पृतनापति समन्वयात्मक बैठक सम्पन्न



काठमाडौँ।

सेना दिवसका अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा सञ्चालन भएको दुईदिने पृतनापति समन्वयात्मक बैठक सम्पन्न भएको छ । बैठकमा वर्तमान सुरक्षा परिस्थितिको विश्लेषण, अपरेसनल अवस्थालगायत पृतनापतिले प्रधान सेनापतिसमक्ष गर्नुभएको कमान्ड प्रतिबद्धताको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

नेपाली सेनाको भिजन–२०३० कार्यान्वयनको अवस्था, सञ्चालित तालिमको प्रभावकारिता, पृतना पुनःस्थापना भएपश्चात् कमान्ड नियन्त्रण र समन्वयको प्रभावकारिताको समीक्षा भएको सैनिक जनसम्र्पक तथा सूचना निर्देशनालयले जनाएको छ ।

गत भदौमा कमान्ड सेनापति समन्वयात्मक बैठकमा उल्लेख भएका विषयहरुको प्रगति सम्बन्धमा गहन छलफल भएको थियो । बैठकमा पृतनापतिले पृतना पुनःस्थापनाले सङ्गठनको उद्देश्य प्राप्तिमा सहयोग पुगेको निष्कर्ष सुनाउनुभएको थियो ।

बैठक समापनका अवसरमा प्रधानसेनापति प्रभुराम शर्माले बैठकबाट वर्तमान परिस्थितिको विश्लेषण गर्नुका साथै आउन सक्ने चुनौतीको पहिचान गरी सोको सामना गर्न अपनाउनुपर्ने रणनीति तथा कार्यनीति निर्धारण गर्न मद्दत पुगेको बताउनुभयो । उहाँले पृतनापतिबाट बैठकमा भएका छलफललाई तल्लो दर्जा र इकाइसम्म प्रभावकारी हुने ढङ्गले कार्यान्वयनमा लैजान सहभागीलाई निर्देशन दिनुभयो ।

प्रधानसेनापति शर्माले सैनिकप्रतिको जनविश्वासलाई कायम राख्न सबैले व्यक्तिगत तथा सामूहिक ढङ्गले प्रयत्न गर्न सुझाव दिनुभयो । बैठकमा आठवटै पृतनापति, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुख तथा सम्बन्धित वाहिनीपति सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्