संघीयतालाई सफल बनाउन स्थानीय सरकार बलियो हुनुपर्छ : प्रदेश प्रमुख शेरचन



बुटवल ।

बुटवलमा उपमहानगरपालिकाको प्रथम राष्ट्रिय सम्मेलन सुरु भएको छ । सम्मेलनको लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले उद्घाटन गदै संघीयता कार्यान्वयनमा स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका रहने बताउनु भएको छ । प्रदेश प्रमुख शेरचनले संघीयता बलियो बनाउन स्थानीय सरकारलाई बलियो बनाउनुपर्ने बताउनुभयो ।

उहाँले स्थानीय सरकारहरुमा पनि महानगर, उपमहानगर र गाउँ नगरको अवस्था र समस्या फरक फरक रहेकाले आर्थिक सामाजिक हिसाबले श्रोत साधनको वितरणबारे छलफल गर्न जरुरी रहेको बताउनुभयो । संघीयता कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय सरकारका बीचमा समन्वय र सहकार्य जरुरी रहेको भन्दै उहाँले आवश्यक कानुन निर्माणमा चासो दिनुपर्ने बताउनुभयो ।

उहाँले बुटवलले उपमहानगरपालिकाहरुका साझा समस्याको समाधानको खोजी गर्ने अभ्यासको थालनी गरेकोमा खुसी व्यक्त गर्दै यसले संघीयतालाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै महानगर फोरमका संयोजक तथा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले संघीयता  बलियो बनाउनका लागि स्थानीय सरकारलाई बलियो बनाउनुपर्ने बताउनुभयो ।  उहाँले संविधानले व्यवस्था गरे अनुसारका साझा र एकल अधिकार प्रयोगका लागि आवश्यक कानुन निर्माण र कार्यान्वयनमा जटिलता देखिएकाले त्यसको समाधानका लागि संघीय सरकारले चासो देखाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाइले संविधानले व्यवस्था गरे अनुसारका अधिकार कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणमा संघीय सरकारले विशेष चासो देखाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल नगरपालिका संघका महासचिव तथा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले संघ, प्रदेश र स्थानीय सरकारका योजनाहरु दोहोरिने गरेको र योजना कार्यान्वयनमा जटिलता देखिने गरेकोमा त्यसलाई सुधार गर्दै समन्वय र सहकार्यलाई जोड दिनुपर्ने बताउनुभयो ।

नेपाल नगरपालिका संघका सहकोषाध्यक्ष तथा हेटौडा उपमहानगरपालिकाका प्रमुख मीना कुमारी लामाले संघीयता सफल बनाउन स्थानीय सरकारहरुलाई सफल बनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले साझा अधिकारको सूचीमा रहेका अधिकार क्षेत्रहरुको जिम्मेवारी तोकी सोही बमोजिमको कानुन बनाउन संघीय सरकारले तदारुपता देखाई प्रदेश र स्थानीय सरकारलाई कानुन बनाउन सहजीकरण गर्नुपर्ने बताउनुभयो ।

बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले स्थानीय सरकारका साझा मुद्दालाई एकीकृत रुपमा समाधान गर्नका लागि साझा समस्या भएका स्थानीय सरकार एक ठाउँमा उभिएको बताउनुभयो ।

कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, नेपाल पत्रकार महासंघ लुम्बिनीका महासचिव विक्रम खड्कालगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्