पदम बा अस्वस्थ



लामो सयमसम्म पत्रकारिता र शिक्षण पेशा अपनाई कलाकारिता क्षेत्रमा सक्रिय रहँदै आएका अभिनेता पदमप्रसाद पौडेललाई स्वास्थ्य समस्या भएको छ।

केही सातायता उनको बोलीमा समस्या भएको छ भने हिँडडुलसमेत गर्न नसकी थला परेका छन्। लामो समयसम्म पत्रकारिता तथा अध्यापनमा संलग्न रही अवकाश जीवनमा कलाकारितामा होमिएका उनलाई बुढानीलकण्ठस्थित आफ्नै निवासमा लडेर टाउकोमा सामान्य चोट लागेपछि हिँडडुलमा समस्या भएको उनकी कलाकार पत्नी देवकुमारी पौडेलले बताइन्।

मधुमेह, उच्च रक्तचाप र बाथको समस्यासँग जुध्दै आएका पदमप्रसाद निवासमै चिकित्सकाको निगरानीमा छन्। ९० वर्षीय उनको केही दिन यता भने बोली प्रष्ट नभएको देव कुमारीले बताइन्।

संखुवासभाको चैनपुर नगरपालिकामा १९९४ सालमा जन्मिएका पदमप्रसादले भारतमा आर्एएसम्मको पढाइ पूरा गरी तेह्रथुमको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा समेत सेवा गरेका थिए ।

सहायक प्रमख जिल्ला अधिकारीको रुपमा जागिरमा रहँदा विभिन्न जिल्लामा सरुवा हुने भएपछि उनले आफ्नै जिल्लामा शिक्षक भएर सेवा गर्छु भन्दै शिक्षण पेशा रोजेका थिए। संखुवासभामा रहेर अध्यापन गराउने क्रममा उनले संखुवासभाकै पहिलो पत्रकारको समेत पहिचान बनाएका थिए।

२०३७ सालमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर चन्द क्याम्पस उद्घाटनका लागि संखुवासभा पुगेका बेला समाचार संकलन गर्ने मान्छेको अवाभ भएपछि चन्दले इच्छुक व्यक्तिलाई रासस प्रतिनिधि बनाइदिने प्रस्ताव राखेपछि जिल्लाका सीडीओले पदम सरले मात्र यो काम गर्न सक्ने भन्दै राससको जिल्ला प्रतिनिधिका रुपमा पदमलाई नियुक्त गरेका थिए।

त्यसपछि उनले राससमा आबद्ध भई पूर्वाञ्चलका १६ जिल्लाबाट २२ वर्षसम्म पत्रकारिता गरेका थिए। अवकाशपछि कलाकारिता शुरु गरेका उनी २०५९ सालमा सन्तोष पन्तको हिजोआजका कुरामा अभिनय गरेर यो क्षेत्रमा अघि बढेका थिए।

विभिन्न फिल्म, टेलिफिल्म, म्युजिक भिडियो र विज्ञापनमा विभिन्न भूमिकामा अभिनय गर्दै आएका पदमले फिल्मी क्षेत्रमा पदम बाको रुपमा पहिचान बनाएका छन्। मिलनसार र मायालु स्वभावका कारण उनलाई फिल्मकर्मीहरुले पदम बा भनेर सम्मान गर्ने गरेका हुन्।

पढाईको क्रममा भारतमा रहँदा कलाकार देवानन्दको अभिनयबाट प्रेरित भएका पदमले पछि उनैसँग काम गर्ने मौका पाएको पल आपूmलाई भेट्न आउनेहरुसँग साझा गर्ने गरेका छन्। हिँडडुल र बोलीमा समस्या भएको यो अशक्त समयमा पनि उनी अभिनयमा रमाउने चाहना व्यक्त गर्छन्।

फिल्म क्षेत्रका अधिकांश कलाकारका साथ सानो ठूलो भूमिकामा अभिनय गर्दै आएका उनले विशेषगरी नीर शाह र भुवन केसीलाई सम्झिइरहने गरेको उनकी पत्नी देव कुमारीले बताइन्।

पदमप्रसादले सम्झिइरहेको खबर पाएपछि फिल्मकर्मी नीर शाहले नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्कालगायतका साथ पदमप्रसादको निवासमा पुगी उनीसँग भेट गरेका छन्। भेटका क्रममा नीर शाहले भावविह्वल हुँदै आँसु झार्नुभयोु पदमका कान्छा पुत्र तथ हाम्राे लाइभ बेकरीका सञ्चालक लक्ष्मण पौडेलले जानकारी गराउँदै भने।

प्रतिक्रिया दिनुहोस्