अल्पायुमै अस्ताए रबिन



ख्यातिप्राप्त रक गायक तथा अभिनेता रबिन तामाङको मंगलबार राति अचानक अस्ताए।

६० वर्षका उनले बूढानीलकण्ठ चिसेनीस्थित निवासमा मंगलबार राति अन्तिम श्वास लिए हुन्। हृदयघातका कारण उनको असामयिक निधन भएपछि सामाजिक सञ्जालमा मंगलबार रातिदेखि नै उनको निधनको खबर फैलिए पनि पुष्टि हुन सकेको थिएन। रबिनको निधनको खबर उनकै फेसबुक अकाउन्टमा पोस्ट भएपछि उनको सो अकाउन्ट ह्याक भएको अनुमान गरिएको थियो। तर, पछि उनको फेसबुक अकाउन्टमा उनकै परिवारको सदस्यले सो खबर पोस्ट गरेको पुष्टि भएको थियो।

घरमा एक्लै रहेका उनलाई गेट खोल्नका लागि श्रीमतीले पटक पटक फोन गर्दा समेत नउठेपछि उनकी दिदी भगवती तामाङलाई खबर गरेकी थिइन्। भगवतीले गरेको कलसमेत नउठेपछि उनकी दिदीले प्रहरीमा खबर गरेकी थिइन्। प्रहरी प्रभाग बुढानीलकण्ठको टोलीले कोठाको ढोका फुटाएर हेर्दा उनी मृत भेटिएका थिए। शंकास्पद केही नभेटिएपछि उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो।

नेपालमा रक गीतलाई स्थापित गर्ने उनले रक गीत संगीतमा इतिहास रचेका थिए। ब्रिटिस सेनामा सक्रिय परिवारको कान्छो सन्तान रहेका रविन सिंगापुरमा जन्मिएका थिए भने अध्ययनको क्रममा हङकङ, बेलायत, क्यानडालगायत विभिन्न देश पुगेका उनले टोरन्टो युनिर्ससिटीबाट मेकानिकल इन्जिनियरिङमा स्नातकोत्तर गरेका थिए। अध्ययनपछि केही समय इन्जिनियरिङ पेसामा आबद्ध भएका उनी सानैदेखि संगीतमा रुचि राख्ने भएकाले सो पेशामा रमाउन सकेनन्।

अमेरिकी गायक तथा संगीतकार जिम्मी हेन्ड्रिक्स र रक ब्यान्ड डिप पर्पलबाट प्रभावित उनी क्यानडामा रेस्टुरेन्ट व्यवसायका साथमा सांगीतिक ब्यान्ड खोलेर संगीतमा लागेका थिए। सन् १९८० मा टोरन्टोको हम्बर कलेजमा पढिरहेको समयमा उनले एक तामाङ ब्यान्ड स्थापना गरेर विभिन्न स्थानमा आप्mनो प्रस्तुति दिएका थिए। उनले नेपालको इतिहास जान्ने र आफ्नो देशलाई महसुस गर्ने कौतुहलताले जीवनको ३४औं वसन्तमा नेपाल टेक्ने निर्णय गरेका थिए। सन् १९९६ मा नेपाल आएका रबिनले एक फ्रेन्च युवतीसँग विवाह गरेका थिए। त्यति बेला भर्खरै १९७४ एडिजस्ता केही रक ब्यान्डको स्थापना भएको थियो। पोखरमा लुजा नामक ब्यान्डको प्रस्तुतिबाट प्रभावित भएका उनले सोही ब्यान्डमा आबद्ध भएर रबिन एन्ड लुजा नामक ब्यान्डको स्थापना गरेका थिए। बार्ड रक जनरालाई पछ्याउने उनी काठमाडौंको ठमेलमा रेस्टुरेन्ट खोलेर लाइभ म्युजिकमा आबद्ध भएका थिए।

५० को दशकमा नेपाली गीत संगीतमा भएको उनको आगमनलाई तन्नेरी पुस्ताले निकै रुचायो। उनले आफ्नो ब्यान्डका साथमा २०५७ सालमा पहिलो एलबम नेपाल ल्याएका थिए। जुन युवापुस्तामाझ अत्यधिक हिट भएको थियो। त्यसपछिका दिनमा उनले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन, अत्यधिक रुपमा कन्सर्टमा व्यस्त हुन थाले। उनी गीत संगीतकै सिलसिलामा विभिन्न देशका टुरमा जान्थे।

स्थापनाको पाँच वर्षपश्चात् उक्त ब्यान्ड फुटेपछि उनले रबिन एन्ड द न्यु रिभोल्युसन ब्यान्डको स्थापना गरेका थिए। उनका भुलमा भुल्यो, चिसो चिसो हावामा, नेपाल, माइला भाइ, एकता, दम मारो दम, मेरो माया, केटाकेटीलगायत गीत युवापुस्तमाझ लोकप्रिय छ। उनले जति माया लाए पनि, विरताको चिनोजस्ता गीतलाई रक भर्सनमा गाएका थिए। नेपालमा रक संस्कृति स्थापना गर्न संघर्ष गरेका उनको फ्यानको जमात निकै ठूलो छ। भिन्न शैलीको वजनदार स्वर र आवाज उनको विशेषता थियो।

रविन रक गायनसँगै पछिल्लो समय फिल्ममा पनि छाउँदै आएका थिए। निर्माता निर्देशकले प्रस्ताव गरेपछि उनी फिल्ममा प्रवेश गरेका थिए। रबिनले पहिलोपटक फिल्म छड्केमा अभिनय गरेका थिए। त्यसपछि जय परशुराम, नाका, वान वे, मुखौटा, दालभात तरकारी, चिसो एस्ट्रेजस्ता फिल्ममा अभिनय गरेका थिए। उनले पछिल्लोपटक फिल्म जिरो पोइन्ट छड्केमा अभिनय गरेका थिए। उनी खल भूमिकामा निकै जमेका थिए भने कमेडी भिलेनमा पनि उत्तिकै लोकप्रिय थिए। नेपाली रक गायनमै सर्वाधिक रुचाइएको उनको निधनसँगै नेपाली रक सांगीतिक क्ष्ँेत्रमा एक युगको अन्त्य भएको छ।

प्रतिक्रिया दिनुहोस्