२ वर्षको डि सिने अवार्ड एकसाथ प्रदान



छायाँ छवि क्रियसनको आयोजनामा डि सिने अवार्डको १३औं र चौधौं संस्करण सोमबार राजानीमा सम्पन्न भएको छ।

कोभिड १९ का कारण रोकिएको दुई वर्षको अवार्ड कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा आयोजित कार्यक्रममा एकैसाथ प्रदान गरिएको हो। उत्कृष्ट फिल्म निर्माणका लागि फिल्मकर्मीलाई निरन्तर प्रोत्साहित गर्नुपर्छ भन्ने मान्यताअनुरुप यसलाई निरन्तरता दिइएको अवार्ड अध्यक्ष शान्तिप्रियले जानकारी गराए।

समारोहमा निर्माता तथा अभिनेता अर्जुन श्रेष्ठ र अभिनेत्री, निर्मात्री तथा निर्देशक दीपाश्री निरौलालाई छायाँ छवि रजत सम्मानबाट सम्मानित गरियो। त्यसैगरी, फिल्म पत्रकार कुवेर गिरीलाई नगदसहित छायाँ छवि फिल्म पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। समारोहमा १३औं संस्करणअन्तर्गत २०७७ सालमा प्रदर्शनमा आएका सात फिल्मबाट विभिन्न पाँच विधामा अवार्ड प्रदान गरिएको थियो। डि सिने अवार्ड २०७७ अन्र्तगत सूर्य बोहोराद्वारा निर्देशित फिल्म श्रीले सर्वोत्कृष्ट फिल्मको अवार्ड पाएको छ भने हिरो रिटन्र्सबाट सविन श्रेष्ठले सर्वोत्कृष्ट अभिनेता, लक्ष्मी पूजाबाट जाहन्वी बस्नेत अभिनेत्री, गुड फ्रेन्डबाट अजय स्याङताङ नृत्य निर्देशक र हिरो रिटन्र्सबाट रोशन श्रेष्ठले सह–अभिनेताको अवार्ड प्राप्त गरेका छन्। समारोहमा कोभिड १९ को विषम परिस्थितिमा पनि फिल्म प्रदर्शन गरेर फिल्म क्षेत्रलाई चलायमान गराएको भन्दै उक्त वर्ष प्रदर्शनमा आएका ७ वटै फिल्मलाई कदरपत्र समेत प्रदान गरिएको छ।

त्यसैगरी, चौधौं संस्करणको डि सिने अवार्ड २०७८ अन्तर्गत १३ विधामा अवार्ड प्रदान गरिएको छ। २०७८ को अवार्डमा फिल्म म यस्तो गीत गाउछुले सर्वोत्कृष्ट फिल्मसहित ६ बिधामा अवार्ड प्राप्त गरेको छ। सोही फिल्मबाट सुदर्शन थापाले निर्देशक, पल शाहले अभिनेता, पूजा शर्माले अभिनेत्री, बनिष शाह र मिलन श्रेष्ठले सम्पादक तथा अर्जुन पोखरेलले संगीतकारको अवार्ड प्राप्त गरेका छन्। त्यसैगरी, फिल्म चिसो एस्ट्रेबाट दीन्स पाल्पालीले लेखक, हेल्लो जिन्दगीबाट सम्राट बस्नेतले द्वन्द्व निर्देशक, आकाशे खेतीबाट रामजी लामिछानेले नृत्य निर्देशक, लप्पन छप्पन–२ बाट पुरुषोत्तम प्रधानले छायाँकार, हेल्लो जिन्दगीबाट राजराज शिवाकोटीले गायक र निर्देशक सूर्य बोहराले जुरी अवार्ड प्राप्त गरेका छन्।

समारोहमा कलाका विभिन्न माध्यमबाट नेपाली फिल्म, गीत संगीत, कला तथा साहित्यका क्षेत्रमा योगदान पुर्याएका कलाकर्मीलाई सम्मान गरिएको छ। कार्यक्रममा अभिनेता तथा मोडल दिनेश केसी, फिल्म निर्देशक चेतनाथ दंगाल, समुन्द्र भद्म, अभिनेत्री सानिया खान, प्राविधिक प्रकाश मिश्र, मोडल रुपा राना, निर्माता तथा निर्देशक सन्तोष सुवेदी, गायिका मञ्जु थापा र गीतकार किरण केसी क्रोधीलाई छायाँ छवि सम्मानबाट सम्मानित गरिएको हो।

कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक प्रस्तुति पनि प्रस्तुत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्