काभ्रेको छत्रेबाँझमा फेला पर्‍यो नयाँ ‘गुफा’

गुफा भित्र देवी देवताका आकृति, संरक्षण र व्यवस्थापनको चिन्ता 



काभ्रे । 
काभ्रेको नमोबद्ध नगरपालिका ९ साविक छत्रेबाँझ गाविस ९ घट्टेखोलामा देवी देवताको आकृति भएको नयाँ गुफा फेला परेको छ । सपनामा सोही क्षेत्रमा महादेव पार्वती गणेश सहितको ठुलो मन्दिर रहेको देखेका स्थानीय८४ वर्षीय चमार सिं लामाले आफन्तलाई भने पछि एक महिना अघि सोही क्षेत्रमा खोतलेर हेर्दा गुफा फेला परेको हो ।


‘बुबाले सपनामा छत्रेबाँझ ९ स्थित घट्टेखोलामा महादेव, पार्वती, गणेश तथा ३३ कोटी देवी देवताको आकृति छ, महादेव ठुलो पोखरीमा बसिरहनु भएको छ । उत्खनन गरेर हेरौँ भन्दै काम्न थाल्नु भयो’–छोरा ज्ञानबहादुर लामाले भन्नुभयो–‘सपना देखेको केही दिनमा जग्गाधनी विनोद लामा सहितको टोली गएर उक्त क्षेत्रमा खोतलेर हेर्दा गुफा देखियो । गुफाको मुखमा थोरै खनेर भित्र जाँदा ३३ कोटी देवीदेवता सहितको प्राकृतिक रुपमा भगवनाका रुप देखियो ।’ त्यो देखे लगत्तै बुबालाई फेरी सपनामा उक्त क्षेत्रको प्रचार प्रसार गर्न र धार्मिक रुपले संरक्षण गर्न भनेको छोरा ज्ञानबहादुर लामाले बताउनु भयो । चमार सिं लामा उक्त क्षेत्रमा पुगे पछि काम्ने र अक्षता चढाए पछि पहिलाकै अवस्थामा आउने गरेका छन् ।


गुफा फेला परेको जानकारी पाए लगत्तै उक्त क्षेत्रका स्थानीयहरूको दैनिक हेर्ने भिड लाग्न थालेको छ । गुफा भित्र धूप, अबिर लगायतका सामाग्रीहरु चढाउन थालेकाले त्यसका आकृतिहरु पुरिन थालेका छन् । गुफा भित्र थोरै पानी तप तप झरिरहेको छ । विभिन्न स्वरुपका देवी देवताको आकृति देख्न सकिन्छ । १५ फिट जति लम्बाई र ५ मिटर जति चौडाई रहेको गुफा भित्र १० जना जति एकै पटक पुगेर हेर्न सकिन्छ । त्यसको संरक्षणका लागि स्थानीयहरुले छलफल थालेका छन् । गुफा भित्र पस्नेहरुले त्यहाँको आकृतिलाई भगवानको रुप सम्झँदै भाँचेर लैजान थालेका छन् ।

के भन्छन् स्थानीय ?

एक महिना अघि दाउरा चिरिरहेका वडा नम्बर १० का विनोद लामाले गुफा देखेका थिए । गुफा भित्र पस्न नसकेका उनले आफ्नै सालो नवीन जिम्बालाई भित्र पठाए । उसले भित्र भएको अवस्थाका बारेमा बताए पछि सामाजिक सञ्जाल मार्फत जानकारी गराइएको थियो । विनोदका अनुसार स्थानीयहरूलाई जानकारी गराउने, प्रकृतिले निर्माण गरेको भगवानको स्वरुपलाई जोगाई राख्न छलफल सुरु गरिएको छ । सामाजिक सञ्जालका कारण भक्तपुर, काठमाडौँ लगायतका स्थानबाट दर्शनार्थीहरु आउन थालेका छन् ।


स्थानीय ज्ञानबहादुर लामाले गुफा फेला परे लगत्तै स्थानीयहरूको समन्वयमा संरक्षण समिति बनाउने गरी छलफल सुरु गरेको बताउनु भयो । वडा नम्बर ९ र १० का अलावा नगरपालिकासँग समेत समन्वय गरेर संरक्षण र प्रचार प्रसार गरिने बताउनु भयो । अहिले प्राकृतिक संरचना फुटाएर घर लैजान थालिएकाले त्यसको रोकथाम गर्ने र अन्य संरचना निर्माण गर्ने विषयमा छलफल सुरु गरिएको बताउनु भयो । स्थानीय हरे राम श्रेष्ठले गुफा फेला परेसँगै स्थानीयहरू खुसी भएको बताउनु भयो । गुफाको संरक्षण र विकास तथा प्रचार प्रसारका लागि नमोबद्ध, दाप्चा तथा अन्य क्षेत्रको सम्पदाहरुको विकास गर्नु पर्ने बताउनु भयो । स्थानीय पुष्पराज श्रेष्ठले स्थानीयहरूको साथ सहयोगमा राज्यका तीनै निकायले सहयोग गर्नु पर्ने बताउनु भयो । आफू निरन्तर समाजसेवामा क्रियाशील भएकाले गुफाको संरक्षणमा लाग्ने बताउनु भयो ।


वडा नम्बर ९ का वडा सदस्य दुर्गा लामाले स्थानीय सरकारको तर्फबाट सबै क्षेत्रको सहयोग र समन्वयबाट संरक्षण र व्यवस्थापन गरिने बताउनु भयो । हरेक क्षेत्रको सहयोग रहने गरी उक्त क्षेत्रको प्रचार प्रसार गरिने लामाले बताउनु भयो । गुफा प्रवेश गर्न आउने आइतमायाले उज्यालो आकृति भएको गुफा भित्र महादेव देखि कृष्णसम्मको दर्शन गरेको बताउनु भयो । गुफा प्रवेश गर्ने अधिकांश व्यक्तिहरूले भगवानका सबै रुप देख्न पाएकाले यसको संरक्षण प्रमुख चुनौती रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्