स्वर्ण जिते मासिक भत्ता



हेटौंडा । 

वागमती प्रदेश सरकारले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण जित्ने खेलाडीलाई मासिक भत्ता उपलब्ध गराउने भएको छ । प्रदेश सरकारले प्राथमिकतामा राखेका ९ खेलमा स्वर्ण जित्ने खेलाडीलाई मासिक ६ हजार रुपियाँ भत्ता दिने निर्णय गरिएको प्रदेश खेलकुद परिषद्का सदस्यसचिव सूर्य भण्डारीले जानकारी दिए ।

उनका अनुसार अर्को राष्ट्रिय खेलकुद प्रतियोगिता नहुदासम्मका लागि उनीहरूलाई मासिक भत्ता दिइने भएको हो ।
प्रदेशले फुटबल, क्रिकेट, भलिबल, एथलेटिक्स, बक्सिङ, कराते, तेक्वान्दो, ब्याडमिन्टन र पौडी खेलमा पदक जित्ने खेलाडीलाई भत्ता दिने भएको हो । उनले उक्त सुनिश्चितता प्रदेश खेलकुद नियमावली, २०७६ को दफा १३ मा उल्लेख गरेर खेलाडीलाई मासिक भत्ता दिने व्यवस्था गरिएको जानकारी दिए ।

यस वर्षबाट प्रदेश सरकारले प्राथमिकतामा परेका खेलहरुमा नवौं राष्ट्रिय खेलकुदअन्तर्गत स्वर्णपदक विजेता खेलाडीलाई प्रोत्साहन गर्ने उद्धेश्यले मासिक ६ हजार रुपियाँ भत्ता दिने निर्णय गरिएको उनले बताए । ‘यो सुरुवातमात्र हो । खेल र खेलाडीको दायरा बढाउँदै लैजाने लक्ष्य छ,’ सदस्यसचिव भण्डारीले भने–अन्य प्रदेशले पनि यस कार्यक्रमलाई निरन्तरता दिने विश्वास लिएका छौं ।
‘राज्यको स्रोतसाधनले सबै खेलमा लगानी गर्न पुग्दैन । खेलको प्राथमिकता निर्धारण गरेर लगानी गरेका छौं । हामीले छनोट गरेका खेलको अन्तर्राष्ट्रियस्तरमा पदकको सम्भावना पनि छ,’ उनले भने ।
उनले वागमती प्रदेशले भदौ २० गतेभित्र प्रदेश छनोट सक्ने गरेर तालिका र तयारी गरेको, राष्ट्रिय खेलकुद परिषद्को निर्णयअनुसार भदौ २५ गतेसम्म खेलाडी विवरण पठाइसक्ने तयारी गरिएको बताए । उनले प्रदेशअन्तर्गत खेलाडीको प्रदेश छनौट तथा नवौं राष्ट्रिय खेलकुदमा सहभागिताका लागि अनुमानित ९ करोड ४४ लाख ८ सय रुपियाँ खर्च अनुमान गरेको र सोका लागि प्रदेश सरकारले छनोटका लागि ५ करोड विनियोजन गरेको जानकारी दिए ।

प्रदेशले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत् ३६ वटै खेल विधामा वागमती सहभागिता जनाउने प्रतियोगितामा सहभागी खेलाडीलाई ४५ दिन बन्द प्रशिक्षणमा राखिने र सोको व्यवस्थापन प्रदेश सरकारले गर्ने प्रदेशका युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकालले जानकारी दिए । मन्त्री ढकालले वागमती प्रदेशमा कर्मचारी समायोजनसँगै प्रशिक्षक, रेफ्रीलगायत व्यवस्था गर्न केन्द्र सरकारको ध्यानाकर्षण गराइसकिएको बताए ।
नवौं राष्ट्रिय खेलकुदमा वागमती प्रदेशका फुल कोटामा ७ सय ९ खेलाडी सहभागी हुने जनाइएको छ । नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ सम्म हुँदैछ । प्रतियोगितामा ३ विभागीय, ७ प्रदेश र एनआरएन गरी ११ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रदेशमा खेलकुद नीति

प्रदेश सरकार खेलकुद नीतिको तयारीमा पनि जुटेको छ । प्रदेश सरकारले खेलकुद नीतिको प्रारम्भिक मस्यौदा तयार गर्न समिति गठन गरेर अघि बढेको हो । प्रारम्भिक मस्यौदा निर्माणका लागि प्रदेश सरकारले खेलविज्ञ हरिहरलाल श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय विज्ञ समिति गठन गरेको छ ।

समितिको सदस्यमा डा. अच्युत लामिछाने, श्रीराम भण्डारी, एलिसा थापा र देवनारायण चौधरी छन् । समितिले ३ महिनाभित्र मस्यौदा तयार गरी प्रदेश खेलकुद विकास परिषद्लाई हस्तान्तरण गर्ने बताइएको छ । मस्यौदालाई परिषद्ले प्रदेशका खेलाडी तथा सरोकारवालासँग छलफल गरेर मन्त्रालयमा पेश गर्नेछ ।

प्रदेश खेलकुद विकास परिषद् वागमतीका सदस्य सचिव भण्डारीले प्रदेश खेलकुदको योजनावद्ध विकासका लागि प्रदेश सरकार खेलकुद नीति बनाउने काममा अग्रसर भएको बताए । उनले खेलकुद नीतिमा प्रदेश सरकारले आगामी दिनमा गर्ने खेलकुद विकाससम्बन्धी सम्पूर्ण कार्यक्रमको मार्गदर्शन गर्ने उल्लेख गरे । ‘प्रदेशको खेलकुदको स्तरलाई कति वर्षमा कुन स्तरमा पु-याउने र त्यसका लागि कस्तो संरचनागत् र जनशक्ति विकासका कार्यक्रम ल्याउने भन्ने कुरालाई खेलकुद नीतिले निर्देशित गर्नेछ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्