राष्ट्रिय पुरुषबीच भलिबल वैशाखको अन्तिम साता  



  काठमाडौँ । 

पाल्पा तानसेनको रानी महलनजिकै कालीगण्डकी नदीको किनारमा वैशाखको अन्तिम साता राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।

आयोजक सञ्जय मेमोरियल फाउन्डेसनले शुक्रवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्रिय स्तरको बिच भलिबल प्रतियोगिताको दोस्रो संस्करण यही वैशाख २८, २९ र ३० गते हुने जानकारी गराएको हो । पहिलो संस्करणमा महिलातर्फको आयोजना भएको थियो ।

दोस्रो संस्करणमा महिला र पुरुष दुवैको गर्ने तयारी रहेपनि महिला टोली काभा वुमन्स च्यालेन्ज कपका लागि प्रशिक्षणमा रहेकाले यसपटक पुरुषतर्फको मात्रै आयोजना गर्न लागेको फाउन्डेसनकी अध्यक्ष निरोज मास्केले बताइन् ।

अध्यक्ष मास्केले पाल्पाको रानीमहलमा खेलकुद र पर्यटन क्षेत्रलाई जोड्ने उद्देश्यका साथ सुरु गरिएको प्रतियोगिताको अर्को संस्करणमा अन्तर्राष्ट्रिय स्तरको बिच भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको थपिन् । यस प्रतियोगिता सात प्रदेश, तीन विभागीय र आयोजक गरी ११ टिमको सहभागिता रहनेछ । लिग र नकआउट आधारमा सञ्चालन हुने यस प्रतियोगितामा सहभागी टिमलाई विभिन्न समूहमा विभाजन गरेर खेलाइनेछ ।

प्रतियोगिताको विजेता टिमलाई ट्रफी, मेडलसहित १ लाख ५० हजार, उपविजेता टिमलाई ट्रफी, मेडलसहित १ लाख रुपैयाँ, तेस्रो हुने टिमलाई ट्रफी, मेडलसहित ५० हजार र सान्त्वना पुरस्कार २५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगितामा सहभागी हुने टिमका दुई खेलाडी र एक अफिसियलको खाना, बस्ने र यातायात खर्च आयोजकले व्यहोर्ने र खेलाडीको बिमासमेत गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्