सुन भरिया बने श्रमिक नेपाली, प्रहरीद्वारा अवैध सुन भित्र्याउने गिरोहको पर्दाफास

अवैध सुन ल्याउने १२ जना सार्वजनिक



काठमाडौं । वैदेशिक रोजगारीका लागि खाडीका विभिन्न मुलुकमा पुगेका नेपाली श्रमिकलाई प्रयोग गरी अवैध रूपमा नेपालमा सुन भित्र्याउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

लामो समयदेखि कतार, दुबई, संयुक्त अरब इमिरेट्सलगायतका मुलुकमा कामको खोजीमा गएका नेपाली कामदारलाई प्रयोग गरेर सो गिरोहले नेपालमा सुन पठाउने गरेको र उक्त सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर आफ्ना सुराकीमार्फत संकलन गरेर नेपाल तथा भारतका विभिन्न शहरमा बिक्रीवितरण गर्ने गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

कामको खोजीमा खाडी गएका श्रमिकहरूलाई आर्थिक प्रलोभनमा पारेर वैदेशिक रोजगारीमा गएकाहरूले ल्याउन पाउने सुनको सुविधालाई प्रयोग गरेर सो गिरोहले सुन तस्करी गर्दै आएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मनोज केसीले जानकारी दिनुभयो ।

लामो समयदेखि नेपालमा अवैध रूपमा सुनको तस्करी भइरहेको भन्ने गुनासो बढेपछि महाशाखाले तस्करीमा संलग्न रहेकाहरूको खोजीलाई तीव्र बनाएको थियो । नेपाल तथा खाडी मुलुकमा आफ्ना एजेन्टहरूबाट नेपाल फर्कने कामदारलाई सुविधामा ल्याउन पाउने सुन दिएर नेपाल पठाउने र नेपालमा आफ्ना एजेन्टमार्फत सुन संकलन गरेर सो गिरोहले तस्करी गर्दै आएको थियो ।

महाशाखाले सुन तस्करीको एजेन्टको काम गर्ने र भरियाका रूपमा काम गर्नेलाई समेत पक्राउ गरेको जानकारी दिएको छ । सरकारले रोजगारीबाट फर्केका प्रत्येक नेपाली श्रमिकलाई ५० ग्राम सुन ल्याउँदा भन्सार नलाग्ने घोषणा गरेपछि सो गिरोहले ५० ग्राम सुन काठमाडौंसम्म ल्याइदिने कामदारलाई ५ हजार रुपियाँ दिने गरेको पनि पत्ता लागेको एसएसपी केसीले जानकारी दिनुभयो ।

महाशाखाले उक्त तस्करी गर्ने काममा संलग्न रहेको अभियोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर रहेको होटल हिमालयन स्पायरका सञ्चालकलाई पक्राउ गरेको छ । उनीहरूले कतार तथा खाडीका अन्य मुलुकबाट नेपाल आउने नेपालीलाई उक्त सुन बोकाएर ल्याउने काममा उनीहरू सक्रिय रहेको पनि प्रहरीले जानकारी दिएको छ ।

हरेक उडानबाट नेपाल आउने नेपालीमध्ये २० देखि २५ जनालाई उक्त परिमाणको सुन बोकाएर नेपाल ल्याउने र विमानस्थलबाट बाहिरबाट संकलन गरी बेच्ने गरेको पाइएको पनि महाशाखाले जनाएको छ ।

आइतबार नेपाल एयरलाइन्स र कतार एयरलाइन्सबाट आएका ५ जना नेपाली कामदारलाई विमानस्थलबाहिरबाट सुनसहित नियन्त्रणमा लिएपछि उनीहरूको पोल खुलेको पनि एसएसपी केसीले जानकारी दिनुभयो ।

