स्याबास बालेन्द्र !



वर्षौंदेखि सडक मिचेर बनाइएको अनधिकृत र मापदण्ड विपरीतका संरचना हटाउन थालेपछि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई दल, त्यसको भ्रातृ संगठन र विभिन्न व्यक्तिले स्यावासी दिएका छन् ।

विगतमा राजधानीको सडक विस्तारमा डा. बाबुराम भट्टराईको भूमिकालाई लिएर पनि यसरी नै प्रसन्नता र आभार व्यक्त गरिएको थियो । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सामाजिक सञ्जालमार्फत् प्रमुख साहले गरेको काममा सबैले सहयोग गर्न आग्रह गरेका छन् ।

सधैं अरुभन्दा फरक धारणा राख्ने बालेन्द्रसँंग पराजित भएका एमाले नेता केशव स्थापितले भने नेपाली कांग्रेसका नेता प्रकाशमान सिहलाई सहयोग पुग्नेगरी संरचना भत्काउन थालेको आरोप लगाएका छन् । तर उनले संरचना भत्काउने कार्यको विरोध गरेका छैनन् ।

त्यसो त स्थापित पनि कुनै बेला माइतीघर तीनकुनेको संरचना भत्काउँदा यसरी नै प्रशंसित भएका व्यक्ति हुन् । कामपाले गएको साउन २ गते सार्वजनिक स्थान र वेसमेन्टमा बनेका संरचना हटाउन र सो क्षेत्रमा पार्किङको व्यवस्था गर्न सार्वजनिक सूचना जारी गरेको थियो ।

३५ दिने म्याद दिएर जारी गरिएको सूचनालाई वेवास्ता गरेपछि महानगरले भदौ ५ गतेबाट संरचना हटाउन शुरु गरेको हो । प्रमुख साहसंँगै उपत्यका ट्राफिक प्रहरी प्रमुख डिआइजी मीरा चौधरी, कामपा प्रहरी प्रमुख राजुनाथ पाण्डेको टोली अघि बढेको छ ।

साहले केही दिनअघि बबरमहलको काठमाडौं जिल्ला अदालतको नक्सा पास गरे वा नगरेको विषयमा सबै कागजात मागेका थिए । सेवाग्राहीलाई वेसमेन्टमा पार्किङ गर्ने स्थान अभाव भएपछि अदालतको भवनको संरचना भत्काउने तयारीमा लागेको महानगरले तत्काल पत्रको उत्तर मागेको थियो । जिल्ला अदालततले बुधबार राति नै पत्रको उत्तर दिएर वेसमेन्टमा सेवाग्राहीको सवारी साधन पार्किङ गर्न दिन नसकिने जनाएको थियो । कानुनको संरक्षण गर्ने निकायले गैरकानुनी भाषा बोलेकोमा जनताले अदालतमाथि प्रश्न उठाउन थालेका छन् ।

सो भवनको विषयमा कस्तो निर्णय गर्ने भन्ने विषयमा कामपाले छलफल चलाएको छ । उता, व्यापारीहरुको एउटै स्वर छ– दशैंसम्म व्यापार गर्न पाऊँ । तर मेयर साह राजधानीलाई सुन्दर शहर बनाउने आफ्नो अभियान नरोकिने जनाउदै वडा अध्यक्ष सहित संरचना हटाउन सक्रिय छन् ।

भूमिगत तहलाई दुई तलासम्म बनाउन पाइन्छ । भूमिगत तलामा सामान्य प्रज्वलनशील खालका घरेलु वा अन्य वस्तु स्टोर गर्न र पछाडिपट्टि भूमिगत कोठाका लागि उपयोग गर्न, एयर कन्डिसन सम्बन्धी वा अन्य मेसिन वा यन्त्र राख्न र पार्किङका लागि प्रयोग गर्नपाइने व्यवस्था छ । तर त्यसविपरीत व्यापारको लागि प्रयोग गरेपछि महानगरले कडा कदम चालेको हो ।

मोलाहिजामा नफस्ने, घूस नखाने र लक्ष्यप्रति समर्पित व्यक्तिबाट मात्र यस प्रकारको साहसिक काम सम्भव हुन्छ । खासगरी कुनै दलको प्रतिनिधित्व नगर्ने साझा जनप्रतिनिधिबाटै यस प्रकारको कदम सफल पनि हुन्छ ।

किनभने पार्टी चलाउनका लागि खर्च जुटाउन सम्झौता गर्दैहिंड्नुपर्ने आवश्यकता स्वतन्त्रलाई पर्दैन । यस अभियानलाई निरन्तराता दिएर पार्किङ व्यवस्थापन गर्न महानगरले विशेष सक्रियता देखाउनैपर्छ । त्यसको लागि जनताको साथ र सहयोग रहनेछ । अघि बढिसकेको विषयमा फेरि पछि हटेर महानगरले आफ्नो अभियानलाई कदापि नरोकोस्, शुभकामना !

प्रतिक्रिया दिनुहोस्