क्रिकेटमा सफलता जोगाउने चुनौती



नेपाली सिनियर क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) अन्तर्गत एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ । अब चार वर्षका लागि नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई खेल्न पाउने भएको छ । यो नेपाली क्रिकेटको लागि गर्व गर्ने विषय हो ।

नेपाली क्रिकेटरले खेल नै पर्याप्त खेल्न पाउँदैनन् । नेपालमा प्रतियोगिता पनि पर्याप्त आयोजना हुने गरेको छैन । त्यसका बाबजुद नेपाली सिनियर क्रिकेट टोलीले ओडीआई मान्यतालाई जोगाउन सफल भएको छ । नेपालको खेल जगतलाई हेर्ने हो भने फुटबल र क्रिकेट मात्रै लोकप्रिय देखिन्छ । नेपाली खेल समर्थक पनि यिनै दुई खेलमा बढी चासो राख्ने गर्छन् । यो हिसाबले नेपाली क्रिकेटले ओडीआई जोगाउनु नेपाली खेल समर्थकलाई एउटा उपहार पनि हो । नेपाली टोलीले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा ९ वटा त्रिकोणात्मक सिरिज खेलेको छ । आठओटा सिरिज समाप्त भयो भने अन्तिम तथा नवौं सिरिजमा भने दुई खेल खेलेका छन् । अरू दुई खेल खेल्न बाँकी नै छ ।

नेपालले ओडीआई मान्यता जोगायो यतिमै नेपाली टोलीको चुनौती समाप्त भएको भने छैन । अब आउने दुई खेलमा जित हात पारेमा नेपाली टोलीले सीधै क्रिकेट विश्वकप छनोटमा खेल्न पाउनेछ । यसका लागि बाँकी दुई खेल जित्नु आवश्यक छ । दुई खेलमा संयुक्त अरब इमिरेट्स र पपुवा न्युगिनीविरुद्ध नेपालले खेल्न बाँकी छ । नेपालले प्रतियोगिताअन्तर्गत ६ सिरिज खेल्दासम्म १८ अंक मात्रै रहेको छ । नेपालका लागि ओडीआई बचाउन कठिन देखिएको थियो । नेपालले बाँकी ३ सिरिजबाट १२ खेल खेल्न बाँकी थियो । ओडीआई मान्यता बचाउन यसमध्ये ९ खेल जित्नु आवश्यक थियो । नेपालले १० खेल खेलेर ९ खेलमा जित्न सफल भयो र ओडीआई मान्यता बचायो । यसले नेपाली क्रिकेटको उपलब्धि पनि भयो र क्रिकेटमा अवसर रहेको पनि सन्देश दियो । साथै नेपाल पनि अन्तर्राष्ट्रिय क्रिकेटमा खेल्ने सक्षम छ भनेर पनि सन्देश गयो ।

नेपाली युवा क्रिकेटरका साथै अनुभवी खेलाडी ज्ञानेन्द्र मल्लको संयुक्त मिहिनेतमा नेपाली टोलीले लक्ष्य भेटाएको हो । रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टोलीले राम्रो खेलिरहेको छ । नेपालमा अभ्यासका लागि पर्याप्त मैदान छैनन् । यो उपलब्धिले नेपाल सरकारले पनि क्रिकेटको लागि केही गर्नुपर्ने दबाब दिनेछ । किनभने ओडीआई मान्यता प्राप्त भएपछि विदेशी टोलीलाई नेपालमा खेल्नका लागि निमन्त्रणा दिनुपर्ने हुन्छ । सधँै बाहिर मात्रै खेल्ने कुरा पनि हुँदैन । नेपालले राम्रा राम्रा टोलीलाई बोलाएर खेलाउनको लागि नै अन्तर्राष्ट्रियस्तरको मैदानको आवश्यक हुन्छ । यहाँ केवल त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान बढी प्रयोग भइरहेको छ ।

सरकारले पोखरा, धनगढीजस्ता ठाउँका क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरका बनाउन पहल गर्नुपर्छ । मूलपानी क्रिकेट मैदानलाई पनि प्रयोग गराउन भौतिक पूर्वाधार पूरा गर्नुपर्ने भएको छ । ओडीआई मान्यता जोगाउनेभन्दा पनि आगामी ४ वर्षमा क्रिकेट कसरी अघि बढ्ने भन्ने चुनौती आइपरेको छ । यसका लागि सरकारको साथ पनि चाहियो र नेपाल क्रिकेट संघले पनि यसका लागि पहल गरिदिनुपर्ने देखिन्छ । अघिल्लो चार वर्षको ओडीआई मान्यता त्यतिकै खेर गएको थियो । यस्तो नहोस् भन्ने खेल प्रेमीहरूले अपेक्षा गरेका छन् । फेरि एकपटक नेपाली क्रिकेट टोलीलाई शुभकामना छ ।

प्रतिक्रिया दिनुहोस्