स्ववियु निर्वाचन- २०७९ : फागुन १९ गते मतदाता नामावली प्रकाशन, २७ गते उम्मेदवारी दर्ता



काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि मतदाता नमावली फागुन १९ गते प्रकाशन गर्ने गरी कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ ।

निर्वाचन कार्यतालिका सार्वजनिक गरेपछि क्याम्पसको पठनपाठन र परीक्षामा व्यवधान आउनसक्ने आंकलन गर्दै त्रिविले एक महिना अघिमात्र कार्यतालिका सार्वजनिक गर्न लागेको हो । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले फागुन ४ गते बिहीबार निर्वाचन कार्यतालिका सार्वजनिक गर्नेछ । स्रोतका अनुसार मतदाता नामावली प्रकाशनसँगै नामावलीमा दाबी विरोधपछि अन्तिम नामावली प्रकाशन गरी फागुन २७ गते उम्मेदवारी दर्ता गर्ने तालिका छ ।

कार्यतालिका सार्वजनिक भएपछि निर्वाचनको माहोल तयार हुने र सबै विद्यार्थी संगठन निर्वाचनमा होमिने छन् । केही विद्यार्थी संगठनले पूर्ण समानुपातिक र केहीले उमेरको हदबन्दी हटाउनुपर्ने माग अघि सारे पनि स्ववियु निर्वाचन गराउने विषयमा एकमत भएकोले समस्या नरहेको त्रिविको दाबी छ ।

समितिले कार्यतालिका सार्वजनिक गरेपछि सबै क्याम्पसमा निर्वाचनको विषयमा सर्कुलर जारी गर्ने र सोही आधारमा कार्यतालिका कार्यान्वयन हुने अपेक्षा त्रिविले लिएको छ । त्रिविले सार्वजनिक गरेको कार्यतालिकालाई सामान्य हेरफेर गर्न सक्ने अधिकार क्याम्पसलाई दिएको छ । त्रिविले चैत ५ गते निर्वाचन गर्न नसकेमा त्यसको एक महिनाभित्र पुनः निर्वाचन गर्नेगरी १३ बँुदे निर्देशिका जारी गरिसकेको छ ।

सोहीअनुसार सबै क्याम्पसले विद्यार्थी संघ, संगठन, सुरक्षा निकाय लगायतसँग छलफल गरिसकेको छ । कार्यतालिका सार्वजनिक गरेपछि समितिले विभिन्न तहको अनुगमन गर्ने र क्याम्पस प्रमुखलाई निर्देशन दिने तयारी गरिरहेको समितिका सदस्यसचिव पशुपति अधिकारीले बताउनुभयो ।

पछिल्लो १४ वर्षदेखि त्रिविलगायत उपत्यकाका १३ र बाहिरका २३ गरी ३६ क्याम्पसमा निर्वाचन हुन सकेको छैन । त्रिविले २८ वर्ष उमेरहद र मिश्रित निर्वाचन प्रणाली लागू गरेपछि २०७३ सालमा निर्वाचन भएको थियो । मिश्रित प्रणालीअनुसार सभापति, सचिव तथा कोषाध्यक्ष प्रत्यक्ष निर्वाचन तथा उपसभापति र सहसचिव समानुपातिक एवं ५० प्रतिशत सदस्य समानुपातिकबाट चयन हुने व्यवस्था छ ।

२०७३ सालमा उपत्यकाका ९ र उपत्यका बाहिरका १७ गरी २६ वटा क्याम्पसमा निर्वाचन भएको थियो । त्यसअघि २०६५ सालमा निर्वाचन भएको थियो । २०६५ सालदेखि त्रिवि केन्द्रीय क्याम्पस,नेपाल ल, पद्मकन्या, शंकरदेव, त्रिचन्द्र, विश्वभाषा,पाटन संयुक्त, ललितकला, महेन्द्ररत्न क्याम्पस ताहाचल, सरस्वती, अमृत साइन्स नेपाल कमर्स र पब्लिक युथ क्याम्पसमा निर्वाचन हुन सकेको छैन ।

उपत्यकाका २२ मध्ये थापाथली, भक्तपुर, नर्सिङ क्याम्पस, इन्जिनियरिङ अध्ययन संस्थान, जन प्रशासन, सानोठिमी, महाराजगंज, आयुर्वेद क्याम्पस कीर्तिपुर र रत्नराज्य लक्ष्मी क्याम्पसमा मात्र निर्वाचन भएको थियो ।

त्रिविले निर्वाचन कार्यतालिकाको प्रकाशित गरेको दिनसम्म वार्षिक प्रणालीअन्तर्गत स्नातक तह प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरूलाई मात्र मतदाता नामावलीमा समावेश गर्नुपर्ने र अन्यको हकमा मतदाता नामावली प्रकाशित हुने मितिभन्दा दुई दिनअघिसम्म नियमअनुसार भर्ना भएका विद्यार्थीलाई मतदाता नामावलीमा समावेश गर्न मिल्ने जनाएको छ ।

कुनै तहको अन्तिम सेमेस्टर वा अन्तिम वर्षको सैद्धान्तिक परीक्षा दिइसकेका विद्यार्थीहरू निर्वाचनमा सहभागी हुन नपाइने, मतदाता नामावलीमा नाम भएका विद्यार्थीहरूको परीक्षाको कारण परिचयपत्र तयार नभएमा तत्काल सम्पन्न भएको परीक्षाको प्रवेशपत्रको आधारमा मतदान गर्न पाइने व्यवस्था निर्देशिकाले गरेको छ ।

तीन ठूला विद्यार्थी संगठन नेविसंघ, अनेरास्ववियु र अनेरास्ववियुले स्ववियु निर्वाचन तयारी थालिसकेका छन् । नेविसंघले घोषणापत्र तयारी समितिको घोषणा गरिसकेको छ । अनेरास्ववियुले आजदेखि पर्सि ४ गतेसम्म चल्ने २३औं महाअधिवेशनलगत्तै निर्वाचनमा होमिने तयारी गरेको छ । माओवादी केन्द्रले अनेरास्ववियु क्रान्तिकारीको सामानान्तर समिति विघटन गरी विद्यार्थी संगठनलाई स्ववियु निर्वाचनमा लाग्न निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्