बाटो बिराएको कांग्रेस



नेपाली राजनीतिको सधैँ केन्द्रमा रहेको नेपाली कांग्रेसले मुलुक र जनताका लागि जे गर्नुपर्ने थियो त्यो गर्नबाट चुकेको छ । आज आम नेपाली कांग्रेसको नाम लिनासाथ नाक खुम्च्याउन थालेका छन् । किन कांग्रेस यो अवस्थामा पुग्यो भन्ने प्रश्नको खोजीमा शायद कांग्रेसजनहरु नै लागिपरेका छन् । इतिहासको कालखण्डमा ठूलो परिवर्तनको जिम्मेवारी लिएको कांग्रेस आज बाटो बिराएको बटुवाजस्तो भएको छ । महामानव बीपी कोइरालाले स्थापना गरेको कांग्रेस कुन बाटोमा हिँडिरहेको छ ? विभिन्न परिवर्तनमा सहभागी भएका पुराना कांग्रेसीहरु पार्टीले अवलम्बन गरेको नीति देखेर अलमलमा परेका छन् । समाजवादको लक्ष्य प्राप्तिका लागि जुन नीति अवलम्बन गर्नुपर्ने हो, कांग्रेस अहिले सो नीतिबाट विचलित भएको छ । नीति र सिद्धान्तलाई एकातिर राखेर कांग्रेस अहिले सत्ताका लागि जस्तोसुकै हर्कत गर्न तयार रहनु कांग्रेसजनका लागि नै लज्जाको विषय बनेको छ ।

आफूलाई प्रजातन्त्रको हिमायती भन्ने कांग्रेसको अहिलेको मूल नेतृत्वले अवलम्बन गरेको बाटो सिद्धान्तनिष्ट कांग्रेसका लागि पाच्य हुँदैन । सत्ता नै सर्वोपरि हो भन्ने सिद्धान्तबाट ग्रस्त कांग्रेसका कारण मुलुक दिशाहीन हुँदै गएको छ । मुलुकको आर्थिक अवस्था नाजुक अवस्थामा पुगिसक्दा पनि आफ्ना आसेपासेबाहेक अन्यलाई नजरअन्दाज गर्नाले युवावर्ग कांग्रेसबाट टाढिन थालेका छन् भने हिजो पार्टीमा योगदान गरेकाहरु पनि बिस्तारै पार्टीको सम्पर्कबाट बाहिरिनु कांग्रेसको हितमा देखिँदैन । पार्टीभित्रको गुट–उपगुटले लामो समयदेखि कांग्रेस भनेर बसेका नेता–कार्यकर्ताले अवसर पाएको देखिँदैन । त्यसैले कांग्रेसको मूल नेतृत्वले समयमा नै आफूलाई सच्याएन भने हिजोको गौरवमय इतिहासबाट शिला खोज्नुपर्ने अवस्थामा नपुग्ला भन्न सकिँदैन ।

देश निर्माणको अभिभारासमेत बोकेको कांग्रेसले लिनुपर्ने नीति के थियो, अहिले के नीति लिएर कांग्रेस हिँडेको छ ? आमजनताले प्रश्न गर्न थालेका छन् । समयसापेक्ष रुपमा अघि बढेन भने कांग्रेसलाई इतिहासको पानामा खोज्नुपर्ने अवस्था नलाउला भन्न सकिँदैन । त्यसैले कांग्रेसको मूल नेतृत्वले अहिले सत्ताभन्दा पनि जनता सर्वोपरि हुन् भनेर सोच्ने बेला आएको छ । सत्ताका लागि सिद्धान्त नै नमिल्ने दलसँग मिलेर सत्ता चलाउँदाको परिणाम अहिले कांग्रेसले भोग्दै आएको छ । हिजो पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म आफ्नो वर्चश्व कायम गरेको कांग्रेस अहिले कुन अवस्थामा पुगेको छ ? त्यसको समीक्षा गर्दै कांग्रेसजनहरु अघि बढ्नुको विकल्प देखिँदैन । आफ्नो विगतको इतिहास के थियो, पार्टीलाई कुन ढंगले अघि बढाउनुपर्छ भन्ने चेत नेतृत्वमा नआएसम्म कांग्रेस सही बाटोमा आउने देखिँदैन । त्यसैले दाइ कांग्रेस र भाइ कांग्रेसभन्दा पनि नेपाली कांग्रेस हुन जरुरी देखिन्छ । पार्टीभित्र गुट–उपगुटको नेतृत्व गर्ने कांग्रेसले पनि सोच्ने बेला आएको छ । यसतर्फ सबै कांग्रेसको ध्यान जान जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्