इतिहास रचेको टोली मोरोक्को



काठमाडौं ।

पछिल्ला तीन विश्वकपमा अफ्रिकी टोलीहरुले फिफा विश्वकप फुटबल प्रतियोगितामा क्वार्टरफाइनलसम्म यात्रा गरेका थिए । क्यामरुन १९९० मा, सेनेगल २००२ मा र घाना २०१० का विश्वकपको क्वार्टरफाइनलमा पुगेका थिए । तर, अहिले अफ्रिकी महादेशको फुटबल इतिहासमा एक कदम अघि बढेको छ ।

यो समय सारा अफ्रिकीको सान बनेको छ मोरोक्को देशको फुटबल टोली । मोरोक्को कतारमा जारी विश्वकपमा चम्केको छ र उनीहरु विश्वकपको इतिहासमा सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी टोली बनेका छन् ।मोरोक्कोलाई यो विश्वकप शुरु हुनअघि एक कमजोर टोलीको रुपमा चित्रित गरिएको थियो ।

समूहमा क्रोएसिया, बेल्जियम जस्ता शसक्त युरोपेली टोली भएको हुँदा मोरोक्कोले नकआउट चरणमा स्थान बनाउन नसक्ने आंकलन गरिएको थियो । यसमा शंका पनि छैन कि यसअघि मोरोक्को समूह चरणबाटै बाहिरिने टोलीको रुपमा थियो । तर, अहिले बेग्लै कथा कोरिएको छ र यसले कुनै पनि टोलीलाई कमजोर आँक्न नहुने संदेश पनि दिएको छ ।

मोरोक्कोले जारी विश्वकपमा चार वटा युरोपेली टोलीसँग खेल्यो । जसमा, तीनमा जित र एकमा बराबरी खेलेको छ । समूह चरणमा मोरोक्कोले पहिलो स्तब्ध नतिजा गत विश्वकपको उपविजेता टोली क्रोएसियालाई रोकेर निकाल्यो । यो नतिजामा पनि कसैको ध्यान गएको थिएन । तर, दोस्रो खेलबाट भने मोरोक्को टोलीमाथि सबैको ध्यान गयो । यो खेलमा गत विश्वकपमा तेस्रो भएको टोली बेल्जियमलाई २–० ले मोरोक्कोले स्तब्ध तुल्यायो ।

मोरोक्कोले समूहमा दुई जित र एक बराबरी खेलेर समूह विजेताको रुपमा नकआउट चरणमा स्थान बनायो । मोरोक्कोको विपक्षी टोली थियो सन् २०१० को विजेता र समूहमा कोस्टारिकामाथि ७–० को जित निकालेको स्पेनी टोली थियो । यो खेल १ सय २० मिनेटसम्म चल्यो तर, गोलरहित बराबरीमा सकियो । यसको छिनोफानो पेनाल्टी शुटआउटमा भयो र गोलकीपर युसुफ बोनोउले स्पेनको तीन पेनाल्टी छेकेर मोरोक्कोलाई क्वार्टरफाइनलमा पु¥याए ।

बोनोउ एक युरोपेली शीर्ष टोली सेभियाका गोलकीपर हुन् । स्पेनी ला लिगाको पछिल्लो सिजनमा उनी उत्कृष्ट गोलकीपर समेत बनेका थिए । उनले क्वार्टरफाइनलमा पु¥याएपछि मोरोक्को विश्वकपको यो चरणसम्म पुग्ने चौथो टोली बन्यो । क्वार्टरफाइनलमा क्रिस्टियानो रोनाल्डो र ब्रुनो फर्नान्डेजका टोली पोर्चुगलसँग मोरोक्कोको भेट भयो । यहाँ पनि धेरै जसोले अनुमान गरे कि पोर्चुगलले जित्नेछ । किनभने यसअघिको खेलमा पोर्चुगलले स्विटजरल्यान्डको पोस्टमा ६ गोल गरेको थियो ।

