शहरी व्यवस्थापन



काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले वर्षौंदेखि सडक मिचेर बनाइएका अनधिकृत र मापदण्ड विपरीतका संरचना हटाउन थालेपछि त्यसको प्रभाव देशभरका शहरमा परेको देखिएको छ । कामपाले भत्काउन थालेपछि सँंगैको छिमेकी ललितपुर महानगरपालिका, पोखरा महानगरपालिका, धनगढी, बुटबल र हेटांैडा उपमहानगरपालिका, कोहलपुर र थिमी नगरपालिकाले मापदण्ड विपरीतका संरचना हटाउन थालेका छन् ।

अधिकांश स्थानीय तहले ३५ दिने सूचना दिएर मापदण्ड विपरीतका संरचना हटाउन सम्बन्धित निकायलाई आग्रह गरिसकेको बुझिएको छ । हुन त मापदण्ड विपरीतका संरचना हटाउने योजना यसअघि नभएका होइनन् । आँट नभएको जनप्रतिनिधिका कारण अघिल्ला वर्षमा सो योजना कार्यान्वयन हुन सकेको पाइएन । काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले भत्काउन शुरु गरेपछि अन्य स्थानीय निकायलाई चुनौती थपिएको छ । राजनीतिक दलको सिफारिस र जनताको भोटले चुनिएका जनप्रतिनिधिले राजनीतिक आडमा आफ्नो स्थानीय तहको संरचना भत्काउन सकेका थिएनन् ।

ललितपुर महानगरपालिकाका दोस्रो पटक मेयरको वागडोर समालेका चिरिबाबु महर्जनले कामपाको मेयर बालेन्द्र आउनुअघि नै अनधिकृत निर्माण भत्काउन थालेको दाबी गरेका छन् । जसको दाबी जस्तो भएपनि अनधिकृत रुपमा बनेका संरचना हटाएर शहरलाई सुन्दर बनाउनुपर्र्छ । काठमाडौंका मेयर साह अभियान शुरु गरेको करिब एक महिनामा ३९ स्थानका संरचना हटाउन सफल हुनुभएको अभिलेखले देखाउँछ । उहाँको अनुसरण गर्दै ललितपुर महानगरपालिकाले एउटा पेट्रोलपम्प खाली गराएको छ ।

जथाभावी गरिएका पार्किङ हटाउन शुरु गरेको छ । हुनत अधिकांश नगरप्रमुखले बालेन शाहको नक्कल गरेको नभई आफैले योजना तयार गरी चेतावनीको सूचना दिएको बताउन थालेका छन् तर अवैध संरचना भत्काउने श्रेय बालेन्द्रलाई नै जान्छ । काठमाडौं महानगरपालिकाले विशेषगरी वेसमेन्टमा जे विषय उल्लेख गरी नक्सा पास गरिएको छ, सोही बमोजिमका मापदण्ड पालना गर्न आग्रह गरेको छ ।

सोही अनुसार कामपाका नगर प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डे र अन्य प्रहरीको सहयोगमा संरचना हटाउने कामले तीव्रता पाएको छ । राजधानीको भित्रि शहरको अधिकांश क्षेत्रका घरहरु मापदण्ड विपरीत देखिएपछि कामपाले मापदण्ड पालना गर्न र नक्सा आवधिक गरी तोकेअनुसार जरिवाना तिर्न ९० दिनको समयसीमा दिएको छ । सो समयसीमाको विषयमा चेतावनी सूचना जारी भएको दुई साता नाघेको छ । आफै डोजर लिएर फिल्डमा जान थालेपछि व्यवसायी डराएका छन् ।

अधिकांश जनताले काठमाडौंका प्रमुख बालेन्द्र र अन्य स्थानीय तहका प्रमुखले गरेको कामको प्रशंसा गरेका छन् । तर केही व्यापारीले दशैंसम्म कुरिदिन गरेको आग्रह ठाडै अस्वीकार गर्नु जनताको पेटमा लात हान्ने काम भयो भनेर आरोप लगाएका छन् । खासगरी खुला क्षेत्रको संरक्षण, पार्किङ र ट्राफिक व्यवस्थापनजस्ता विषयलाई उदाउँदा सहरहरूले अहिलेदेखि नै ध्यान दिनसके भविष्यमा विकराल समस्या झेल्न नपर्ने यतार्थलाई ध्यानमा राखेर जनप्रतिनिधिले गरेको कामलाई प्रशंसा गर्नैपर्छ । सुन्दर शहर बनाउन सबै जनता जाग्नुको विकल्प छैन । यस काममा राजनीतिक दलमा विभाजित नभई सबैले हातेमालो गर्नुएपर्छ । तब मात्र परिकल्पनाअनुसार शहर बन्नसक्छ ।

प्रतिक्रिया दिनुहोस्