साम्राज्ञीविरुद्धको भुवनको मुद्दामा दाबी नपुग्ने अदालतको फैसला



जिल्ला अदालत काठमाडौंले अभिनेत्री साम्राज्ञी शाह र अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीबीचको मुद्दामाथि बुधबार फैसला गरेको छ।

साम्राज्ञीले विभिन्न पत्रपत्रिका, अनलाइन र युट्युब च्यानलमा आफूलाई यौन दुव्र्यवहारको मिथ्या आरोप लगाएर बेइज्जत गरेको भन्दै भुवनले तीन वर्षअघि १० करोड रुपियाँ क्षतिपूर्तिसमेत माग गर्दै साम्राज्ञीविरुद्ध जिल्ला अदालत काठमाडौंमा दर्ता गरेको मुद्दामा अदालतले उनको दाबी नपुग्ने फैसला गरेको हो। अदालतको फैसलापछि साम्राज्ञीले सत्यको जित भएको भन्दै सामाजिक सञ्जालमा आफूले शान्तिको श्वास फेर्न सक्ने र पहिलेजस्तै सुनिश्चित भएर अघि बढ्ने जनाउँदै एक भिडियो पोस्ट गरेकी छिन्। उनले भुवनको नाम नलिइकनै आफूमाथि १० करोड रुपियाँ क्षतिपूर्तिको दाबी गर्ने व्यक्तिले शक्ति र पहुँचको दुरुपयोग गर्दै बुलिङ गरेको आरोप लगाएकी छिन्।

आफूलाई कानुनी लडाईंमा साथ दिने कानुन व्यवसायीलाई धन्यवाद दिँदै भावविह्वल भएकी उनले फिल्म क्षेत्रमा आउने नव कलाकारलाई आफ्नो आवाज नदबाउन आग्रहसमेत गरेकी छिन्। बुधबार अदालतमा भएको सुनुवाइ मुख्यतः नाम उल्लेख भएको वा नभएको कुरामा केन्द्रित थियो। मुद्दाका प्रतिवादीतर्फका कानुन व्यवसायीले साम्राज्ञीले कसैको नाम नलिएको र समग्र फिल्म क्षेत्रको प्रवृत्तिलाई उजागर गरेको दाबी गरेका थिए भने वादीतर्फका कानुन व्यवसायीले साम्राज्ञीको आशय भुवनतर्फ लक्षित रहेको जिकिर गरेका थिए। तीन वर्षअघि साम्राज्ञीले इन्स्टाग्राममा भिडियो पोस्ट गर्दै आफूले खेलेका आठ फिल्ममध्ये तीन फिल्ममा आफूले भोग्नुपरेको दुव्र्यवहारबारे बोलेकी थिइन्। त्यसमा उनले कसैको नाम भने उल्लेख गरेकी थिइनन्।

प्रतिक्रिया दिनुहोस्