गलत गर्नेमाथि कारबाही हुनै पर्छ

0
Shares

भुटानी शरणार्थी ठगी काण्डमा हाइ प्रोफाइल पक्राउ परेका छन् । नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने काण्डमा पूर्वउपप्रधानमन्त्रीदेखि सांसद र मन्त्रीका सल्लाहकार पक्राउ परेपछि तरंग उत्पन्न भएको छ । वर्षौंदेखि अनुसन्धानमा रहेको नक्कली भुटानी शरणार्थी काण्डको नालीबेली बाहिर आएपछि यसले देशभर चर्चा पाएको छ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी काण्डमा संलग्न भएको प्रमाण भेटेपछि नेपाल प्रहरीले बहालवाला सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरेको छ । लगत्तै पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, उहाँका छोरा सन्दीप रायमाझी, पूर्वगृहमन्त्री रामबहादुर थापाकी श्रीमती नैनकला थापा, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन् । प्रहरीले रामबहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी गरिरहेको छ ।

यसअघि गएको चैतमा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै १० देखि ४५ लाख रुपियाँसम्म असुली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी, पाँचथरका टेक गुरुङ र मोरङका सागर राईलाई पक्राउ गरिएको थियो । ती गिरोहले मन्त्रीदेखि सचिव हुँदै मन्त्रीका छोरालाई समेत रकम दिनुपर्छ भन्दै नाम पोलेपछि प्रहरीले सक्रियता बढाएको थियो । तत्कालीन ओली नेतृत्वको सरकारले भुटानी शरणार्थीको समस्या समाधान गर्न कार्यदल गठन गरेको थियो । गृह मन्त्रालयका तत्कालीन सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वको समितिले प्रतिवेदन सरकारले सार्वजनिक गर्न नपाउँदै गिरोहको हातमा पुगेको थियो ।

ती गिरोहले मन्त्रीदेखि सचिव हुँदै मन्त्रीका छोराको समेत सहयोगमा अन्ुसूची फारममा नाम थप गरेर केहीलाई शरणार्थी बनाएका थिए । १० देखि ४५ लाख रुपियाँ तिरेर शरणार्थी बनेका नेपालीले अमेरिका जान नपाएपछि प्रहरीसमक्ष ठगीको उजुरी दिएका थिए । सोही उजुरीको आधारमा प्रहरीले पक्राउ पुर्जी लिएर ठूलो गिरोहका नाइके पक्राउ गरेको थियो । तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई गिरोहले हातमा लिएर शरणार्थीको नाम थपेको अनुसन्धानले देखाएको छ । हालसम्म गिरोहले १ सय ४५ जनासँग करिब ६ करोड रुपियाँ असुल गरेको खुलेको छ । प्रहरीले पक्राउ गरेका माथि ठगी र संगठित अपराधमा मुद्दा चलाउने भएको छ ।

सरकारी तलबभत्ता खाएर सरकारमाथि गद्दार गर्नेमाथि हदैसम्मको कारबाही गर्नुपर्छ । नक्कली शरणार्थीलाई अमेरिका पठाउने धन्दामा प्रत्यक्ष र परोक्षरुपमा संलग्न सबैमाथि हदैसम्मको कारबाही गर्नुपर्छ । देशप्रति अपराध गर्नेमाथि कारबाही भयो भने बल्ल सरकारको कामको प्रशंसा हुनेछ । सरकारप्रति जनविश्वास बढ्नेछ । प्रहरीको कुशल अनुसन्धानले सार्थकता पाउनेछ । यसको लागि प्रहरी र छानबिन गर्ने निकायमाथि कुनै पनि आरोप नलागोस् । यसो भएमा मात्र राज्यको पूर्ण उपस्थिति रहेको विश्वास हुनेछ । जनताले सरकारबाट अपेक्षाकृत कामको अनुभूतिको महसुस गर्न पाउनेछन् ।