उच्च ओहदामा रहेका व्यक्तिहरुले बोल्दा होस पु¥याउन सकेनन् भने कस्तो परिणाम भोग्नुपर्दछ भन्ने उदाहरण बन्नुभएको छ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । देशको नेतृत्व गर्ने व्यक्तिले दिने अभिव्यक्तिले व्यक्तिलाई त असर गर्छ नै, त्यसले मुलुकमा पार्ने असरको बारेमा बोल्नुअघि सोच्ने बेला आएको छ । जनताबाट निर्वाचित प्रधानमन्त्रीले आफूलाई प्रधानमन्त्री बनाउन कुनै व्यक्तिले छिमेकी मुलुक धाएको कुरालाई सार्वजनिक मञ्चबाट अभिव्यक्त गर्नुले देशको सार्वभौमिकतामाथि नै प्रश्न उठेको छ । के नेपालमा प्रधानमन्त्री बन्न भारतको ग्रिन सिग्नल लिनुपर्ने हो ? भन्ने प्रश्न उठेको छ । मुलुकका आम समस्या समाधान गर्न लाग्नुपर्ने प्रधानमन्त्रीले आफूलाई कसले प्रधानमन्त्री बनायो भनेर सार्वजनिक अभिव्यक्ति दिनुले उहाँको कार्य दक्षतामाथि नै प्रश्न उठेको छ । उहाँले त्यस्ता कुरा सार्वजनिक गर्नुअघि त्यसले मुलुकलाई कस्तो असर पार्ला भनेर सोच्नुपर्ने होइन र ?
आम जनतामा परम्परावादी राजनीतिक दलप्रति आक्रोश पैदा भइरहेको बेला प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले थप जनआक्रोश पैदा भएको छ । नेताहरुकै कारण लामो संघर्षपछि आएको गणतन्त्र धरापमा पर्ने अवस्थामा पुगेको छ । भलै प्रधानमन्त्री प्रचण्डलाई भारतले नै प्रधानमन्त्री बनाएको भए पनि त्यो मनमा नै राख्नुपर्ने थियो । यस्ता कतिपय विषय हुन्छन्, त्यसलाई सार्वजनिक गर्न मिल्दैन । तर हाम्रा प्रधानमन्त्रीले भावनामा बगेर गरेको उक्त कुराकानीले मुलुकको सार्वभौमिकतामाथि धावा बोल्छ कि बोल्दैन ?
कुनै पनि नागरिकका लागि आफ्ना देशका नेता सर्वप्रिय बन्नुपर्ने हो तर नेपालमा भने त्यस्तो पाइँदैन । आफ्ना स्वार्थबाहेक मुलुकको स्वार्थ नहेर्ने नेपाली नेतामाथि लगाम लगाउने बेला आइसकेको छ । कुनै एक नेताको राजनीतिक जिन्दगी बिग्रिए त्यसले मुलुकलाई खासै असर पर्दैन तर नेताका अभिव्यक्तिका कारण मुलुकको सार्वभौमसत्तामाथि असर पर्नुहुँदैन । यो कुनै पनि मुलुकका जनताका लागि सह्य हुँदैन ।
प्रधानमन्त्री प्रचण्डको पछिल्लो अभिव्यक्तिलाई विश्लेषण गर्ने हो भने मुलुक बनाउनभन्दा पनि बिगार्न उद्यत् हुनुले उहाँ मुलुकका लागि दुर्भाग्य साबित हुुँदै गएको हो कि भन्ने आभास हुन थालेको छ । उहाँले मुलुकमा कस्तो मानक स्थापना गर्न खोज्नुभएको हो भन्ने आम प्रश्न शुरु भएको छ । उहाँले जुन कुरा गर्नुभएको छ त्यसलाई कदापि स्वीकार गर्न सकिँदैन । अहिले उहाँले बोलेका कुरालाई ढाकछोप गर्नेभन्दा पनि उहाँले नै सार्वजनिकरुपमा माफी मागेर जनताबाट अनुमोदित हुनु नै उत्तम हुनेछ । जनतामा नेताप्रतिको घृणालाई कमी ल्याउने हो भने प्रधानमन्त्रीबाट ‘मैले मुलुकको हित विपरीत बोलेका कुराप्रति आत्मालोचना गर्न चाहन्छु’ भन्ने अभिव्यक्ति आए जनताले एकपटकलाई माफी दिनेछन् । त्यसतर्फ प्रधानमन्त्री र उहाँको पार्टीको ध्यान जान जरुरी देखिन्छ ।











प्रतिक्रिया