डा.रुइतबाट केही सिक्ने कि !



नेपालमा मात्र नभएर विश्वभर ख्याती कमाउनुभएका वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइत प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित हुनु नेपालकै लागि गौरवको विषय बनेको छ । अनवरत रूपमा

मानव कल्याणका लागि आफ्नो जीवन नै अर्पण गर्ने व्यक्तित्वका रूपमा चिनिनुभएका रुइतलाई वहराइन सरकारले सम्मान गरेको छ । गुणस्तरीय आँखा उपचारका क्षेत्रमा नेपाल मात्र नभएर अन्तर्राष्ट्रिय क्षेत्रमा समेत ख्याती कमाउनुभएका रुइतलाई उक्त सम्मान प्रदान गरिएकोमा चौतर्फी रूपमा स्वागत गरिएको छ ।

उहाँलाई बहराइन सरकारका तर्फबाट राजधानी मनामास्थित इसा सांस्कृतिक केन्द्रमा आयोजित विशेष समारोहमा राजा हमाद बिन इसा अल खालिफाले १० लाख अमेरिकी डलरको सर्वोत्कृष्ट ‘इसा अवार्ड’ प्रदान गरिनु नेपाल र नेपालीका लागि सौभाग्यको विषय बनेको छ । मावन कल्याणका लागि अमूल्य र प्रभावकारी काम गरेको मूल्यांकन विश्वले नै गर्छ भन्ने प्रमाण उक्त पुरस्कार प्रदान गर्नुले प्रमाणित गरेको छ । अफ्नो जिम्मेवारी र कर्तव्यलाई नै जीवन ठान्ने व्यक्तित्वलाई अन्तर्राष्ट्रिय रूपमा मूल्यांकन गरिनुले देशको शान अझ उच्च बनाएको छ ।

वहराइनका पूर्व राजा सेख इसा बिन सलमान अल खालिफाका नाममा सन् २००९ मा स्थापित उक्त पुरस्कार विश्वर आँखाको ज्योति गुमाएका ६० लाख मानिसका लागि योगदान पु¥याउन सफल हुनुभएका डा. रुइतलाई प्रदान गर्नुले पनि नेपाल र नेपालीका लागि गौरवको विषय बन्न पुगेको छ । विश्वभरबाट छानिएका १ सय ३९ व्यक्ति तथा संस्थामध्ये उक्त पुरस्कारबाट डा. रुइत सम्मानित हुनुले पनि उक्त पुरस्कार कति सम्मानित हो भन्ने पुष्टि गर्दछ ।

सम्मान ग्रहण गर्दै डा. रुइतले यो सम्मानले आफूलाई अझै यस क्षेत्रमा केही गर्नुपर्ने दायित्व थपिएको बताउनुले पनि पुरस्कारको गरिमा अझै बढेको छभन्दा फरक नपर्ला । ७० भन्दा बढी देशमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आँखा उपचार सेवा तथा लेन्स पु¥याइसक्नुभएका डा. रुइत एक लाख २५ हजारभन्दा बढीको आँखा उपचार गरेर अन्तर्राष्ट्रिय रूपमा आफ्नो पहिचान स्थापित गरिसक्नुभएको छ ।

अन्योलग्रस्त रूपमा मुलुक जुग्रिरहेको बेला डा. रुइतले पाएको उक्त पुरस्कारले मुलुक र जनतालाई केही हदसम्म भने पनि राहत मिलेको छ । गरे के हुन्न भन्ने उदाहरणीय व्यक्तित्व बन्नुभएका डा. रुइतलाई हाम्रो तर्फबाट पनि सम्मान व्यक्त गर्दछौं । मुलुकका लागि यस्ता व्यक्तित्वको खाँचो छ । उहाँबाट आम नेपालीले प्ररणा लिएर मुलुकका लागि केही गर्नु पर्ने अवस्था आएको छ । मुलुकमा नै केही गरौं भन्ने जागरण बोक्नुभएका डा. रुइतको पथमा आम नेपाली लाग्न सके मुलुकको विकासका लागि कोसेढुड्डो सावित हुने थियो यसतर्फ सबै नेपालीको ध्यान जाओस् ।

खोजे अवसर मुलुकभित्रै छ । नेपालमा अवसरको खोजी गर्ने समूहलाई राज्यको तर्फबाट पनि उचित कदर हुन नसक्दा थुप्रै प्रतिभा विदेश पलायन भएको पाइन्छ । राज्यले यसतर्फ ध्यान दिएर अघि बढ्नु जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्