स्वास्थ्य क्षेत्रको सुरक्षा



स्वास्थ्योपचारसम्बन्धी समस्या गम्भीर विषय हो । चिकित्सकको लापरवाहीका कारण बिरामीले पीडा भोग्नुपरेका र इमान्दार स्वास्थ्यकर्मीले ठीक किसिमले सेवा प्रदान गर्दागर्दै पनि सेवाग्राहीबाट आक्रमणमा परेका घटना बारम्बार देखापर्दछन् ।

चिकित्सकमाथि कुटपिट र स्वास्थ्य संस्थामाथि तोडफोड तथा अमानवीय व्यवहार गर्नेलाई कारबाही हुने कानुन पारित भएलगत्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल, जुम्लामा कार्यरत एक चिकित्सकमाथि सोही अस्पतालका कर्मचारीले हातपात गरेको सन्दर्भ अहिले चर्चामा छ ।

करण साह नामका डाक्टरमाथि सोही अस्पतालका धनबहादुर शाहीले हातपात गरेर घाइते नै बनाए । अहिले डा.साह घाइते अवस्थामै न्याय माग्न काठमाडौं आउनुभएको छ । घाइतेले कुटपिट गर्नेलाई नयाँ कानुनबमोजिम कारबाही गरी भयरहित वातावरणमा स्वास्थ्यकर्मीलाई काम गर्ने वातावरण मिलाइदिन नेपाल चिकित्सक संघमार्फत् नेपाल सरकारसमक्ष आग्रह गर्नुभएको छ ।

हालै पारित स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो) संशोधन ऐन, २०७९ को दफा ३ को (ग) डा. साहको घटनामा आकर्षित हुन्छ । दफा ३ को उपदफा (ग) बमोजिम स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिकरूपमा चोट पु¥याउन नपाइने उल्लेख छ । पीडक शाही भदौ २ गते नै पक्राउ परिसकेको अवस्था छ । ऐनअनुसार दोषीलाई तीन वर्षको कैद वा तीन लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुुनसक्छ ।

डा.साहको घटनालाई लिई नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष डा.अनिलविक्रम कार्की, महासचिव डा.बद्री रिजाल र कोषाध्यक्ष डा.प्रकाश बुढाथोकी जुम्ला पुगेर घटनाबारे अध्ययन गरी संशोधित कानून आएपछि अस्पतालमा तोडफोड र डाक्टरमाथि हातपात भएको यो पहिलो घटना भएको उल्लेख गर्दै दोषीमाथि कारवाही अघि बढाउने विषयमा काठमाडौमा पत्रकार सम्मेलन नै गरी जानकारी गराउनुभएको छ ।

टाउको र नाकमा चोट लागेका डा. साहको अवस्था हेर्दा दुर्गम क्षेत्रमा गएर काम गर्न चाहने स्वास्थ्यकर्मी निराश हुने देखिन्छ । मुद्दा अघि बढाउने क्रममा काठमाडौंमा नेपाल चिकित्सक संघले सहजीकरण गर्ने भएको छ । घटनाको सुरुवात शाहीको बच्चाको घाउको टाँका आकस्मिक कक्षमा सामान नभएकोले बहिरंग विभाग खुलेपछि मात्र काट्न सकिने डा. साहको भनाइप्रति शाहीले चित्त नबुझाएका कारण विवाद भएको हो ।

कर्मचारी शाहीले टाँका तत्कालै काट्न दबाब दिएपछि चिकित्सकले यहाँ सम्भव छैन भन्दा आक्रोशमा भनाभन हुनुका साथै कुटपिटसम्मको अवस्था निम्तिन पुग्यो । स्थानीय कर्मचारीले चिकित्सकलाई अन्याय गरेको ठहर गर्दै मुद्दा अघि बढाइसकिएकोले यस विषयलाई थप मुद्दाका रुपमा चर्चामा ल्याइरहनु भने आवश्यक देखिन्न ।

यता सरकारी निकायबाट पनि पीडकलाई कारवाहीको लागि पक्राउ गरिसकेकोले कानुननको कार्यान्वयन नभएको भन्ने ठाउँ पनि रहेन । ऐन आएपछि भएको पहिलो घटनामाथिको कारबाही उदाहरणीयरूपमा हुनु आवश्यक पनि छ । चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले कारबाहीको यस पक्षलाई ध्यान दिँदै सुरक्षित मानसिकताका साथ काम गर्नु आवश्यक देखिन्छ ।

दुर्गम र ग्रामीण क्षेत्रमा पुगेका स्वास्थ्यकर्मीहरू साधन–स्रोतको अभावका कारण त्यसै पनि निरुत्साहित भएका बेला शारीरिक सुरक्षाको सवालसमेत थपिनु गम्भीर विषय हो । आगामी दिनमा स्वास्थ्य क्षेत्रलाई सुरक्षित बनाउने गरी काम गर्ने वातावरण बनाउन सरोकारवालाहरूले भूमिका खेल्नु आवश्यक देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्