बुद्ध जन्मस्थल लुम्बिनीमा छुट्टाछुट्टै पिस म्याराथन प्रतियोगिता सम्पन्न



बुटवल  । 

अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवसका अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीमा छुटाछुटै  २ वटा म्याराथन प्रतियोगिता सम्पन्न भएको छ ।  प्रदेश खेलकुद परिषद्, लुम्बिनी तथा नेपाल ओलम्पिक कमिटीको संयुक्त आयोजनामा लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन सम्पन्न भयो  ।

त्यस्तै मदन भण्डारी स्पोर्ट्स एकेडेमीले हाफ म्याराथन प्रतियोगिता पनि सम्पन्न भएको छ । प्रदेश परिषद्ले आयोजना गरेको अन्तर्राष्ट्रिय पीस म्याराथन–२०२३ मा नेपाली सेनाका खगेन्द्र भाट प्रथम भएका छन् । उनले २ घण्टा ४० मिनेट ५७ सेकेन्ड लगाएका थिए । २ घण्टा ४२ मिनेट ०१ सेकेन्ड लिँदै नेपाल प्रहरीका करण खडका दोस्रो तथा २ घण्टा ४४ मिनेट २५ सेकेन्ड समय लिँदै  श्रीलंकाली धावक अमिला सानाथ तेस्रो भएका छन् ।

खेलकुदको माध्यमबाट लुम्बिनीको प्रवर्द्धनमा टेवा पुग्ने लक्ष्यसहित २ सय ७ राष्ट्रका खेलाडी तथा प्रतिनिधिलाई आमन्त्रण गरिएको ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले बताए । म्याराथन कपिलवस्तुको तिलौराकोट दरबारबाट बिहीबार बिहान सवा ८ बजे सुरु भई लुम्बिनीको शान्ति दीप रहेका गेट अगाडि पूरा भएको थियो ।

प्रतियोगितामा ३३ पुरुष धावक सहभागी भएको उनले बताए ।  म्याराथनमा प्रथमले १ लाख, द्वितीय ले ५० हजार र तृतीय हुनेले २५ हजार नगद राशि प्राप्त गरेको लुम्बिनी खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले जानकारी दिए । यता मदन भण्डारी एकेडेमीले आयोजना गरेको लुम्बिनी पिस हाफ म्याराथन प्रतियोगितामा दीपक अधिकारी र राजपुरा पछाइले प्रथम स्थान हासिल गरेका छन् ।

प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका अधिकारीले १ घण्टा ६ मिनट २ सेकेन्डमा लुम्बिनी वरपरको २१ किलोमिटरको दुरी पूरा गरेका थिए । यससँगै उनले १ लाख ५० हजार रुपैयाँ नगद पाए ।यस्तै, महिलातर्फ २१ किलोमिटरको दुरी नेपाल प्रहरीकी पछाइले १ घण्टा २४ मिनेट २ सेकेन्डमा पूरा गरेकी थिइन् । उनले १ लाख ५१ हजार रुपैयाँ नगद शिल्ड तथा प्रमाणपत्र पाइन् ।

प्रतियोगितामा पुरुषतर्फ एपीएफका गोपीचन्द्र पार्कीले १ घण्टा ६ मिनेट ४६ सेकेन्डमा दुरी पूरा गर्दै द्वितीय भए । त्रिभुवन आर्मीका मुकेश पाल १ घण्टा ७ मिनेट १५ सेकेन्डमा दुरी पार गर्दै तृतीय र त्रिभुवन आर्मीकै नरेन्द्र रावल १ घण्टा ७ मिनेट १५ सेकेन्डमा दुरी पार गर्दै चौथो भए ।

प्रतियोगिताका विजेतालाई अपराह्न पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रमाणपत्र वितरण गरे । बुद्ध जन्मस्थलमा रहेको शान्ति दीपमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मसाल बालेर खेलाडीलाई हस्तान्तरण गरेपछि खेलाडीहरु म्याराथनमा उत्रेका थिए ।

प्रतिक्रिया दिनुहोस्