प्रचण्ड, प्रयोगवाद, उपयोगवाद र राज्यसंरचना परिवर्तन



गत मंसिर ४ को प्रदेश तथा प्रतिनिधिसभाका लागि चुनाव घोषणा भएदेखि आजसम्म पनि केही पढेलेखेकै थुतुनाहरु पनि निरन्तर आरोप लगाइरहेका छन् राप्रपालाई– ‘संघीयता नमान्ने अनि प्रदेश सदस्य उम्मेदवार किन उठाएको ? आफू राजतन्त्रवादी अरे अनि गणतन्त्रवादी प्रचण्ड सरकारलाई किन समर्थन गरेको राप्रपाले ? ढँटुवा रैछन् राजेन्द्र र ज्ञानेन्द्रहरु पनि !’

राप्रपाको अहिलेको यो प्रयोगवाद बुझ्न २०६२÷६३ ताकाको प्रचण्डको एउटा रणनीतिक उद्गार सम्झनुपर्छ अनि उनका केही प्रयोग र उपयोगलाई हेर्नुपर्छ । २०५२ सालदेखिको हतियारधारी रक्तिम क्रान्तिले सफलता पाउने सम्भावना नदेखेपछि माओवादीले शान्ति प्रक्रियामा आउने बेलातिर भन्न थालेका थिए– ‘अब ढाडमा टेकेर टाउकोमा हान्ने हो ।’

यो तत्कालीन हारको आवेग र प्रतिशोधपूर्ण भाषा थियो । यसैलाई अलि सकारात्मक शब्दहरुमा भन्दाखेरि वर्तमान व्यवस्थामा नै भाग लिएर प्राप्त शक्ति र स्रोतहरुको प्रयोग गर्दै आफूले चाहेको बाटो बनाउनु वा नीति निर्माण र कार्यान्वयन गर्नु हो । अर्थात् यो प्रयोगवाद हो ।

संसदीय व्यवस्थाको घोर विरोधी, साम्यवादका अन्धभक्त, रटन्ताम् क्रान्तिकारीहरु हजारौँ जनताको हत्या, लाखौँ विस्थापित अनि राज्यको अर्बौंको क्षति भएपछि संसदीय व्यवस्थाकै प्रयोग गरेर साम्यवादको बाटो खन्ने भनी शान्ति प्रक्रियामा आएका थिए । तर सिद्धान्तगत र पार्टीगत रुपमा प्रचण्ड नेतृत्वले यो प्रयोगवादलाई उपयोगवादमा सीमित राख्यो ।

प्रयोगवाद विशुद्ध विज्ञानको आधारमा चल्छ भने उपयोगवादमा विज्ञान मात्र नभएर नियतले पनि प्रभाव पार्दछ । प्रचण्डमा अनि उनको समग्र नेतृत्वपंक्तिमा विज्ञानले भन्दा बढी नियतले प्रभाव पारेको हुनाले राजनीति र सत्ताशक्ति नेताका स्वार्थपूर्ति गर्ने साधन बने । निजत्वको नियतले प्रयोगवादलाई उपयोगवादमा मात्र सीमित बनायो ।

-गंगासागर पन्त

तसर्थ माओवादीले राजनीतिक सिद्धान्तका खातिर कुनै पनि सफलता प्राप्त गर्न सकेन । बरु उल्टो बाटो, साम्यवाद र सर्वहारावादबाट एकाएक नवउदारवाद अनि पुँजीवादमा चुर्लुम्म डुब्न पुगेको छ नेपालको माओवादी आन्दोलन ।

तर प्रचण्डको व्यक्तिगत तहमा राजनीतिक खेल हेर्ने हो भने ढाडमा टेकेर टाउकोमा हान्ने खेलमा प्रचण्ड सफल खेलाडी देखिएका छन् । शान्ति प्रक्रियापछिको संसदीय चुनावलाई प्रयोग गरेर माओवादीलाई सबैभन्दा ठूलो पार्टी बनाए । त्यसयताका सत्ताका खेलहरुमा आफूलाइ सधैँ शक्तिकेन्द्रमा राखिरहन सफल रहे ।

