प्रसाईंसँग ३० करोड फिरौती माग्ने पक्राउ



काठमाडौं । चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अपहरणको धम्की दिएर ३० करोड रुपियाँ फिरौती माग्ने एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

असार १३ गते खोटाङ राहवेसी घर भई काठमाडांै चुनदेवी बस्दै आएका रमेशकुमार गुरुङले मेडिकल व्यवसायी प्रसाईंलाई फोन म्यासेजबाट पटक पटक मार्ने धम्की दिएर फिरौती रकम मागेका थिए ।

गुरुङले प्रवेश लामाको नामबाट फोन गरेर प्रसाईंलाई ‘सुरक्षित हुन चाहनुहुन्छ भने मैले भनेको रकम दिनुहोस्’ भनेर हत्या गनेसम्मको धम्की दिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको छ ।

व्यवसायी प्रसाईंले भनेजति रकम दिन नसक्ने भन्दै इन्कार गर्दै आउनुभएको थियो । फिरौती माग्ने गुरुङले भने तपार्इंको नाम हत्या गर्ने व्यक्तिको दोस्रो नम्बरमा रहेको र जतिखेर पनि हत्या हुन सक्ने भन्दै मानसिक तनाव दिँदै आएका थिए ।

फोन र एसएमएसबाट हैरान भएका प्रसार्इंले उक्त रकम दिन आफू तयार भएको भन्दै प्रहरीलाई खबर गरेका थिए । प्रसाईं प्रहरीसँगै अपहरणको धम्की दिने गुरुङलाई फिरौती रकम बुझाउन जानुभएको थियो ।

उक्त घटनाको बारेमा प्रहरीलाई जानकारी गराए राम्रो नहुने धम्की दिएका गुरुङलाई प्रसाईंले फिरौती रकम लिन आउन आग्रह गरेपछि गुरुङ फिरौती रकम लिन आएको अवस्थामा पक्राउ गरिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिनुभयो ।

लामो वार्तालापपछि ५ करोडमा कुरा छिनेका फिरौती माग्ने गुरुङले सोमबार बिहान ७ बजेदेखि ८ बजेको बीचमा महाराजगन्जस्थित मलेसियाको भिसा सेन्टर अगाडि भेट्ने तय भएको थियो ।

सोहीअनुरूप गुरुङ फिरौतीवापतको रकम लिन एउटा गाडीमा आएको बेला पक्राउ गर्न सीआईबी सफल भएको थियो । सीआईबीका प्रहरी नायव उपरीक्षक रुगम कुँवरको नेतृत्वको टोलीले गुरुङलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका गुरुङलाई शरीर बन्धक तथा अपहरण मुद्दामा कारबाही अगाडि बढाइने एसपी थापाले जानकारी दिनुभयो । ब्युरोले गुरुङलाई थप कारबाहीका लागि प्रहरी वृत्त महाराजगन्ज पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्