पाँच दिनभित्र ३५ हजार बिरुवा रोप्दै महानगर



–दैनिक ३ सय वृक्षरोपण
–झन्डै २ सय गमला
–सबै सडक दायाँबायाँ रूख रोपिने
–हरियाली प्रवद्र्धन र उद्यान निर्माण गर्न ५० करोड

काठमाडौं । काठमाडौं महानगरपालिकाले असार महिनाभित्र करिब ९० हजार वृक्षरोपण गर्ने भएको छ । जेठबाट ‘हरियाली महानगर’ शुुरू गरेको महानगरले दैनिक ३ सय विरुवा रोपेको छ । हिजो सोमबारसम्म ३० हजार वृक्षरोपण गरेर महानगरले एक महिनामा ३० हजार वृक्षरोपण गरेको नयाँ रेकर्ड बनाएको छ ।

कामपा उद्यान तथा हरियाली आयोजना प्रमुख नवराज थापाले हालसम्म ३० हजार वृक्षरोपण गरिसकेको र साउनभित्र ४० हजार बिरुवा रोपिसक्ने जानकारी दिनुभयो । कामपाले पहिलो चरणमा सधंै हरियो भइरहने धुपी, समी र कपुरको बिरुवाका साथै असारे फूलको विरुवा रोपेको छ । राम्रोभन्दा पनि सधैं हरियो भइराख्ने भएकोले तीन प्रकारका बिरुपा रोप्न शुरू गरेको जानकारी दिँदै आयोजना प्रमुख थापाले भन्नुभयो– ‘साउन लागेपछि विभिन्न प्रकारका मौसमी फूलका बिरुवा रोप्नेछौं ।’

महानगरले सुन्दर महानगर परिकल्पना साकार पार्न गमला राख्ने अभियान शुरू गरेको छ । कामपा आफैंले बिजुलीबजारको आर्क ब्रिजमा गमला राखेको छ । वडा कार्यालयले आयोजनाको सिफारिसमा विभिन्न स्थानमा गमला राख्न शुरू गरेको छ । कामपाले रानीपोखरी, खुलामञ्च, बालाजु र रत्नपार्क वरिपरि वृक्षरोपण गरेको छ ।

यो वर्ष १ लाख वृक्षरोपण गर्ने योजना छ । योजनाअनुसार कामपाले सबै वडाका सडक दायाँबायाँ वृक्षरोपण गर्न लागेको हो । कामपाले पार्किङ खाली गराइएका सबै सडकको दायाँबायाँ वृक्षारोपण गरेको हो । हालसम्म वडा नम्बर ६ स्थित चुच्चेपाटी, पुतलीसडक, हाडीगाउँ, ३ नम्बर वडा कार्यालय र ४ नम्बर वडाको सडकमा वृक्षरोपण समपन्न गरेको छ ।

महानगरले कोटेश्वरदेखि तीनकुने पेट्रोलपम्प, त्रिपुरेश्वरदेखि कालीमाटीलगायतका क्षेत्रका सडक र खोला किनार र खाली क्षेत्रमा वृक्षरोपण गरेको हो । कामपाले ३५ वटै वडालाई वृक्षरोपण गर्नको लागि खुलाक्षेत्र, पार्क र बगैंचा पहिचान गर्न पत्राचार गरेको छ । कामपाले हरियाली प्रवद्र्धन र उद्यान निर्माण शीर्षकमा आगामी आर्थिक वर्षमा ५० करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।

वडा कार्यालयले गरेको सिफारिसको आधारमा कामपाको टोलीले वृक्षरोपण गर्नेछ । महानगरले धोवीखोला, इच्छुमति, रुद्रमती, विष्णुदेवी, वागमतीलगायत उपत्यकाभित्र भएर बग्ने खोला किनारामा वृक्षरोपण गर्ने जनाएको छ । नदी किनार र पार्कबाहेक भीआईपी क्षेत्र, सडकलगायत स्थानमा समेत वृक्षरोपण गर्नेगरी कामपाले तयारी थालेको छ । विभागीय प्रमुख थापाले भन्नुभयो– ‘पृष्पविज्ञ र वैज्ञानिकले सिफारिस गरेको वृक्षरोपण गर्नेगरी तयारी भइरहेको छ ।’

विज्ञले उपत्यकामा धुपी, समी, कपुर, काब्रो, लप्सी, सिमल, पैयुँ, लेक पाङ्ग्रा, सिरिङ्गे, मिकुसी स्वाँ, कोइराला, तेजपत्ता, स्वामी, पिपल जस्ता बिरुवा सिफारिस गरेका छन् । यी बिरुवा स्थानीय हावापानीमा सजिलै हुर्कने तथा नेपाली जनजीवनसँग परिचित हुनुको साथै जैविक र वानस्पतिक विविधताको संरक्षणमा सघाउ पुग्ने भएकोले उपत्यकामा यी लगायतका विरुवा रोप्न सिफारिस गरेको हो ।

सहरी हरियालीका लागि धार्मिक मान्यता पाएका फूल फुल्ने, फल फल्ने र बास्ना आउने बिरुवा रोपेर हरियाली बचाउने, वानस्पतिक र जैविक विविधता जोगाउन वृक्षरोपण शुरू गरिएको मेयर बालेन्द्र साहको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्