आफ्ना परिवार र नातेदारहरु सबैलाई राज्यस्रोतको पहूँचदार ठाउँमा स्थापित गराए । आफ्ना केही थान भक्तहरुलाई मालदार पनि बनाए । गिरिजाको ढाडमा टेकेर उनकै टाउकोमा हाने अनि राष्ट्रपति हुनबाट वञ्चित गरिदिए । शान्ति प्रक्रिया अन्तर्गतकै सहमति अनुसार राजतन्त्र कायमै रहनुपर्नेमा राजाले नै बिउँताइदिएको संसद्लाई प्रयोग गरेर त्यही संसद्बाट राजा फालिदिए ।

ओलीको ढाडमा चढेर एमालेको टाउकोमा हानी दुई टुक्रा पारिदिए अनि कांग्रेसको नेतृत्वमा पाँच दलीय गठबन्धन बनाएर खेल खेलिरहे उनले । बन्धनविनाको त्यो गठबन्धनले मंसिर ४ को चुनावमा पूर्वानुमानित सफलता प्राप्त गरे पनि पर्याप्त सफलता ल्यायो । शेरबहादुरको ढाडमा चढेर आफू अलि बलियो भए प्रचण्ड ।

तर पनि पर्याप्त सिट संख्या ल्याउन नसकेपछि अब कसको ढाडमा चढेर कसको टाउकोमा हान्ने भन्ने खेलमा तीव्र गतिमा दौडिएका प्रचण्ड शेरबहादुरलाई एकाएक उत्तानो पारी फेरि ओलीको ढाडमा टेक्न पुगेका छन् । हो, यही हो ढाडमा टेकेर टाउकोमा हान्ने अर्थात् उपयोगवाद । नेपालमा यो प्रवृत्तिलाई प्रचण्डपथ भन्दा पनि फरक पर्दैनजस्तो लाग्छ ।

हो, आजको राप्रपालाई बुझ्न पनि प्रयोगवाद बुझे पुग्छ । तर प्रचण्डको जस्तो चरम अवसरवादी नियतले भरिएको उपयोगवाद भनेर बुझ्नु अलि हतार हुन्छ । आजको परिस्थितिमा विकल्पहरु दुईवटा मात्र छन् राप्रपाका अगाडि– पहिलो विकल्प भनेको वर्तमान शासन प्रणलीको बहिस्कार गरेर सशस्त्र आन्दोलनबाट राज्यसत्ता कब्जा गरी आफ्ना एजेन्डाहरु लागू गर्ने÷गराउने र दोस्रो विकल्प भनेको प्रयोगवाद अर्थात् वर्तमान शासकीय प्रणालीमा भाग लिएर, यसैलाई प्रयोग गर्दै, जनताको मन जित्दै, आगामी चुनावहरुमा बहुमत ल्याएर जनमतबाटै आफ्नो पार्टीको सिद्धान्त अनुसारको शासन प्रणाली ल्याउने ।

यी दुई विकल्पमध्ये दोस्रो विकल्प उत्तम हो । प्रयोगवाद नितान्त प्रजातान्त्रिक अभ्यास हो । सहभागितामूलक परिवर्तन हो । वर्तमान प्रणालीको बहिस्कार पनि होइन, वर्तमानलाई नै अन्तिम उपलब्धि मान्ने पनि होइन । वर्तमानले दिएको अवसरहरुलाई अधिकतम् जनहितमा प्रयोग गरेर, जनताको मत आर्जन गर्दै आगामी चुनावहरुमा आफ्नो पार्टीको उपस्थिति अझ बलियो बनाउँदै अन्त्यमा बहुमत ल्याएर आफ्नो पार्टीको सिद्धान्त अनुसारको राज्य व्यवस्था स्थापित गर्नु राप्रपाको अहिलेको प्रयोगवादी अभ्यास हो ।

