सम्पादकीय : पाठ्यपुस्तकको तयारी



कागज अभावको कारण देखाई सरकारले प्रायः हरेक वर्ष बेलामा पाठ्यपुस्तक पु-याउँदैन । यसपटक आउँदो शैक्षिक सत्र २०८० सालमा त्यही समस्या दोहोरिन नदिन मन्त्रालय आफै लागेको छ ।

नेपालका ठेकेदारले कागज ल्याउने सम्भावना न्यून देखेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दुई मुलुक बीचको सरकारी स्तर (जिटुजी) माध्यमबाट छपाइ कागज ल्याउन प्रक्रिया शुरु गरेको देखिन्छ ।सरकारको पूर्ण स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले कागज ल्याउन हरसम्भव पहल गर्दा कागज आउनसक्ने सम्भावना न्यून देखेपछि सरकार आफै तातेको हो ।

शैक्षिकसत्र २०८० मा पाठ्यपुस्तकको अवस्थाको बारेमा राष्ट्रिय सभाको दीगो विकास तथा सुशासन समितिले मंगलबार सरोकारवाला निकायसँंग छलफल गरेलगत्तै मन्त्रालयले जिटुजीबाट कागज ःल्याउने प्रस्ताब तयार गरेको हो । केन्द्रका अध्यक्ष समेत रहेका शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयका सचिवले जिटुजी मार्फत कागज ल्याउने प्रस्ताब प्रधानमन्त्री तथा मन्त्री परिषद् सचिवालयमा पेश गरिसकेका छन् । सो प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरे आउँदो शैक्षिक सत्रको लागि कागज ल्याउने प्रक्रिया अघिबढ्नेछ ।

ठेकेदार कम्पनीले पटक–पटक टेन्डर गर्दा समेत कागज ल्याउन नसकेर म्याद थप गर्न थालेपछि सरकारले सो प्रक्रिया थालेको हो । यसअघि ठेकेदारले कागज उपलब्ध गराउन नसकेपछि जनक शिक्षाले ८ करोड रुपियाँ धरौटी जफत गरिसकेको छ । अहिले दुईवटा ठेकेदार कम्पनीले कागज ल्याउन टेन्टर पारेका छन् । ती कम्पनीले हालसम्म कागज ल्याउने प्रक्रिया अघि बढाउन सकेका छैनन् । सरकारी लापरवाहीको कारण हरेक वर्ष पाठ्यपुस्तकको अभाव हुनु सामान्यजस्तै बनेको छ । अहिले नयाँ शैक्षिकसत्र शुरु हुनु तीन महिना अघिनै पाठ्यपुस्तक अभाव हुने संकेत देखिन थालेको छ ।

कक्षा ४ देखि १२ सम्मको पाठ्यपुस्तक छपाइ र बिक्री गर्ने जिम्मा पाएको जनक शिक्षाले कागज अभाव टार्न सके चैत महिना भित्रै पुस्तक छपाइ सम्पन्न गर्ने दाबी गरेको छ । जनक शिक्षाले रुस–युक्रेन युद्धको कारण कच्चा पदार्थको अभाव भएर भारतमै कागज उत्पादन हुन नसकेको जिकीर गर्ने गरेको छ । अधिकांश ठेकेदारले भारतबाटै कागज ल्याउने गरेका छन् । उनीहरुले भारतीय कागज कम्पनीको मूल्यको आधारमा टेन्डर पार्ने गरेका छन् ।

करिब ५० लाख विद्यार्थीका लागि करिब २ करोड ५० लाख थान पाठ्य पुस्तक छपाई गर्नुपर्ने तथ्याङ्क छ । जनक शिक्षाले दिएको तथ्याङ्क अनुसार हालसम्म करिब ४० लाख थान पाठ्यपुस्तक तयार भैसकेको छ । झण्डै २ करोड ५० लाख थान पाठ्यपुस्तक छपाइ गर्न करिब ८ हजार टन कागज आवश्यक पर्छ । एक महिनादेखि कागज आउन थालेपछि २४सै घण्टा मेशिन सञ्चालन भैरहेको जनक शिक्षाको भनाइ छ ।

जनक शिक्षाले रङ्गीन पुस्तक छपाइ गर्न यस वर्ष ३ वटा ठूला मेशिन खरिद गरिसकेको छ । सबै मेशिनले उत्पादन गर्ने तयारीमा रहँदा कागजको समस्या देखिएको हो । कागजको समस्या समाधान गर्ने विषयमा सबै सरोकारवाला गम्भीर हुनुपर्छ । होइन भने पुस्तक अभावको कारण विद्यार्थीको पढाइ प्रभावित हुनेछ । मुलुकका कर्णधारप्रति सरकारले लापर्वाही गर्नसक्तैन ।

प्रतिक्रिया दिनुहोस्