रियलको सानदार जित



लन्डन, एजेन्सी । स्पेनिस क्लब रियल मेड्रिडले युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब लिभरपुलमाथि सानदार पूनरागमन जित दर्ता गरेको छ ।

दुई गोलले पछि परेको स्थिति उल्ट्याएर रियलले उक्त जितको नतिजा निकालेको हो । रियलले घरेलु टोली लिभरपुलमाथि ५–२ गोलअन्तरको सानदार पूनरागमन जित दर्ता गरेको हो । रियलको पूनरागमन जितमा भिनिसियस जुनियर र कप्तान करिम बेन्जेमाले समान दुई तथा एडर मिलिसाओले एक गोल गरे । लिभरपुलका डार्विन नुनेज र मोहम्मद सलाहको गोल भने सान्त्वना बन्यो । एनफिल्डमा मंगलबार राति साविकको विजेता रियल र उपविजेता लिभरपुलबीचको खेलमा लिभरपुलले १४ मिनेटभित्रै २–० को अग्रता बनाएको थियो । तर, त्यो अग्रतालाई लिभरपुलले जोगाउन सकेन ।

खेलको चौथो मिनेटमा नै डार्विन नुनेजको गोलबाट लिभरपुलले घरेलु मैदानमा १–० को अग्रता लिन सफल भएको थियो । उनले मोहम्मद सलाहको पासमा ब्याकहिल फ्लिकमार्फत सुन्दर गोल गर्न सफल भएका थिए । खेलको १४औं मिनेटमा मोहम्मद सलाहले गोलरक्षक थिवाउट कोर्टुवोको गम्भीर गल्तीको फाइदा उठाउँदै गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । ड्यानी कार्भाहलको ब्याकपासलाई नियन्त्रणमा लिएपनि त्यसलाई क्लियर गर्न नसक्दाको फाइदा नजिकै रहेका सलाहले उठाउँदै गोल गर्न सफल भएका थिए । खेलको २१औं मिनेटमा भिनिसियसले पेनाल्टी बक्सभित्रबाट दर्शनीय गोल गर्दै रियललाई खेलमा फर्कने संकेत दिए । उनले कप्तान करिम बेन्जेमाको पासमा गोल गर्न सफल भएका थिए ।

खेलको ३६औं मिनेटमा भिनिसियसले लिभरपुलका गोलरक्षक एलिसन बेकरको गल्तीको फाइदा उठाउँदै व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै खेललाई पहिलो हाफमा २–२ गोलको बराबरीमा ल्याए । जोसेफ गोमेजको पासलाई एलिसनले गरेको क्लियरेन्स भिनिसियसलाई लाग्दै गोलमा परिणत भएको थियो । खेलको ४७औं मिनेटमा एडर मिलिसाओले गोल गर्दै रियललाई खेलमा ३–२ ले अघि बढाए । मिडफिल्डर लुका मोड्रिचको फ्रिकिकलाई मिलिसाओले हेडरमार्फत गोल गर्न सफल भएका थिए । ५५औं मिनेटमा कप्तान बेन्जेमाले रोड्रिगोको पासमा गोल गर्दै रियललाई ४–२ ले अघि बढाउँदै पूनरागमन जिततर्फ अग्रसर गराए ।

खेलको ६७औं मिनेटमा कप्तान बेन्जेमाले व्यक्तिगत र टोलीका लागि पाँचौं गोल गर्दै रियललाई सानदार पूनरागमन जित दिलाए । यस जितसँगै रियलले लिभरपुलसँगको अपराजित यात्रा ६ खेलसम्म लम्ब्याएको छ । रियलले ५ जित र एक बराबरीको नतिजा निकालेको छ । यस जितसँगै रियलले क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । घरेलु मैदानमा मार्च १५ मा हुने खेलमा यही नतिजा कायम राख्न सके रियल क्वाटरफाइनलमा पुग्नेछ । लिभरपुललाई अघिल्लो चरण पुग्न जित अनिवार्य बनेको छ ।
नेपोलीसँग हा¥यो फ्रान्कफर्ट

इटालियन सिरी ए क्लब नेपोलीले युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा जर्मन क्लब फ्रान्कफर्टलाई पराजित गरेको छ । नेपोलीले १० खेलाडीमा समेटिएको घरेलु टोली फ्रान्कफर्टलाई २–० को पराजित गरेको हो । नेपोलीको जितमा भिक्टर ओसिमहेन र जियोभानी डि लोरेन्जोले गोल गरे । पहिलो र दोस्रो हाफमा समान गोल भएको थियो । ड्युट्से बैंक पार्क फ्रान्कफर्टमा मंगलबार राति भएको खेलको ३६औं मिनेटमा कभिचा कभाराट्सकेलिया पेनाल्टीमा चुक्दा नेपोली अग्रता लिनबाट चुक्यो । ४०औं मिनेटमा भिक्टर ओसिमहेनले गोल गर्दै नेपोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । उनले हिर्भिङ लोजानोको पासमा गोल गर्न सफल भएका थिए ।

खेलको ५८औं मिनेटमा घरेलु टोली फ्रान्कफर्ट १० खेलाडीमा समेटिन पुग्यो । रान्दल कोलो मुआनी सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । त्यसपछि ६५औं मिनेटमा जियोभानी डि लोरेन्जोले गोल गर्दै नेपोलीलाई २–० को सहज जित दिलाए । उनले कभिचा कभाराट्सकेलियाको पासलाई सदुपयोग गरेका थिए । यस जितसँगै यो सिजन उच्च लयमा रहेको नेपोली पछिल्लो ९ खेलसम्म अपराजित रहन सफल भएको छ । इन्टर मिलानसँग जनवरीमा १–० ले पराजित भएयता अपराजित छ । जसमा आठ जित र एक बराबरीको नतिजा छ । यस जितसँगै नेपोलीले क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । १५ मार्चमा घरेलु मैदानमा हुने खेलमा यही नतिजा कायम राख्न सके नेपोली क्वाटरफाइनलमा पुग्नेछ । फ्रान्कफर्टलाई अघिल्लो चरण पुग्न कम्तिमा पनि तीन गोलअन्तरले जित्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्