ग्लाडिएटर २ को सुटिङ सेटमा विष्फोट



लसएन्जल्स ।

मोरक्कोमा छायांकनरत हलिउड फिल्म ‘ग्लाडिएटर २’ को सुटिङ सेटमा विष्फोट हुँदा धेरैको संख्यामा क्रु सदस्य घाइते भएका छन् ।

फिल्म प्रोडक्सन कम्पनी पारामाउन्ट पिक्चरले भने पूर्व योजना अनुरुप स्टन्ट सिक्वेन्सको सुटिङ भइरहँदा ‘कम जोखिमपूर्ण दुर्घटना भएको’ दाबी गरेको छ ।

कम्पनीले घाइतेहरुको अवस्था स्थिर रहेकोले उनीहरुको उपचार जारी राखेको जनाएको छ । साताको सुरुमा द सन पत्रिकाले सुटिङ सेटमा विष्फोट भएको र घाइते ६ जनालाई अस्पताल भर्ना गरिएको जनाएको थियो ।

‘यो डरलाग्दो थियो । आगोको ठूलो गोला उड्यो र त्यो गोलामा क्रु सदस्यहरु परे । यतिका वर्षको फिल्मी अनुभवमा मैले त्यस्तो डरलाग्दो दृश्य कहिल्यै देखेको थिइनँ’, क्रुका एक सदस्यको भनाई उल्लेख गर्दै पत्रिकाले लेखेको थियो ।

कम्पनीका प्रवक्ताले विष्फोट लगत्तै त्यहाँ सुरक्षाको उपाय अपनाउँदै चिकित्सकको टोलीले स्वास्थ्य सेवा प्रदान गरेको जनाएका छन् ।

सन् २००० मा निर्माण भएको फिल्म ‘ग्लाडिएटर’को निर्देशन सर रिड्ले स्कटले गरेका थिए । फिल्मको सिक्वेल सन् २०२४ को नोभेम्बरमा रिलिज हुँदैछ । फिल्मको नाम हालसम्म टुंगो लागिसकेको छैन । सिक्वेलमा ‘नर्मल पिपुल’ अभिनेता पल मेस्कल, डेन्जल वासिङ्टन र कोनी निल्सनलगायतको अभिनय छ ।

मूल ‘ग्लाडिएटर’ले पाँच ओस्कार जित्दा प्रमुख अभिनेता रसेल कोवेले ‘बेस्ट एक्टर’को अवार्ड उचालेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्