प्रदेश लोकनृत्यमा एड्भान्स एकेडेमी प्रथम


हेटौंडा।

निजी तथा आवासीय विद्यालयको छाता संगठन प्याब्सन वागमती प्रदेशद्वारा आयोजना गरिएको वागमती प्रदेशस्तरीय प्याब्सन अन्तरजिल्ला राष्ट्रिय लोकनृत्य प्रतियोगितामा धादिङबेसीस्थित एड्भान्स एकेडेमी प्रथम भएको छ।

वागमती प्रदेशको राजधानी हेटौंडामा आयोजना गरिएको प्रदेशस्तरीय प्रतियोगितामा एड्भान्स एकेडेमी प्रथम भएसँगै उक्त विद्यालय भदौ २५ गते पोखरामा हुने राष्ट्रिय प्रतियोगिताका लागि छनौट भएको छ। जिल्लास्तरीय प्रतियोगितामा जिल्ला प्रथम हुँदै एड्भान्स वागमती प्रदेशका लागि छनौट भएको थियो।

जिल्लास्तरीय प्रतियोगिताबाट छनौट भएका १९ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा धादिङ जिल्लाको प्रतिनिधित्व गरी सहभागी भएको एड्भान्स एकेडेमी प्रथम भएको हो।

प्रतियोगितामा सहभागी भक्तपुरका त्रिस्टार बोर्डिङ स्कुल द्वितीय र चितवनको नारायणी विद्या मन्दिर तृतीय भएका छन् भने ललितपुरका भ्याली पब्लिक स्कुल र मकवानपुरको रिलायन्स सेकेन्डरी स्कुलले सान्त्वना स्थान प्राप्त गरेका छन्।

कार्यक्रम वागमती प्रदेश सभामुख सानुकुमार श्रेष्ठको प्रमुख आतिथ्यता र प्याब्सन वागमती प्रदेशका अध्यक्ष केशबलाल श्रेष्ठको सभाध्यक्षतामा सञ्चालन गरिएको थियो।