छिन्नमस्ता बाहिनीलाई ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७९’को उपाधि



????????????????????????????????????

 काठमाडौँ। 

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय स्वयम्भू हलचोकमा संचालन भएको ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७९’ अन्तर्गत फुटबल खेलको उपाधि
सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले जित्न सफल भएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले शुक्रबार प्रतियोगिता समापन गर्नुको साथै उत्कृष्ट खेलाडी तथा विजयी टिमलाई ट्रफी, मेडल र पुरस्कार समेत प्रदान गर्नुभयो ।

महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपालले व्यावसायिक काम, कर्तव्यको साथसाथै नेपाली खेलकुदको विकास, विस्तार र प्रवर्द्धनको क्षेत्रमा आफूलाई क्रियाशील गराउँदै आएको बताउनुहुँदै खेलकुदमा हुने स्वच्छ प्रतिस्पर्धाबाट खेलाडीहरुमा अनुशासन, कर्तव्य परायणता एवं सामूहिक भावनाको समेत विकास हुने उल्लेख गर्नुभयो ।

उहाँले यस्ता प्रतियोगिताले संगठनमा आपसी सहयोग, भाइचारा र बन्धुत्वको भावना विकास हुनुको साथै खेलकुद र फौजी जीवनको अन्योन्याश्रित सम्बन्धले
सशस्त्र प्रहरी बलको कार्यक्षेत्रमा क्षमता र शारीरिक स्फूर्ति कायम राखी प्रभावकारी कार्यसम्पादन गर्न सहयोगी भूमिका खेल्ने बताउनुभयो ।

सशस्त्र प्रहरी बल नेपालले खेलकुदलाई आफ्नो स्थापना कालदेखि नै महत्वका साथ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरुमा उत्साहजनक सहभागिता जनाउँदै आएको उल्लेख गर्नुहुँदै महानिरीक्षक अर्यालले संगठनमा लुकेर रहेका प्रतिभावान् खेलाडीहरुको उत्पादन र बृत्तिबिकासमा निरन्तर
लागि रहने बताउनुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल,चन्द्र प्रकाश गौतम र वंशीराज दाहालले खेलका उप–विजेता टिम तथा खेलाडी र अफिसियलहरुलाई सम्मानपत्र, पदक तथा पुरस्कार प्रदान गर्नुभयो ।

प्रतियोगिताको फाइनल खेलमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीलाई
१–० गोलको अन्तरले पराजित गरी उपाधि जितेको हो ।

सशस्त्र प्रहरी बल नेपाल केन्द्रीय खेलकुद समितिको आयोजनामा संचालित उक्त प्रतियोगिता यही फागुन २८ गतेदेखि प्रधान कार्यालयको रंगशालामा
संचालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्