नेपाली खेलाडीको प्रशंसा



राज्यको लगानी शून्य प्रायः भए पनि नेपालको क्रिकेटले भने फड्को मार्दै गएको छ । विभिन्न दलले आफ्ना घोषणापत्रमा खेल क्षेत्रलाई प्राथमिकतामा राखे पनि राज्यको बागडोर आफ्नो हातमा पर्दा भने खेल क्षेत्रमा गरेको लगानी हेर्दा उनीहरुको घोषणापत्रमा उल्लेख गरेको कुराले गिज्याइरहेको भान हुन्छ । भाषणमा ठूला कुरा गर्ने तर खेल विकासका लागि सिन्को पनि नभाँच्ने सरकारी रबैया भएको अवस्थामा यसपटक काठमाडौंमा जारी एसीसी प्रिमियर कपमा नेपालले देखाएको खेल कौशललाई सम्मान गर्नुपर्छ । पूर्वाधारविना पनि खेलाडीहरुले गरेको मेहनतलाई भने सबैले उच्च प्रशंसा गरेका छन् । अभावै अभावको बीचमा पनि खेलाडीहरुले नेपालको शिर उच्च राख्ने काम गर्नु राष्ट्रकै लागि गौरवको विषय बनेको छ ।

राज्यले नेपाली क्रिकेटरमा लगानी गर्ने हो भने एसिया कप मात्र होइन विश्व कप नै खेल्न सक्ने ल्याकत राख्छन् भन्ने कुरालाई राज्यले मनन गरी क्रिकेट क्षेत्रमा लगानी बढाउने हो भने खेलको माध्यमबाट विश्वमा नेपाल चिनिन धेरै समय लाग्दैन । यसतर्फ राज्य सञ्चालकहरुको ध्यान जान जरुरी छ । नेपालले पछिल्लो समयमा बलिङमा मात्र होइन व्याटिङमा समेत सुधार गरेकाले राष्ट्रिय टिमबाट खेल्ने खेलाडीलाई अवसर दिने हो भने अझै राम्रो गर्नेमा दुई मत छैन । भाषण गरेजस्तै नेताहरुले खेल क्षेत्रमा लगानी गरिदिए नेपालले अझै धेरै गर्न सक्ने देखिन्छ ।

नेपालमा जारी एसीसी कपमा देखाएको उत्कृष्ट प्रदर्शनलाई कामय गर्ने हो भने अबका दिनमा विश्वकप खेलेका भारत, पाकिस्तान श्रीलंकाजस्ता उत्कृष्ट टोलीसँग खेल्न पाउनु नेपालका लागि अर्को अवसर हुनेमा कुनै द्विविधा छैन । त्यसैले खेल पदाधिकारीले पनि आफ्ना सुखसयलभन्दा पनि खेल क्षेत्र सुधारका लागि राज्यलाई दबाब दिनेतर्फ लाग्नु नै राष्ट्रको हितमा हुने देखिन्छ । खेल पधाधिकारी हुने तर खेल क्षेत्र सुधारका लागि कुनै चासो नदिने व्यक्तिले संस्थामा बस्नुभन्दा छोडेर केही गर्छु भन्नेलाई जिम्मा दिई अघि बढ्दा खेल क्षेत्रमा सुधार आउने थियो कि ! यसतर्फ खेल पदाधिकारीको ध्यान जान जरुरी देखिन्छ । खेलको विकासका लागि राज्यले गर्ने लगानीमा ध्यान दिन सके क्रिकेट मात्र होइन फुटबल, तेक्वान्दो, करातेजस्ता खेलले पनि नेपाललाई विश्वमा चिनाउन मद्दत पुग्ने थियो ।

विश्वका न्यून आय भएका मुलुकले समेत खेल क्षेत्रमा मनग्य लगानी गरेर विश्वमा आफ्नो मुलुक चिनाउन सफल भएका उदाहरण धेरै छन् । नेपालले पनि खेल क्षेत्रको विकासका लागि नाममात्रको बजेट होइन उल्लेख्य मात्रामा बजेट विनियोजन गर्न सके नेपाली खेल क्षेत्रले फड्को मार्न सक्ने थियो । यसतर्फ राज्यका निकायको ध्यान जान जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्