अहिले जनता कुनै पनि प्रकारको विध्वंशकारी आन्दोलन चाहँदैनन् । राज्यको वर्तमान अवस्थाको दयनीय आर्थिक स्थितिले यहाँ बन्द, हड्ताल, आन्दोलन, युद्ध केही पनि थेग्ने स्थिति छैन र त्यस्ता विध्वंशकारी माध्यमहरु लोकतान्त्रिक पनि होइनन् । यहाँ उदाहरणको लागि राप्रपाको स्थिति र अभ्यासको कुरा गरे पनि यो प्रयोगवाद सबै पार्टीहरुको लोकतान्त्रिक अभ्यासको प्रक्रिया हो । कुनै नेता वा पार्टीलाई वर्तमानको उपलब्धि र व्यवस्था नै पर्याप्त हो भन्ने लाग्न सक्छ, जसको लागि नयाँ प्रयोग त्यस्तो चासोको विषय नहुन सक्छ ।

तर कतिपय नेता वा पार्टीहरुका लागि वर्तमानको उपलब्धि र व्यवस्थामा चित्त नबुझेको हुनसक्छ, जो निरन्तर वर्तमानमा प्राप्त अवसरहरुको प्रयोग गर्दै आफ्नो पार्टीले देखेको सपना अनुसारको राज्य संरचना, संवैधानिक व्यवस्था, नीति तथा कार्यक्रमहरु निर्माणतर्फ तल्लीन रहन्छन् ।

राम्रो विधि हुँदाहुँदै पनि अस्पष्ट नीति र अक्षम नेतृत्व भयो भने प्रयोगवाद असफल हुन्छ, बीचैमा बिलाउँछ । मदन भण्डारीको बहुदलीय जनवाद पनि सीधा र सरल भाषामा प्रयोगवाद नै थियो । प्रजातन्त्र र बहुदलीय प्रणालीलाई बहिस्कार गरिरहेका कम्युनिस्टहरुलाई बहुदलीय जनवादले सर्लक्क बहुदलीय संसदीय अभ्यासमा सहभागी बनाएर आखिरमा पूर्ण संसद्वादी मात्र हैन पुँजीवादी र चरम भ्रष्टाचारी नै बनाइदियो । शायद मदन भण्डारीकै नेतृत्व रहिरहेको भए उनको प्रयोगवादले कम्तीमा समाजवादको बाटो खन्न सक्थ्यो होला, जसरी मनमोहन अधिकारीको नेतृत्वले समाजवादको बाटो शुरु गरेको थियो ।

अहिले नेपालको संघीयताका सम्बन्धमा रवि लामिछाने नेतृत्वको रास्वपाको स्पष्ट धारणा र नीति आइसकेको छैन । हेर्दै जाऊँ, राम्रै नतिजा दिँदै गयो संघीयताले भने ठीकै छ भनौँला, नत्र बेठीक छ संघीयता भनौँला भन्ने धारणामा छ रास्वपा । यो प्रयोगवाद नै हो । तर रास्वपाको संघीयतासम्बन्धी अध्ययनमा ढिलाइ भएको पनि हुनसक्छ । एकदमै छोटो, केही महिना मात्रको नाबालक पार्टी भएकाले परिस्थितिको अध्ययन गरेर निर्णयमा पुग्न समय नपुगेको पनि हुनसक्छ । राप्रपाले चाहिँ संघीयताका सम्बन्धमा हिसाबकिताब राम्ररी बुझेकोले स्पष्ट नीति दिएको हुनसक्छ जनतामा ।

आर्थिक हिसाब हेर्दा विदेशबाट ऋण काढेर सयौँको संख्यामा अनुत्पादक, प्रादेशिक जनप्रतिनिधिहरुको उच्च जीवनशैली धान्न परेको छ राज्यले । भौगोलिक हिसाब हेर्दा पनि यति सानो मुलुकलाई यति धेरै संघीय संरचना आवश्यक देखिँदैन । जिल्ला प्रशासन कार्यालय र स्थानीय पालिकाहरु पर्याप्त हुन्छन्, सबै प्रकारका सेवा प्रदान गर्नका लागि । नेपालसँगै सीमा जोडिएको भारतको उत्तर प्रदेश राज्यमा २२ करोड जनसंख्या छ भने विहार राज्यमा ११ करोड जनसंख्या छ । भौगोलिक रुपमा पनि नेपालभन्दा धेरै गुणा ठूला ती प्रदेशहरु दमदार ढंगले विकासको बाटोमा लम्किरहेका छन्, जो हामी सबैले देखिरहेका छौँ ।

