१९ औं माछापुच्छ्रे खुल्ला तथा भेट्रान्स टेनिस सोमबारदेखि



पोखरा।

कास्की जिल्ला टेनिस संघको आयोजनामा सोमबारदेखि माछापुच्छ्रे खुल्ला तथा भेट्रान्स टेनिस प्रतियोगिता हुने भएको छ । पोखरा रंगशालास्थित टेनिस कोर्टमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

प्रतियोगिता संयोजक नविन चालिसेले १९ औं संस्करणको प्रतियोगिता आयोजना गर्न लागेको पत्रकारसम्मेलनमा जानकारी दिएका हुन् । ‘हामीले प्रतियोगितालाई निरन्तरता दिदैँ आज १९ औं संस्करणसम्म ल्याइपुर्‍याएका छौं’ उनले भने,‘यो भेट्रान्स प्रतियोगिताबाट सुरु भएको हो । अहिले खुल्ला तर्फ समेत प्रतिस्पर्धा हुन थालेको छ ।’ प्रतियोगितामा कुल एक सय ५० खेलाडीको सहभागिता रहने छ । प्रतियोगितामा नेपाल सहित भुटान, भारत र युकेबाट समेत खेलाडीको सहभागिता रहेको उनले बताए ।

प्रतियोगितामा खुल्ला र भेट्रान्समा गरी कुल १२ इभेन्ट हुनेछन् । टेनिस खेलमा १३ इभेन्ट भएपनि यो प्रतियोगितामा १२ इभेन्टमात्रै राखिएको चालिसेले बताए । उनका अनुसार पुरुष तथा महिला खुल्ला तर्फ एकल र डबल्स प्रतिस्पर्धा हुनेछ । यस्तै भेट्रानस तर्फ ३५ वर्षमाथि, ४५ वर्षमाथि, ५५ वर्ष र ६५ वर्ष माथि उमेर समूहको प्रतिस्पर्धा हुनेछ । भेट्रान्स तर्फ ६५ वर्ष माथिको एकल तर्फमात्रै प्रतिस्पर्धा हुनेछ भने अन्य उमेर समूहमा एकल र डबल्स दुवै इभेन्ट हुनेछ ।

खुल्ला तर्फको महिला तथा पुरुष दुवै तर्फको विजेताले समान ८०/८० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै उपविजेताले समान ४० र सेमिफाइनल पुग्ने खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । डबल्स तर्फको विजेताले समान ३०, उपविजेताले १५ र सेमिफाइनल पुग्नेले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
३५ वर्षमाथि महिला तथा पुरुष एकल तर्फको विजेता, उपविजेता र सेमिफाइन प्रवेश गर्ने खेलाडीले समान रुपमा क्रमश: ६०, ३० र १० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने डबल्स तर्फ क्रमश: २०, १०, १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

४५ वर्षमाथि महिला, पुरुष दुवै विजेता उपविजेता र सेमिफाइन पुग्ने खेलाडीले क्रमश: एकल तर्फ ४०,२०, १० हजार रुपैयाँ र डबल्स तर्फ २०, १०, १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । ५५ वर्षमाथि एकल तर्फ ३०, १५ र १० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने डबल्स तर्फ २०, १० र १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । एकल तर्फमात्रै प्रतिस्पर्धा हुने ६५ वर्षमाथि उमेर समूहको विजेताले १५ हजार रुपैयाँ, उपविजेताले रु. ७ हजार पाँच सय र सेमिफाइन प्रवेश गर्ने खेलाडीले दुई हजार पाँच सय रुपैयाँ प्राप्त गर्नेछन् । पुस ११ गतेदेखि १५ गतेसम्म संचालन हुने प्रतियोगिता संचालन गर्न करिब सात लाख ४० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्