पक्राउ परेका ५ जनाको साथबाट जनही ५८ ग्राम बराबरको सिक्री प्रहरीले बरामद गरेको थियो । उक्त सुन पनि सो होटल सञ्चालकलाई दिन लागेको अवस्थामा उनीहरू पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी अनुसन्धानमा कतारमा रहेको गिरोहले भरिया बनेर नेपाल आउन लागेका कामदारको तस्विर हिमालयन स्पायरका सञ्चालक दम्पती सप्तरीको बलानबिहुल गाउँपालिका–२ का विनोदकुमार शाह र उनकी श्रीमती सञ्जुकुमारी साहको मोबाइलमा पठाउने गरेको रहस्यसमेत प्रहरीले पत्ता लगाएको छ । फोटो पठाएको आधारमा साह दम्पतीले सुन ल्याउने नेपालीको पहिचान गर्ने गरेको पनि पत्ता लागेको प्रहरीले जानकारी दिएको छ ।

महाशाखाका अनुसार होटल सञ्चालक साहको बैंक खातामा मात्र ४१ करोड ५४ लाख ७६ हजार ८ सय ६९ रुपियाँ बराबरको कारोबार भएको पाइएको जानकारी दिएको छ । श्रीमती सञ्जुको बैंक खातामा २ करोड १० लाख २७ हजार ४ सय ९७ रुपियाँ कारोबार भएको देखिएको पनि प्रहरीले जानकारी दिएको छ । प्रहरीले साहको पाँच वर्षको अवधिमा बैंकमार्फत उक्त कारोबार भएको जनाएको छ ।

महाशाखाका अनुसार साह दम्पतीले काठमाडौंमा बिक्री भएको सुनको पैसा शिवसुन्दर राउतको खातामा पठाउने गरेको र बाँकी सुन राउतले भनेको व्यक्तिलाई पठाउने गरेको पक्राउ परेका साह दम्पतीले प्रहरीलाई जानकारी दिएका थिए । सोही आधारमा प्रहरीले सिरहा लाहानका राउतलाई पनि पक्राउ गरेको छ ।

राउतले रितेश जनरल स्टोर्स नामक कम्पनी सञ्चालन गर्दै आएका छन् । उक्त कम्पनीको खातामा १ अर्ब ८१ करोड ५७ लाख १९ हजार ५७ रुपियाँ र राउतको व्यक्तिगत खातामा १२ करोड ११ लाख ४२ हजार ४ सय ८ रुपियाँ कारोबार भएको देखिएको महाशाखाले जानकारी दिएको छ ।

अवैध सुन ल्याउने १२ जना सार्वजनिक

उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले विदेशबाट अवैध सुन ल्याउने कार्यमा संलग्न १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । कतारबाट वैदेशिक रोजगारीबाट फर्केका ५ जनासहित १२ जनालाई आज सार्वजनिक गरिएको हो ।

वैदेशिक रोजगारीमा रहेकाहरूले सिरहाको रितेश जनरल स्टोरका सञ्चालक शिवसुन्दर राउतको अवैध सुन बोकेर ल्याएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक मनोजकमार केसीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा धनुषाको मिथिला विहारी नगरपालिका–५ का रामदेव महरा, सिरहाको सिरहा नगरपालिका–१७ का धर्मदेव यादव र कपिलवस्तुको शुद्धोधन नगरपालिका–६ का धर्मप्रसाद मुराउ रहेका छन् ।

यसै गरी धनुषाको जनकपुरधाम–५ का नरेश पञ्जियार, बाँकेको राप्ती सोनारी–५ का लालबहादुर वली, सप्तरीको बलामबिहु–२ का किसुनलाल साहु तेली, सोही नगरपालिका–१ का विनोदकुमार साह र सोही नगरपालिका–६ का आशाराम यादवलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

यसै गरी सुन संकलन गर्ने क्रममा पक्राउ पर्नेमा विनोदसहित सञ्जुकुमारी साह, दुर्गाप्रसाद यादव र देवानन्द शाह रहेका छन् । प्रहरीले सिरहाका मोहनकुमार यादवलाई पनि पक्राउ गरेको छ । उनले शिवसुन्दर राउतको खातामा रकम हाल्ने र झिक्ने गरेको खुलेको जनाइएको छ ।

रितेश जनरल स्टोरका सञ्चालक शिवसुन्दर राउतलाई सिरहाबाटै र सिनामंगलमा बी हिमालयन स्पायर होटल सञ्चालन गर्दै आएका विनोदकुमार साहलाई पनि प्रहरीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्