राजारानीको बगैंचा, हेलिकोप्टर र हवाईजहाज हस्तान्तरण हुँदै



काठमाडौं । नारायहिटी दरबार संग्रहालयले आजबाट रानी ऐश्वर्याको निजी फूलबारी र राजपरिवारले प्रयोग गरेका हेलिकप्टर र हवाईजहाज सर्वसाधारणका लागि अवलोकन गर्न खुला गर्ने भएको छ । आज नेपाली सेनाले हवाईजहाज र हेलिकप्टर हस्तान्तरण गरेलगत्तै सबैका लागि अवलोकनका लागि खुला गर्न लागेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयअन्तर्गतको नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले आज सार्वजनिक गर्न लागेको सूचना अधिकारी पुरुषोत्तम थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आजबाट संग्रहालय अवलोकन गर्न आउनेले रानी ऐश्वर्याको निजी बगैंचा, हेलिकप्टर र हवाइजहाज देख्न आउनेछन् । रानी राजा वीरेन्द्रको निजी घर श्रीसदनसँगै खण्डहर भएको बगैंचालाई समितिले मर्मत गरेर अवलोकनको लागि खुला गर्न लागेको हो । सो बगैंचामा रानी ऐश्वर्याले विदेश भ्रमणको क्रममा संकलन गरेका र नेपालका विभिन्न जिल्लाबाट ल्याइएको गुलाब र अन्य फूलका विरुवा थिए । दरबार हत्यकाण्डपछि बन्द रहेको सो बगैंचा आजबाट खुला गर्न लागिएको हो –समितिका प्रमुख डा. सुरजसुरेश श्रेष्ठले नेपाल समाचारपत्रसँग भन्नुभयो ।

‘आजबाट बगैंचा खुला गरेपछि पहिलाकै अवस्थामा ल्याउन बिरुवा खोजी भइरहेको छ’–उहाँले भन्नुभयो । उहाँका अनुसार करिब २ रोपनी क्षेत्रफलमा रहेको सो बगैंचाको हेरचाह रानी ऐश्वर्या आफैंले गर्नुहुन्थ्यो । रानी ऐश्वर्याले बगैंचामा बिहान र बेलुकी बिरुवा हेरचाह गर्ने गर्नुभएको थियो । समितिले विभिन्न क्षेत्रबाट बिरुवा खरिद गरी बगैंचाको सौन्दर्यीकरण गर्ने भएको छ ।

त्यस्तै, नेपाली सेनाले हस्तान्तरण गर्ने हवाईजहाज र हेलिकप्टर संग्रहालयनजिकै बदामेचौरमा राख्ने भएको छ । संग्रहालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा नेपाली सेनाको सुरक्षामा रहेको हेकिकप्टर र हवाई जहाजलाई सडकमार्ग हुँदै नारायणहिटी ल्याएको थियो ।

समितिले विमानस्थलबाट २०७६ सालमा हेलिकप्टर र २०७७ सालमा हवाईजहाज ल्याएका जनाएको छ । हवाईजहाज ल्याउँदा मध्यरातमा विमानस्थलदेखि दरबारमार्गसम्मको बाटो रोकेको थियो । सञ्चालन गर्न नसकिने हेलिकप्टर र हवाईजहाज सर्वसाधारणको जानकारीको लागि संग्रहालयमा राख्न लागिएको हो । राजा वीरेन्द्रले सो हेलिकप्टर आफैंले चलाउने गर्नुभएको थियो । राजा वीरेन्द्रको कार्यकालयमा ल्याइएको दुई हवाई यातायात जिल्ला भ्रमणको क्रममा प्रयोग हुने गरेको थियो ।

आज संस्कृति मन्त्रालयका सचिव र नेपाली सेना हवाई अड्काका प्रमुखले हवाईजहाज र हेलिकप्टर हस्तान्तरण गर्ने कार्यक्रम छ । लगत्तै बगैंचा उद्घाटन गर्ने कार्यक्रम रहेको समितिले जनाएको छ । हाल संग्रहालयभित्र ३१ वटा कक्ष खुलिसकेका छन् । त्यसै गरी राजा त्रिभुवन र महेन्द्रले प्रयोग गरेका तीनवटा सवारी साधनसमेत प्रदर्शनीमा राख्ने तयारी भइरहेको छ ।

यसअघि पूर्वराजा स्वर्गीय वीरेन्द्र, दीपेन्द्र, पूर्वअधिराजकुमारी श्रुति, अधिराजकुमार निराजनले बच्चामा प्रयोग गरेका सबै सवारी साधन प्रदर्शनीमा राखिसकेको छ । विसं २०६५ फागुन १५ देखि नारायणहिटी दरबार संग्रहालयका रूपमा सर्वसाधारणका निम्ति पनि खुला गरेपछि संग्रहलयका सबै कक्ष र ऐतिहासिक स्थल अवलोकनका लागि खुला भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्