मुलुक निर्माण गर्ने जनप्रतिनिधि छानौं



आसन्न संसदीय निर्वाचनमा कसले बाजी मार्ने हो अहिले नै भन्न सकिने अवस्था छैन । निर्वाचनको मिति नजिकिएसँगै दलहरूको देश दौडाहा दिन दुगुना रात चौगुना भएको छ । दुई ध्रुवमा बाँडिएका नेपालका राजनीतिक दलहरू आफ्ना एजेन्डाभन्दा विपक्षीप्रति आक्रामक हुँदै गएका छन् ।

सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेसहितको गठबन्धन अहिले देशभर मतदातालाई आकर्षित गर्न व्यस्त देखिन्छन् । आफूले गर्न सक्ने कामभन्दा पनि मतदातालाई के आश्वासन दिँदा खुसी हुन्छन् त्यही आश्वासन दिन दलका नेताहरू लालायित भएका देखिन्छन् । मुलुकमा निष्ठाको राजनीति हराउँदै गएपछि एकले अर्कालाई आरोप लगाउने र आफू पानीमाथिको ओभानो हुने काममा प्रमुख भनिएका दलका नेताहरू लागेको देखिन्छ ।

राजनीतिबाट वाक्क भएका जनता फेरि एकपटक नेताका भद्धा भाषण र आश्वासनले हैरानीमा परेका छन् । मुलुकका लागि केही नगर्ने अनि गुलिया आश्वासन बाँडेर जनता भुलाउने काममा दलका नेता–कार्यकर्ता देशभर व्यस्त देखिन्छन् ।दलीय राजनीतिबाट वाक्क भएका जनताका बीचमा पुगेका स्वतन्त्र भनिएका युवाहरूले पनि देशलाई म यो दिन्छुभन्दा पनि दल खराब भए मलाई यसपटकको चुनावमा भोट दिएर विजयी गराउनुस् भन्दै जनताका घर दैलोमा पुगेका छन् । स्वतन्त्र भनिएकाहरूसँग पनि कुनै एजेन्डा छैन ।

यसपटक देशभरमा स्वतन्त्रबाट उम्मेदवारी दिएकाहरू लामो समय विभिन्न देशमा बसेर चुनावको सम्मुखमा स्वदेश फर्किएर उम्मेदवारी दर्ता गराएर चुनावी मैदानमा छन् । मुलुकभर उम्मेदवारी दिएका स्वतन्त्र भनिएका व्यक्तिहरूमध्ये झण्डै ५० प्रतिशत कुनै न कुनै मुलुकको पीआर लिएर नेपाल आएका छन् । चुनाव जिते संसद्मा कराउने हारे फेरि पीआर पाएको मुलुक फर्कने दाउमा उनीहरू रहेका छन् ।

यस्ता अवसरवादीहरूलाई मतदाताले समयमा नै चिन्न सक्नु पर्दछ । लोकतन्त्रमा दलको विकल्प भनेको दल नै हो हाल मुलुकमा क्रियाशील रहेका दलमध्ये ‘कम चोर’लाई जनताले रोज्नु पर्दछ । जनताबाट दलहरूलाई जसरी खबरदारी गर्नुपर्ने थियो त्यो हुन सकेको देखिँदैन । जनताले समयमा खबरदारी नगर्दा दलका नेता कार्यकर्ता भ्रष्टीकरण हुँदै गएको देखिन्छ । चुनावको बेलामा मात्रै होइन जनताले दलका नेता कार्यकर्तालाई सधैं खबरदारी गर्न सके मुलुक अहिलेको अवस्थामा पुग्ने थिएन । राजनीति बिग्रिनुमा जनता पनि दोषी छन् ।

यसलाई मनन गर्नु सबै नेपालीको दायित्व पनि हो । चुनाव नजिक आइसकेको छ । यसपटकको निर्वाचनमा कसलाई विजयी गराएर राज्यको बागडोर सुम्पने हो जनताले निर्मम भएर सोच्नुपर्ने बेला भएको छ । यो मेरो मान्छे हो यसलाई नै भोट हाल्छु भन्ने मानसिकताबाट मतदाता टाडा रहनुपर्ने बेला आएको छ । विगतमा कसले राम्रो गरेको थियो त्यसलाई वा ऊ सम्मद्ध पार्टीलाई निर्वाचनमा विजयी गराउन सके मुलुक अहिलेको अवस्थाबाट माथि उठ्ने थियो त्यता ध्यान दिन जरुरी देखिन्छ । जनताले प्रभावमा परेर होइन स्वविवेक प्रयोग गरेर मुलुक निर्माण गर्ने दल र नेतालाई विजयी गराउनुपर्ने देखिन्छ । जनताको ध्यान यसतर्फ जान जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्