राष्ट्रिय एकताको हिसाबले पनि अधिकार सम्पन्न प्रादेशिक संरचना घातकसिद्ध हुने खतरा सधैँ रहनेछ नेपालका लागि । किनकि शक्तिशाली र खतरनाक छिमेकी मुलुकहरुको चपेटामा चेप्टिएर रहेको छ हाम्रो गरिब र निरीह देश । पहाडी मूलका लाखौँ जनताको निरन्तर संघर्ष र बलिदानको बाबजुद भारतजस्तो सशक्त देश पनि किन सधैँ डराउँछ दार्जीलिङ तथा कालिङ्पोङ क्षेत्रलाई अलग प्रदेशको मान्यता दिन ?

किनकि भरतीय नजरमा दार्जीलिङ तथा कालिङ्पोङ क्षेत्रका अधिकांश जनता नेपाली मूलका छन् र उनीहरुलाई अधिकार सम्पन्न प्रदेश दियो भने उनीहरुको रोजाइमा नेपाल नै प्रधान हुनसक्छ, भारतीय सुरक्षामा पनि चुनौतीहरु थपिन सक्छन् । त्यसैले जतिसुकै दबाउन परे पनि पश्चिम बंगालबाट छुट्टिन दिनै हुँदैन पहाडी क्षेत्रलाई भन्ने भारतीय नीति हो । यही भारतीय दृष्टिकोणको सापेक्ष्यतामा सोच्नुपर्छ नेपालले देशको सुरक्षा र अखण्डताको मामिलामा । नागरिकताको मामिलामा पनि भारतीय लगायत अन्य छिमेकी मुलुकहरुको नीतिको सापेक्षतामा नै नेपाली नागरिकता नीति ल्याउनेबारे स्पष्ट सोच्नुपर्छ ।

आजको ग्लोबलाइजेसनमा कुनै पनि राज्य निरपेक्ष रहन सक्दैन । प्रायः नीति नियमहरु छिमेकी तथा अन्य देशहरुको नीति नियमहरुको सापेक्षतामा बनाइन्छ । फलानो देशमा कस्तो नियम छ र त्यसको प्रभाव हाम्रोमा कस्तो पर्छ, अनि हामी सुरक्षित रहन हामीले कस्तो नीति नियम बनाउनुपर्छ भन्ने कुरामा राज्य सतर्क र स्पष्ट हुन जरुरी हुन्छ ।

अझ नेपालजस्तो आर्थिक तथा सामरिक हिसाबले धेरै नै कमजोर मुलुकले त आफ्नो आयु लामो देख्न चाहने हो भने नागरिकता तथा भौगोलिक अखण्डताको सम्बन्धमा आर्थिक तथा सामरिक हिसाबले शक्तिशाली छिमेकीहरुको तुलनामा झनै कडा नीति लिन अत्यावश्यक हुन्छ । यस्ता संवेदनशील विषयहरुमा नेताहरुले नयाँ–नयाँ प्रयोगमा अल्झिएर, अल्मलिएर राज्यलाई संकटमा पार्न हुँदैन ।

हजारौँ वर्ष पुरानो हाम्रो वैदिक सनातन देवभूमि नेपाल अरु हजारौँ वर्ष कसरी सुरक्षित राख्ने भन्ने दूरगामी सोच राख्न र नीतिहरु बनाउन जरुरी छ । प्रचण्डले आफ्नो विगतको उपयोगवादी, दुरुपोगवादी, अवसरवादी सबै प्रकारका नकारात्मक चरित्रहरुलाई सकारात्मकता अनि रचनात्मकतातर्फ रुपान्तरण गर्न जरुरी छ । आदत परिवर्तन गर्नु कठिन त हुन्छ, तर देश र जनताको मुहार सम्झिएमा, त्यागको भावना पलाएमा परिवर्तन सम्भव छ । बूढो पुस्ताका लागि देश बनाउने यो अन्तिम अवसर हो, हार्दिक शुभकामना छ सम्भावना बोकेको नयाँ सरकारलाई ।

 

प्रतिक्रिया दिनुहोस्