नेपालको जनसंख्या र स्वास्थ्य समस्या



विश्व जनसंख्या दिवस २०८० मनाइरहँदा नेपाली नागरिकको बसाइँ सराइ, विदेशिनेको तथ्यांकको खोजीसँगै स्वास्थ्य योजनामा नै प्रभाव पार्ने विषयमा सरोकारवाला निकाय चिन्तित भएको पाइयो । राज्यको यो चासोले आगामी दिनमा जनसंख्या र त्यसका लागि आवश्यक स्वास्थ्य सेवा कसरी प्रवाह गर्ने र कुन स्थानमा कस्ता व्यक्तिको बसोबास बढी छ भनी चासो राख्नु सकारात्मक कुरा हो । विश्व जनसंख्या दिवसको मूल नारा ‘समानतालाई बनाऔं अपरिहार्य रिवाज ः सम्भावनाको ढोका खोल्न सुनौं महिलाका आवाज’ रहेको थियो । नेपाल सरकारले पनि यो नारालाई सार्थक बनाउन बालबालिका, महिला, ज्येष्ठ नागरिक, युवाहरुको उमेर समूह अनुसार को कहाँ छन् भन्ने खोजी गरेर तथ्यांक राखी सोही अनुरुप स्वास्थ्य सेवा प्रवाहको योजना बनाउने सोच अघि सार्नु सराहनीय विषय हो ।

नेपालको जनगणना २०६८ को भन्दा २०७८ को तथ्यांकमा जनसंख्या वृद्धि दरमा कमी आउनुले राज्यलाई झस्काएको छ । सेवा–सुविधाका साथै समयानुकूलको स्वास्थ्य सेवा ग्रामीण भेगमा कमजोर हुँदै जाँदा नेपालीहरुको बसाइँ सराइ शहर केन्द्रित भएको र शहरमा जनसंख्या बढेसँगै रोगव्याधि पनि बढेकाले स्वास्थ्य सेवा प्रवाहमा असहजता हुँदै गएको छ । ग्रामीण भेगमा स्वास्थ्य सेवा कसरी प्रवाह गर्ने भन्ने विषयमा चिन्तित हुनुले दिवसलाई दिवसमै मात्र सीमित नहुने अपेक्षा गरौं ।

दिवसका अवसरमा देशव्यापीरुपमा जनसंख्या किन घट्यो र कहाँ गए भन्ने विषयमा नै नेपालले चर्चा ग¥यो । चर्चामा नेपालमा जनसंख्या घट्नुका साथै लैंगिक विभेद बढेर जानु प्रमुख चिन्ताको विषय भएको बुलन्द पारियो । गाउँमा परिवारको साइज घट्ने र घरधुरी संख्या बढ्ने अनि शहरमा जनसंख्यासँगै नयाँ–नयाँ रोग बढ्दै गएको विषयको उठान गरियो । यो परिस्थितका बारेमा निकै गम्भीर भएर नसोच्ने हो भने गाउँमा ज्येष्ठ नागरिक, नसर्ने रोगको सिकार भएका व्यक्तिहरु बढ्दै जाने र राज्यले उपचार गर्नै नसक्ने अवस्था आउन सक्ने विषयको उठान भएको छ । यस्ता विषयमा सरकारले समयमै ध्यान दिएर, स्थानीय निकायमा नै स्वरोजगारको व्यवस्था गरेर, युवाशक्तिलाई विदेश पलायनबाट रोक लगाई स्वदेशमै पनि ग्रामीण भेग छोड्नु नपर्ने वातावरण बनाउन झकझक्याएको प्रस्ट हुन्छ । यतातर्फ योजना बनाउन र लागू गर्न सरकारको ध्यान पुगोस् ।

देशको भौगोलिक अवस्था अनुसार स्वास्थ्य, शिक्षा, रोजगारी, उद्योग व्यवसाय, पर्यटन, कृषि, बजार, स्वास्थ्य संस्था, दक्ष स्वास्थ्यकर्मी, उपकरण, उपचारजस्ता मानवजीवनको अपरिहार्य विषयमा सरकारको ध्यान पुगोस् । कुनै पनि नेपाली घरपरिवारबाट टाढा हुन चाहन्नन् । यो विषयलाई गम्भीररुपमा सरकारले लेओस् । हरेक दिवस आउने दिनमा चर्चा गर्ने र भोलिपल्टदेखि बिर्सिने नगरौं । ऊर्जाशील स्वस्थ युवालाई स्वदेशको विकासमा लगाउनुका साथै नेपालीहरुको रोग, भोक र शोकमा पनि कमी ल्याऔं । स्वस्थ नागरिक हुनु नै देश विकासको द्योतक हो ।

प्रतिक्रिया दिनुहोस्