जनताको खबरदारी आवश्यक



नेपाली राजनीतिमा देखिएको पछिल्लो परिदृष्यले आउँदो राष्ट्रपति निर्वाचन थप पेचिलो बन्दै गएको छ । सत्तारुढ गठबन्धनभित्र विगतमा भएको सहमति भत्कने भएपछि राष्ट्रपतिका लागि अघि सारिएका नामहरूमा नयाँ नाम थपिन थालेका छन् । छिनछिनमा बदलिएको नेपालको राजनीतिमा राष्ट्रपतिमा कसले बाजी मार्ला भन्न सकिने अवस्था भने छैन । राष्ट्रपतिका लागि जे गर्न पनि तयार भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नै सभापतिलाई नै राष्ट्रपतिमा अघि सार्न सकिने आंकलन गर्न थालिएको छ । राष्ट्रपति निर्वाचनले राजनीतिले नयाँ मोड लिएपछि मुलुकको नयाँ राष्ट्रपति को बन्छ भन्ने विषय अहिले सर्वाधिक चासोको विषय बन्दै गएको छ ।

छिमेकी मुलुकहरूले समेत नयाँ राष्ट्रपतिमा चासो व्यक्त गर्न थालेपछि को राष्ट्रपति बन्छ भन्न सकिने अवस्था भने देखिँदैन । संसारभरको राजनीतिक परिदृष्य हेर्ने हो भने राजनीति गरेका व्यक्ति नै राष्ट्रपतिमा निर्वाचित भएको देखिन्छ तर नेपालमा भने राजनीतिमा संलग्न नभएका व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने धारणा दलका नेताहरूले सार्वजनिक गर्नुले यसमा केही रहस्य लुकेको हो कि भन्ने आंकलन गर्न थालिएको छ । नेपाली राजनीतिमा विदेशी हस्तक्षेप हुनु राम्रो विषय होइन । तर, विदेशी हस्तक्षेप विस्तारै बढ्दै गएको देखिन्छ । यस्तो कार्य मुलुकका लागि पक्कै राम्रो विषय होइन । नेपालको आन्तरिक मामिला नेपाली आफंैले सुल्झाउनु पर्ने हो त्यो भएको देखिँदैन । छिमेकीले के भन्छ भन्ने प्रवृत्ति नेपाली राजनीतिमा हावी हुनुलाई सुखद संकेत मान्न सकिँदैन । यसले मुलुक विघटनको संघारमा जाने हो कि भन्ने आशंका गर्ने ठाउँ पैदा हुँदै गएको छ ।

नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने प्रयास यो पहिलो होइन पटक–पटक यस्ता प्रयास हुँदै आएका छन् । विगतको अनुभवलाई आत्मसाथ गर्दै दलहरू एक जुट भएर अगाडि बढ्नुपर्नेमा दलहरू चुकेका छन् । यसले मुलुकको हित गर्ने छैन । दलीय स्वार्थले नेपाललाई फुटबल मैदान दलहरूले नै बनाउँदै लगेका छन् । यसमा जनता सचेत भएनन् भने मुलुक विघटनको संघारमा नपुग्ला भन्न सकिँदैन त्यसैले जनता सचेत हुनुपर्ने अवस्था सिर्जना भएको छ यसतर्फ समयमा नै आम नेपालीको ध्यान जान जरुरी छ । अहिलेको गणतान्त्रिक व्यवस्थालाई नै धराशयी पार्ने तत्वहरू विस्तारै सक्रिय हुन थालेको अहिलेको अवस्थालाई ध्यानमा राख्दै दलहरू एक भएर जानुपर्ने थियो त्यो अवस्था देखिँदैन । अस्थिरताको भुमरीमा रुमलिदै आएको नेपाललाई जोगाउने जिम्मा अब दलको हातमा होइन जनताको हातमा आएको छ । अहिलेको अवस्थालाई मध्यनजर गर्दै आम नेपाली एकजुट भएर अगाडि बढ्नुपर्ने देखिन्छ । दल–दलमा विभाजित भएका जनता मुलुक जोगाउन राजनीतिभन्दा माथि उठेर मुलुकको अस्मिता जोगाउन लाग्नुपर्ने देखिन्छ । यसतर्फ जनता सचेत भएर दलका नेताहरूलाई खबरदारी गर्नुपर्ने बेला आएको छ ।

प्रतिक्रिया दिनुहोस्