुपुत्री तथा वरिष्ठ गायिका ज्ञानु राणाले सरस्वती बन्दना गाएकी थिइन् भने प्रतिष्ठानका सदस्य प्रा। कुञ्जराज थापाले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा.डा. अभि सुवेदीले धर्मराज थापाका गीतहरू गाउँदै उहाँसँगको पुरानो सम्बन्ध स्मरण गरे । साथै, थापाको बहुआयामिक पक्षको खोज अनुसन्धान अपरिहार्य रहेको बताएका थिए ।

यस्तै, कार्यक्रममा साहित्यकारहरू सूर्यबहादुर सेन, प्रा.डा. चुणामणि बन्धु, प्रा.डा. जयराज आचार्य तथा अजितनारायण सिंह थापा लगायतले धर्मराज थापाका विषयमा आ–आफ्ना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्