६५ वर्षमा अन्तर्राष्ट्रिय पदक जित्ने शाही सम्मानित



काठमाडौं ।

६५ वर्षको उमेरमा इन्टरनेसनल स्ट्रेन्थलिफ्टिंग एन्ड इन्कलाइन्ड बेन्च प्रेस च्याम्पियनसिप २०२३ मा नेपाललाई रजत पदक दिलाउने खेलाडी कृष्ण सिं शाही सम्मानित भएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौं महानगरपालिका वडा नं २२ इकाइ समितिले बुधबार एक कार्यक्रमको आयोजना गरी वरिष्ठ खेलाडी शाहीलाई सम्मान गरेको हो ।

शाहीलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष माननीय राजेन्द्र लिङ्देनले दोसल्ला ओढ़ाई सम्मानपत्र प्रदान गर्नुभएको थियो । उक्त कार्यक्रममा २२ वडामा रहेका नेवाः गुठी समुदायलाई सम्मान गरिएको थियो ।

गत चैतमा नेपालमा नै सम्पन्न उक्त प्रतियोगितामा ५६ किलोग्राम शारीरिक तौल भए पनि मास्टर्स–३ स्पर्धाअन्तर्गत ६८ केजी तौल समूहमा खेलेका थिए शाहीले बाइसेप कर्लिगं र ह्याक लिफ्टको दुई–दुई सेटमा गरी कुल ३ सय ४७.५ केजी उचालेका थिए ।

उनले बाइसेप कर्लिगंको पहिलो र दोस्रो सेटमा क्रमशः ४० र ४२.५ केजी भार उठाएका थिए । त्यस्तै, ह्याक लिफ्टको पहिलो सेटमा १ सय २५ केजी र दोस्रो सेटमा १ सय ४० केजी उठाएर नेपाललाई रजत पदक दिलाउन सफल भए ।

प्रतिक्रिया दिनुहोस्