हेलिकोप्टर दुर्घटनामा ५ विदेशीसहित ६ जनाको मृत्यु

को हुन् पाइलट गुरुङ ?



काठमाडौं । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको कलसाइन ९ एन–एएमभी हेलिकोप्टर दुर्घटनामा परी सोमबार ५ विदेशीसहित ६ जनाको मृत्यु भएको छ । लुक्ला विमानस्थलबाट काठमाडौंका लागि उडेको उक्त हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके–५ लामजुरा आसपासमा दुर्घटना भएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार सोमबार बेलुका नै छ जनाकै शवलाई पोस्टमार्टमका लागि काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको छ । पहिलो हेलिकोप्टरमा ४ र दोस्रोमा २ शव ल्याइएको थियो ।

५ जना मेक्सिकन नागरिक लिएर उडेको उक्त हेलिकोप्टर उडेको १२ मिनेटपछि सम्पर्कविहीन भएको थियो । सम्पर्कविहीन भएको केही घन्टापछि खोज तथा उद्धारकर्ताहरूले लामजुराको भकान्जेनजिकै दुर्घटनाग्रस्त अवस्थामा उक्त हेलिकोप्टर फेला पारेका थिए ।

उक्त दुर्घटनापछि उद्धारका लागि गएको दुईवटा हेलिकोप्टर दुर्घटनास्थल नजिकैको भकान्जेमा बसेका थिए । मौसम प्रतिकूल भएका कारण घटनास्थलबाट सबै शव संकलन भए पनि उद्धारका लागि हेलिकोप्टरसम्म शव ल्याउन कठिनाई भएका कारण शवलाई काठमाडौं ल्याउन ढिला भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ ।

उक्त दुर्घनामा परी हेलिकोप्टरका पाइलट चेतबहादुर गुरुङ (सीबी), मेक्सिकन नागरिकहरू फर्नान्डो सिफुग्नेट्स, रिनकन इस्माइल, एबरिका गोन्जालेक्स, ओलासियो गोन्जालेज र मारिया होजे सिफुन्तेसको ज्यान गएको छ । मेक्सिकन नागरिकहरू मेक्सिकोबाट भारतको नयाँदिल्ली हँुदै आइतबार काठमाडौं आएका थिए ।

सोमबार बिहान काठमाडौंबाट सगरमाथाको हवाई यात्रा गरेर लुक्ला आएको र लुक्लाबाट काठमाडौं आउने क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा परेको थियो । खोज तथा उद्धारकर्ताले दुर्घटनास्थलबाट सबै शव संकलन गरेको भए पनि एक जनाको शव भने चिन्न नसक्ने अवस्थामा रहेको पनि सोलुखुम्बु प्रहरीले जानकारी दिएको छ ।

छानबिन समिति गठन हुने

मनाङ एयरको हेलिकोप्टर दुर्घटनाको बारेमा अध्ययन गर्न छानबिन समिति गठन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले छानबिन समिति बनाउने जानकारी दिनुभएको छ ।
फोटो

को हुन् पाइलट गुरुङ ?

हेलिकोप्टर दुर्घटनामा निधन भएका पाइलट चेतबहादुर गुरुङ (सीबी) लामो समयदेखि हवाई उड्डयन क्षेत्रमा संलग्न रहँदै आउनुभएको थियो । उहाँ चार वर्षअघि सोलुको लुक्लामा भएको समिट एयरको जहाज दुर्घटनामा परेर बाँच्न सफल हुनुभएको थियो ।

२०७६ वैशाख १ गते समिट एयरको जहाज मनाङ र श्री एयरको हेलिकोप्टरमा ठोक्किन पुगेको थियो । हेलिप्याडमा हेलिकोप्टर उडाउन तयारीमा रहेका गुरुङ घाइते भएर बाँच्न सफल हुनुभएको थियो ।

लामो समय उपचार गराएर पुनः सेवामा फर्कनुभएका गुरुङको असार २६ गते सोमबार उडानकै क्रममा निधन भएको छ । अनुभवी पालटको रूपमा चिनिनुभएका गुरुङको निधनले मुलुकले एक कुशल पाइलट गुमाएको उड्डयन क्षेत्रमा काम गर्नेहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्