तर, यो खेलमा सबैको अनुमान गलत साबित भयो । यो खेलमा युसेफ एनेसीरीको एक गोल नै पोर्चुगललाई घर फर्काउन पर्याप्त भएको थियो । यो खेलमा रोनाल्डोलाई पहिलो हाफमा खेलाइएको थिएन । जब एक गोलले पछि प¥यो अनि कोच फर्नान्डेज सान्टोसले दोस्रो हाफमा रोनाल्डोलाई उतारेका थिए । खेलमा रोनाल्डो निष्क्रिय देखिएका थिए । न उनलाई कसैले बल पास गरे न उनलाई फ्रिकिक नै हान्न दिइयो । उनले पनि फ्रिकिक हान्न अघि सरेनन् । यसले यही देखाउँछ कि टोलीसँग उनको सम्बन्ध चिसिएको हल्ला साँचो जस्तो पनि देखियो ।

मोरोक्कोका मेनेजर वालिड रेग्रागुइले खेलपछि बताए—हामीहरु हरेकले माया गर्ने टोली बनिरहेका छौ किनभने हामीहरुले देखाइरहेका छौं जुन हामीले उपलब्धि हासिल गरेका छौ । यदि तपाईले उत्साह, मन र विश्वास देखाएमा तपाई सफल हुन सक्छौ र मेरा खेलाडीले देखाएका छन् । यो कुनै चमत्कार पनि होइन जुन युरोपेलीहरुले भनेका छन् । तर, हामीले पोर्चुगल, स्पेन र बेल्जियमलाई हरायौं र क्रोएसियासँग गोल नखाई बराबरील खेल्यौ । यो नतिजा हामीहरुको कडा मेहनतकै हो ।

उनले थपे-अफ्रिकी र अरब टोलीहरुले कडा मेहनत गरेका छन् तर, हामीले मान्छेहरुलाई खुशी र गर्वित तुल्याएका छौ । जब तपाईले रकी बालबोआ चलचित्रलाई हेरेका छौ भने तपाईले उनलाई समर्थन गर्न चाहन्छौ र हामीहरु विश्वकपका रकी हौं । मोरोक्को जितेको हामीहरु इतिहासका साक्षी बनेका छौ ।

प्रत्यक्ष प्रशारणमा हेरे अनुसार जब मोरोक्कोले जित्यो तब सारा रंगशाला ध्वनि गुुञ्जयमान भएको थियो । हेर्दै अदभुत लागेको थियो । अफ्रिकाका फुटबल दर्शक र जनताको लागि यस्तो रमाइलो क्षण साँच्चिकै अदभुत नै थियो । उनीहरुको लागि यस्तो क्षण आउन करिब ९ दशक लागेको छ । यस्तो स्तब्ध नतिजा हरेक विश्वकपमा निस्केमा विश्वकपको चार्म अझै बढ्नेछ ।
यस्तो नतिजा आउनुपर्छ

विश्वकपमा युरोप र दक्षिण अमेरिका टोलीकै बोलबाला रहेको छ । यसपटक यो बोलबाला तोडिएको छ । यसपटक दुई वटा युरोपेली टोली, एक दक्षिण अमेरिकी टोलीसँगै एक अफ्रिकी टोली सेमिफाइनलमा उभिएको छ । यस्तो नतिजाले दर्शकलाई उत्साहित र यात्रा गर्न कर लगाउँछ । मोरोक्को सेमिफाइनल पुगेकोले टोलीको खेल हेर्न अफ्रिका र अरब राष्ट्रबाट दर्शकले आयोजक राष्ट्रको यात्रा गर्नेछन् । उनीहरु चाहन्छन् कि आफ्नो टोली फाइनलमा पुगोस् । पक्कै यो सपना उनीहरुलाई देख्न उत्साहित बनाउँछ । एक समर्थकले बताए पनि—यदि तपाईले सपना देख्दैनन् भने तपाईले केही पनि पाउन सक्नुहुन्न र सपना हेर्न कुनै महगो पनि छैन । युरोपेली टोलीहरु विश्वकप जित्ने खालका भनेर बयान गरिरहेको हुन्छ । अहिले हामी त्यो पाउन सक्ने स्थितिमा छौ ।

प्रतिक्रिया दिनुहोस्