नागार्जुन नगरपालिकामा बेथिति नै बेथिति : आफूखुशी नियमविपरीत ५२ लाख वितरण



काठमाडौं । काठमाडौ स्थित नागार्जुन नगरपालिकाले आफू खुशी विभिन्न संघसंस्थालाई हचुवाका आधारमा ५२ लाख रुपियाँ बढी वितरण गरेको पाइएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा स्थानीय तहको रकमबाट आर्थिक सहायता, चन्दा पुरस्कार एवं संस्थागत अनुदान वितरण गर्न पाउने व्यवस्था रहेको छैन तर पालिकाले आर्थिक वर्ष २०७८÷७९ मा सोविपरीत आपूm निकटका तीन संस्थालाई हचुवाका आधारमा ५२ लाख ४९ हजार ५ सय ३६ रुपियाँ वितरण गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

नागार्जुन नगरपालिकाले कुनै कार्यविधि र नियम नै नबनाई मानव सेवा आश्रम हेटौंडालाई १५ लाख, मानव सेवा आश्रम काठमाडौंलाई २० लाख, र मानव सेवा आश्रम नागार्जुनलाई १७ लाख ४९ हजार ५ सय ३६ रुपियाँ वितरण गरेको हो । यीमध्ये सबैलाई भौतिक निर्माणको लागि भन्दै सो रकम दिइएको छ तर पैसा पाएका निकायले खर्चको बिल, भर्पाइ, पेस गरेका छैनन् ।

महालेखा परीक्षकको कार्यालयले त्यसरी नियमविपरीत रकम वितरण गर्न नपाइने प्रावधान रहेको भएपनि नागार्जुन नगरपालिकाले हचुवामा पैसा बाँडेको उल्लेख गरेको छ ।

महालेखाले आर्थिक सहायतासम्बन्धी कुनै ऐन तथा कार्यविधि तयार नपारी हचुवामा आफू निकटलाई सोर्सफोर्सका आधारमा रकम बाँड्नु गलत भएको स्पष्ट पारेको छ । महालेखाले आर्थिक सहायता अति आवश्यक रहेका व्यक्ति पहिचान गरी ऐन तथा कार्यविधि बनाएर सोहीअनुुसार अत्यावश्यक भएमा मात्रै आर्थिक सहायता दिन सकिनेमा नागार्जुन नगरपालिकाले त्यस्तो कुनै पनि प्रक्रिया नअपनाई आर्थिक सहायता दिएको जनाएको छ । यसै गरी सो वर्ष पालिकाले सामाजिक सहायता खर्च शीर्षकबाट आर्थिक सहायता भन्दै थप ६ लाख ९ सय २१ रुपियाँ वितरण गरेको पाइएको छ । आर्थिक सहायतासम्बन्धी कुनै कार्यविधि नबनाई वडा कार्यालयको सिफारिस र पालिका प्रमुखको तोकादेशबाट सीधै वितरण गर्ने गरेको र सो कार्य नियमविपरीत रहेको महालेखाले जनाएको छ ।

नागर्जुज नगरपालिकाले कर्मचारी राख्दा समेत संगठन र व्यवस्थापन सर्वेक्षण नगराई हुचवामा राखेको पाइएको छ ।

सो पालिकाले विभिन्न २५ पदहरूमा १ सय ३० जना कर्मचारीहरू ज्यालादारी तथा करारमा राखी सेवा शुुुल्क खर्च शीर्षकबाट ४ करोड २७ लाख ३२ हजार ६ सय रुपियाँ खर्च गरेको छ । यस्तै नगरपालिकाले विभिन्न प्रशासनिक र प्राविधिक पदहरूमा नियमविपरीत कर्मचारी राख्दा २ करोड ५५ लाख ८३ हजार रुपियाँ खर्च भएको छ । महालेखाले त्यसरी कर्मचारीहरू हचुवामा राख्नु नियमविपरीत भएको प्रष्ट पारेको छ । महालेखाले कार्यालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनका आधारमा आवश्यकताका आधारमा नियममा व्यवस्था भएबमोजिम कर्मचारीहरू राख्नुपर्नेमा नगार्जुन नगरपालिकाले त्यसो नगरेको जनाएको छ ।

महालेखाका अनुसार सो वर्ष नागार्जुन नगरपालिकाले आयोजना गरेको जेष्ठ नागरिक भ्रमण कार्यक्रम बाट २३ लाख २१ हजा खर्च भएको देखाइएको भएपनि सो रकम पारदर्शी नभएको स्पष्ट पारेको छ । जेष्ठ नागरिक भ्रमणमा वास्तविक जेष्ट नागरिक नै सहभागी भएको भन्ने सपोर्टिङ डकुमेन्ट स्पष्ट फेला पार्न नसकिएको भन्दै महालेखाले शंका व्यक्त गरेको छ ।

यस्तै, योजना तथा कार्यक्रम अनुगमनका नाममा कार्यालयका कर्मचारीले १३ लाख ६९ हजार ५ सय रुपियाँ लिइएको पाइएको महालेखाले जनाएको छ । महालेखाले एउटै कार्यक्रम, योजनाका लागि पटक पटक अनुगमन गरेको तथा ठूलो संख्यामा अनुगमन गरेको भनी धेरै रकम खर्चिएको पाइएको र मितव्ययिता कायम नगरिएको स्पष्ट पारेको छ ।

महालेखाका अनुसार नागार्जुन नगरपालिकामा सो वर्ष लेखापरीक्षण बाट ७ करोड ११ लाख ४१ हजार बेरुजु देखिएको छ ।हालसम्मको अद्यावधिक बेरुजु ८ करोड ५६ लाख ६८ हजार रहेको महालेखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्